एशिया प्रशान्तका हवाई महानिर्देशकको सम्मेलन काठमाडौँमा


प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौँमा आजदेखि शुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ४६ देशका ३९० विदेशी पाहुना (विदेशी उच्च अधिकारी) को सहभागिता रहेको छ । सम्मेलनमा आइकाओ काउन्सिलका अध्यक्ष तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक, अन्य उच्च पदस्थ पदाधिकारीहरुलगायत एशिया प्रशान्त क्षेत्रका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बद्ध १४ संस्थाको प्रतिनिधित्व छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हवाई क्षेत्रको सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास र क्षमता अभिवृद्धिका लागि आगामी रणनीति तय गर्न सम्मेलन उपयोगी हुने बताउनुभयो ।

उहाँले विश्वकै संवेदनशील हवाई क्षेत्रको बृहत्तर विकास, सो क्षेत्रमा आएका आधुनिक प्रविधि र नव प्रवर्तनका विश्वव्यापी आयामलाई आत्मसाथ गरेर गुणस्तरीय हवाई सेवा अभिवृद्धि गर्नेतर्फ सामूहिक प्रयासको खाँचो औंल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालजस्तो हिमाल, पहाड र तराईको भौगोलिक संयोगयुक्त मुलुकका लागि सम्पर्क सञ्जाल विस्तार अति अपरिहार्य विषय भएको उल्लेख गर्दै भू–धरातलीय विशिष्टता, मौसमी अवस्था आदि संवेदनशीलतालाई समेत मध्यनगर गर्दै हवाई सुरक्षा, सेवा गुणस्तर र दीर्घकालीन सुधारका सामूहिक कार्यक्रम तयार गरिनुपर्छ भन्नुभयो ।

सांस्कृतिक सम्पदा, विविध जाति, भाषा र संस्कृति, प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, विश्व प्रसिद्ध संरक्षित वन्यजन्तु तथा जडीबुटीको अपार संभावनायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उहाँले पर्यटकीय गतिविधि बढाउन र आर्थिक समृद्धिको यात्रालाई सहयोग पु¥याउन हवाई क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल भौगोलिक रूपमा मात्र नभई विविध क्षेत्रमा विविधतायुक्त मुलुक हो, विश्वकै आकर्षण मध्येको एकसिंगे गैँडा नेपालमा मात्र पाइन्छ, विश्वको सार्वोच्च शिखर सगरमाथा नेपालमै छ, हामीसँग अनगिन्ती प्राकृतिक उपहार छन्, विश्वकै सुन्दरताको धनी नेपाललाई यस्तै विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ ।”

मुलुकको हवाई संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले नीतिगत सुधार, पूर्वाधार विकास, उच्चतम प्रविधिको प्रयोग र सेवा स्तरीकरणलाई विशेष प्राथमिकताकासाथ अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो ।

उहाँले नेपालले आर्थिक उन्नति र विकासको यात्रा शुरु गरेको र यसमा अन्तर्राष्ट्रिय जगतसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभयो । पछिल्लो समय नेपालको हवाई क्षेत्र प्रगति उन्मुख रहेको तथा आर्थिक सुरक्षाका क्षेत्रमा क्रमिक सुधार भइरहेको जानकारी दिनुहुँदै प्रधानमन्त्रीले हवाई क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सबै मुलुकको परस्परिक सहयोग अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

उहाँले हवाई क्षेत्रको सुरक्षा, दक्ष जनशक्ति विकास तथा पूर्वाधारका रूपमा निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलाई निर्धारित समयभित्रै निर्माण सम्पन्न गरी शीघ्र सञ्चालनमा ल्याइने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हवाई सुरक्षा सुधारको क्षेत्रमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरेको बताउँदै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउन पहलकदमी भइरहेको उल्लेख गर्नुभयो । उहाँले आइकाओलगायत अन्तर्राष्ट्रिय हवाई निकायको मापदण्ड अनुरूप नेपालको हवाई क्षेत्रको सुरक्षा, संस्थागत सुधार, सेवा स्तरीकरण तथा पूर्वाधार विकासमा सरकार लागि परेको बताउनुभयो ।

हवाई उड्डयनको क्षेत्रमा नीतिगत सुधारको काम अघि बढाइएको र आईकाओको चासो अनुरूप प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रूपमा स्थापित गर्न कानून निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।

नेपालले हवाई क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै आइकाओ प्रेसिडेन्ट काउन्सिल सर्टिफिकेट प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै मन्त्री भट्टराईले आगामी दिनमा यस क्षेत्रको सुधारका काम गरिने उल्लेख गर्नुभयो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालको वायु सेवा सुरक्षाको अवस्था सुधारमा नेपालले प्रगति हासिल गरिरहेको सन्दर्भमा यस्ता सम्मेलनले नेपालको हवाई क्षेत्रलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको हवाई सुरक्षा आइकाओले निर्धारण गरेको भन्दा धेरै विषयमा प्रगति भएको उल्लेख गर्दै उहाँले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्रता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालनको वातावरण सिर्जना गरिएको उल्लेख गर्नुभयो ।

आइकाओ काउन्सिल अध्यक्ष ओलुमोयिवा बनार्ड अल्यूलेले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा आएको आधुनिक प्रविधिको नवीनतम आयामलाई उच्चतम प्रयोग गरी हवाई सुरक्षालाई थप गुणस्तरीय बनाउनेतर्फ सामूहिक प्रयत्न गरिनुपर्नेमा जोड दिनुभयो ।

आइकाओका एशिया प्रशान्त क्षेत्रीय निर्देशक अरुण मिश्रले उड्डयन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन लागिपरेको उल्लेख गर्दै हवाई क्षेत्रको सुधारका दृष्टिकोणले नेपाल प्रगतिको दिशातर्फ उन्मुख रहेको बताउनुभयो ।

आइकाओ स्थापनाको ७५औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन गरिएको हो । यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । यसअघि नेपालम सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो ।

यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झण्डा सगरमाथामा फहराइएको थियो । उक्त झण्डा पर्यटनमन्त्री भट्टराईले आजै आइकाओ काउन्सिल अध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेपालको उड्डयन क्षेत्रमा विभिन्न किसिमका टिप्पणी भइरहेको सन्दर्भमा उच्च तहका विदेशी अधिकारीको ठूलो जमघट हुने सम्मेलनले नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

एशिया प्रशान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, जापान, बोइङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन ९आयोटा०लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुने जनाइएको छ ।

आगामी अक्टोबर महीनामा आइकाओ मुख्यालय मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिने प्राधिकरणका महानिर्देशक पोखरेलले बताउनुभयो । यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बङ्गलादेशमा आयोजना हुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com