अमेरिकाको फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते


प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार

संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ ।

विभागका अनुसार लागूपदार्थका कारोबारीहरुलाई पक्राउ गर्ने क्रममा घण्टौ लागेको थियो । घाइते प्रहरीको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरी आयुक्त रिचार्ड रस जुनियरले आफ्नो ३० वर्षे कार्यकालमा प्रहरीसँग यति लामो समयसम्म कुनै पनि समूहले भिडन्त नगरेको बताउनुभयो ।

यसै महिनाको शुरुमा अमेरिकाकै ओहायो राज्यको डेटन र टेक्सास राज्यको एल पासोमा भएका गोलीकाण्डमा ३२ जनाको ज्यान गएको थियो ।

एक व्यक्तिले घरभित्रबाट प्रहरीमाथि लगातार गोली चलाएका थिए, तर प्रहरीले निकै प्रयासपछि ती व्यक्तिलाई पक्राउ गरेको थियो ।

फिलाडेल्फिया नगरका मेयर जीम केन्नीले प्रहरी विभागले सफलतापूर्वक कारबाही गरेकामा धन्यवाद दिनुभएको छ । एकै व्यक्तिले प्रहरीसँग घण्टौंसम्म भिड्न पुग्ने गरी गोली संकलन गरेकामा आश्चर्य व्यक्त गर्दै मेयर केन्नीले यो निकै खेदजनक छ भन्नुभयो ।

संयुक्तराज्य अमेरिकामा पछिल्ला वर्षहरुमा बन्दुकसँग सम्बन्धित हिंसा बढे पनि त्यसलाई नियमन गर्नेतर्फ पक्ष र विपक्षमा समाज र राजनीतिक क्षेत्र व्यापक रुपमा ध्रुवीकृत भएको छ । अमेरिकामा निकै शक्तिशाली मानिएको नेसनल राइफल एसोसिएसनले बन्दुक खरिदमा कडा नियम ल्याउने प्रस्तावलाई अस्वीकार गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com