क्याराभानपछि बुलबुल पर्ला त अस्करको नोमिनेशनमा ?


प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार

नेपालले सन् १९९९ देखि नै अस्कर अवार्डका लागि चलचित्रको छनौट गरेर सिफारिस गर्दै आएपनि एरिक भ्यालीको क्याराभान (हिमालय) बाहेक अरु चलचित्र अस्करको नोमिनेशनमा परेको छैन । एकेडेमी अवार्डका रुपमा समेत चिनिने अस्कर अवार्डका लागि यसपटक चलचित्र बुलबुल सिफारिसमा परेको छ ।

नेपालमा रहेको एकेडेमी अवार्ड छनौट समितिले विनोद पौडेलको चलचित्र बुलबुललाई सिफारिसका लागि निर्विरोध छनौट गरेको हो । फिल्म चयन समितिले २०७५ असोज १५ गतेभन्दापछि तथा २०७६ साल भदौ १३ गतेभन्दा पहिला प्रदर्शन भएका फिल्महरुलाई सहभागिताको लागि आह्वान गरेपनि ‘बुलबुल’ बाहेक अन्य फिल्मले आवेदन पेश गरेनन्।

बुलबुलको पटकथा लेखन र निर्देशन बिनोद पौडेलले गरेका हुन्। फिल्मले टेम्पो चालक महिलाको जीवन र मनोविज्ञानको कथा समेटेको छ। जसमा मुख्य भूमिका अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गरेकी छिन्। अन्य कलाकार लक्ष्मी बर्देवा, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, बुद्धि तामाङ, आशिका पाण्डे लगायतको पनि अभिनय छ।

यो चलचित्र अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि सिफारिस गरिएको हो । ९२ औं एकेडेमी अवार्ड सन् २०२० को फरबरी ९ मा हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com