रजस्वला हुँदा अझै गोठमा सुत्न बाध्य छन् महिला !


प्रकाशित मिति : भाद्र १०, २०७६ मंगलबार

प्रकाश मिश्र/ आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन् । त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन् ।

प्रसूतिको समय नजिकिएपछि महिलालाई स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्तासमक्ष पु-याउनुपर्नेमा गाईवस्तु अन्यत्र सारेर गोठतिर लैजाने अनि महिना दिनसम्म गोठमै आमा तथा नवजात शिशुलाई कैद गर्ने अमानवीय प्रचलनले २१ औँ शताब्दीको महिला अधिकारलाई चुनौती दिइरहेहको छ ।

रजस्वला तथा सुत्केरी अवस्थाका महिलाहरू पोषिलो आहार, सरसफाइ तथा पारिवारिक सामिप्यको अभावका कारण अनेक समस्यामा पर्नुका साथै ‘छाउ’ अर्थात् छुन नहुने अन्ध मानसिकताका कारण गोठको एकान्तबासमा ज्यानै गुमाउनु परेको यथार्थ यहाँ छ । तर विडम्बना, तिनीहरूको जीवनरक्षाका लागि कुनै ठोस कार्यक्रम भने देख्न र सुन्न पाइँदैन । विशेषगरी रजस्वला किशोरी, गर्भवती तथा सुत्केरी महिलाहरू यस प्रकारको जोखिममा रहेका देखिन्छन् ।
रजस्वला भएका बेला धारा छुन नहुने, घर वरपर हिँड्न नहुने, गाई गोरुलाई छुन नहुने तथा पाँच दिनसम्म गोठमा बस्नुपर्ने परम्परा पहिलेदेखि चलिआएको कारण त्यसलाई त्याग्न नसकेको महिलाहरु बताउँछन् ।

कैलाली घोडाघोडी नगरपालिका–९ गोदनीकी ३३ वर्षीया चम्पा भुल छाउ नबारे देउता रिसाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महीनावारी बार्नैपर्छ नत्र कुल देउता रिसाउँछन्, यो हामीले पहिलेदेखि मानिआएको संस्कार हो । अहिले समय परिवर्तन भयो भन्दैमा छोड्न सकिदैन् ।” “छाउ हुँदा कसलाई सानो गोठमा साँघुरिएर पीडा भई बस्न मन हुन्छ र रु यो परम्परागत संस्कार हो, यसलाई मान्नै पर्छ, नत्र देउता रिसाउँछन् भन्छन् के गर्नु चलेको चलन नमानी भएन भन्नुहुन्छ घोडाघोडी–११ की आशा परियार । उहाँ भन्नुहुन्छ, “घरको सिमानाभन्दा पर आँगनमा जानै पाइन्न, भुलेर गइहालियो भने सबैका विभिन्न प्रकारका गाली सुन्नुपर्ने हुन्छ, पानीको धारा छुन पाइन्न कति बेला ज्यादै तिर्खा लागेको हुन्छ घरमा पानी सारिदिने कोही हुँदैनन् त्यसै तिर्खाएर बस्नुपर्ने बाध्यता छ ।”

रजस्वला हुँदा धेरै पीडा भोग्नुपरेको घोडाघोडी नगरपालिका–९ कि सङ्गीता विष्टको भनाइ छ । विष्ट भन्नुहुन्छ, “टाढाको छाउगोठमा सुत्नुपर्छ, नजिकै जङ्गल छ, जनावरको डर हुन्छ, मानिसको डर पनि हुन्छ, त्यसका साथै पर्याप्त ओछ्याउने बिछ्याउने कपडाको अभावमा समेत जाग्राम बसेर रात काट्नुपर्ने बाध्यता छ ।” यस्तो पीडामा कसलाई बस्न मन हुन्छ र उहाँ प्रश्नात्मक शैलीमा भन्नुहुन्छ, “यस्तो पनि संस्कार हुन्छ रु ज्यान जोखिममा राखेर बाच्नुपर्ने रु यस्ता रुढिवादी परम्परालाई जरैदेखि लत्याउन आवश्यक छ, तर यसको लागि एकै जना बोलेर हुँदैन । एकै जना बोल्ने हो भने त समाजदेखि बहिष्कृत हुनुपर्छ ।”

“भौगोलिक अवस्थिति, सामाजिक संरचना, स्रोतसाधनको अपर्याप्तता, दक्ष जनशक्तिको अभाव, धार्मिक रुढी तथा अन्धविश्वास आदिका कारण आजसम्म पनि दुर्गम ठाउँका महिलाको अवस्था अत्यन्त कष्टकर हुनुका साथै कैयौँले अकालमा ज्यान गुमाइरहेका छन”, महिला अधिकारकर्मी सावित्रा आचार्य भन्नुहुन्छ, “आजभोलि उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला विकास, महिला सशक्तीकरण आदिजस्ता मुद्दा व्यवहारमा लागू गर्न सर्वप्रथम यस्ता प्रथामा सुधार र बन्देज लगाई यस्ता प्रथाबाट पीडित महिलाको जीवनस्तर र चेतनास्तर उठाउने काम पहिलो प्राथमिकतामा राखिनुपर्दछ ।” यस्ता कुप्रथामा सुधार ल्याउन शिक्षा तथा जनचेतना सबैभन्दा उपयुक्त उपाय रहेको उहाँको भनाइ छ ।

“पुरानो मान्यताअनुसार तीन दिनसम्म त नुहाउन, कपाल कोर्न र सिन्दूर टीकासमेत लगाउन मिल्दैन, धार्मिक कार्य, सामाजिक कार्य गर्न सरिक हुन मिल्दैन, मन्दिर र सो वरपरको बाटोसमेत जान नहुने मानिसलाई छुन नहुने मान्यता समाजमा चलेको छ हामीले त्यो मान्यतालाई तोडे देउता रिसाउँछन्”, गौरीगङ्गा–९ कि सम्झना केसी भन्नुहुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com