पशुपतिनाथमा दर्शनार्थीको भिड


प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ ।
पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका आज राति लाम नसकिएसम्म खुला गरिने जनाइएको छ ।

रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा लर्को छ । विसं २०६५ देखि भक्तजनका लागि बन्द गरी जल ल्याउन मात्र उपयोग गरिएको पशुपतिनाथको पूर्वी ढोका आजदेखि सधैँका लागि खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।
तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको हो । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चार मार्गको व्यवस्था गरिएको उहाँले बताउनुभयो । पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी तेस्रो लाम एयरपोर्टतर्फबाट–पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशाला तर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

हरितालिका (तीज) पशुपति दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटाइएको छ । शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मीसहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान गरिएको छ । साना बालबालिकालाई पनि मन्दिरमा नल्याउन पनि कोषले अनुरोध गरेको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ । सरकारी नम्बरप्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायका सवारीलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।

जुत्ता चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ ।

सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक आज दिनभर बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ ।

तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव पार्वतीको पूजा आराधना गर्छन । सत्ययुगमा हिमालयपुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहारा व्रत बसी महादेवको पूजा आराधना गरेपछि पतिका रुपमा प्राप्त गरेको विषय पौराणिक ग्रन्थमा व्याख्या गरिएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com