युनाइटेड क्लबको २० लाख सामाजिक क्षेत्रमा


प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार

सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको पोखराको युनाइटेड क्लबले आर्थिक वर्ष २०७५-७६ मा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिडियाखाना निर्माण र सेती नदी संरक्षणको कामलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।

पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी आर्थिक सङ्कलन गर्दै आएको क्लबले पोखरा र आसपासका क्षेत्रमा सामाजिक कामका लागि आर्थिक सहयोग गर्दै आइरहेको क्लबका महासचिव शान्तबहादुर थापाले जानकारी दिनुभयो ।

क्लबले चालू आर्थिक वर्षमा पोखरामा निर्माणाधीन पोखरा जुलोजिकल उद्यानलाई रु नौ लाख प्रदान गरेको छ भने, शिक्षातर्फ रु दुई लाख, सेती नदी संरक्षणतर्फ रु १० हजार, खेलकूदमा रु चार लाख ५० हजार, स्वास्थ्यमा रु दुई लाख, विपद् व्यवस्थापनतर्फ रु एक लाख ३९ हजार र विभिन्न सङ्घसंस्थालाई रु एक लाख १० हजार गरी रु २० लाख १९ हजार सामाजिक काममा खर्च गरेको क्लबका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाले आर्थिक वर्ष २०७५-७६ मा क्लबले आफ्नो सामाजिक कामअन्तर्गत रु २० लाख १९ हजार शिक्षा, स्वास्थ्य, खेलकूद, नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना, सेती नदी संरक्षण, विपद् व्यवस्थापन र विभिन्न सङ्घसस्थालाई वितरण गरिएको बताउनुभयो ।

क्लबले स्थापनाको १०औँ वर्षसम्म आइपुग्दा सामाजिक विकासमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको क्लबका अध्यक्ष लालकाजी गुरुङले बताउनुभयो । उहाँले क्लबको पहलमा निर्माणाधीन अवस्थामा रहेको जुलोजिकल उद्यानको कामलाई स्थानीयवासीले निर्वाधरूपमा काम गर्न दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्लबले लिएको उद्देश्य साझा भएकाले पछिल्लो समय पोखरा जुलोजिकल उद्यानमा भएको विवादले गलत सन्देश गएको छ । पोखराको थप अर्को आकर्षक गन्तव्यका लागि आफूहरुले लिएको उद्देश्यलाई प्रदेश सरकारले सहयोग गरेर अघि बढनुपर्छ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com