तेलका ट्याङ्करको पार्किङस्थल बन्यो सडक


प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार

नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ ।

मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएका छन् ।

इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाबाट आउने सवारीसाधन चारआलीको सोही सडक हुँदै चन्द्रगढी जाने गर्छन् तर बाटोभरि ट्याङ्करको अव्यवस्थित पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ । निगमको कार्यालय परिसर छ बिघाको मात्र छ । साँघुरो परिसर भएकाले निगमभित्रै खाली ट्याङ्करलाई पार्किङको व्यवस्था मिलाउन नसकिएको कार्यालयका सूचना अधिकारी लोकमणि पौडेलले बताउनुभयो ।

तेल अनलोड गरिसकेपछि ट्याङ्करलाई व्यस्त सडक र बस्तीमा पार्किङ गर्न दिइनु नहुने स्थानीयवासीको माग छ । दिनरात पार्किङ गरिँदा ट्याङ्करबाट निस्कने प्रदूषणयुक्त धुँवाले वातावरण बिग्रिएको, आगलागी र दुर्घटनाको उच्च जोखिम भएको र गाडीका स्टाफले अश्लिल कुरा बोल्ने गरेकाले बालबालिकामा नकारात्मक असर परेको स्थानीय सर्पदंश टोल विकास संस्थाका सचिव हेमराज भट्टराई बताउनुहुन्छ ।

सडकबाट पार्किङ हटाउन पटकपटक माग गर्दा प्रहरी प्रशासनले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । केही वर्ष अघि यसरी नै पार्किङ गरिएको ट्याङ्करमा आगलागी हुँदा त्रास फैलिएको थियो । त्यसबेला बेलैमा आगो निभाइएका कारण धेरै क्षति हुन पाएको थिएन । चारआली–चन्द्रगढी सडकखण्ड झापाको व्यस्त सडकमध्येमा पर्दछ । यही बाटो भएर चन्द्रगढी विमानस्थल र मेची अञ्चल अस्पतालमा सर्वसाधारण यात्रा गर्छन् । ट्याङ्कर पार्किङ हुँदै आएको यही सडक क्षेत्रमा नेपाली सेनाको चारआली गण र सर्पदंश उपचार केन्द्रसमेत रहेको छ ।

साँघुरो सडकका दुवै किनारमा लस्करै राखिएका ट्याङ्करका कारण जोखिम मोलेर सवारी चलाउनु परिरहेको सो सडकमा मिनी बस चलाउँदै आएका सवारी चालक कनक राजवंशी बताउनुहुन्छ । अधिकांश ट्याङ्करका चालकले सडक आसपासका घरमा नै डेरा लिएर बसेका छन् । निगमले उचित पार्किङ स्थानको व्यवस्था गरिदिए सडकमा यसरी अस्तव्यस्तता सिर्जना हुने गरी पार्किङ नगरिने ट्याङ्कर चालकहरु बताउँछन् ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com