न्युयोर्कको ब्रोडवे शोमा चम्किदै नेपाली युवा


प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार

नेपाली युवा ओमराज राउतले न्युयोर्कको ब्रोडवे शोमा मञ्चन हुने नाटकमा अभिनय गर्ने भएका छन् । अगस्त १६ र १७ मा न्युयोर्कको म्यानहटनमा रहेको ग्रयाण्ड थियटर प्रोड्युसर क्लबमा मञ्चन हुने नाटकमा उनले अभिनय गर्न लागेका हुन् ।

एलिस क्यामारोटाको अभिनय रहेको लाइसिसट्राटा नामको युद्धबिरोधी कमेडीमा राउतले प्रहरी र एकजना बुढो व्यक्तिको भूमिका निभाउने भएका छन् । लाइसिसट्राटा नाटक एरिस्टोफानिसले लेखेको ग्रिक कमेडी हो, जुन झण्डै २४ सय बर्ष अगाडि एथेन्समा प्रदर्शन गरिएको बताइन्छ ।

अगस्त १६ मा बेलुका ७ बजे र अगस्त १७ मा बेलुका ९ बजेको शोमा नेपाली युवा राउतले अभिनय गर्नेछन् । उनीसँगै १५ जना अन्य अमेरिकन कलाकारहरुले उक्त नाटकमा अभिनय गर्नेछन् ।

नाटकमा प्रवेश शुल्क २० डलर तोएिको छ । यो नाटक ब्रोडवेको मुखय थियटरमा नभई अलिक सानो अफ ब्रोडवे थियटरमा देखाउन लागिएका हो । राउतले न्युयोर्कको ब्रोडवे शोमा यस अगाडि पनि अभिनय गरिसकेका छन् ।

न्युयोर्कमा अभिनय विषयमा नै अध्ययन गरिरहेका उनले कलेजमा मात्र नभई कलेजबाहिरका थियटरहरुमा पनि अभिनय गर्दै आएका छन् । सिटी कलेज अफ न्युयोर्कमा अध्ययनरत उनी नेपालमा अभिनय र पब्लिक स्पीकिङमा डिप्लोमा गरेका थिए ।

यस अगाडि उनले न्युयोर्कको म्यारियन एन्डरसन थियटरमा किङ लियर नाटकमा नाइट र एड्गरको भूमिकामा अभिनय गरेका थिए । त्यस्तै आवर लेडी अफ १२१ स्ट्रीट नामको नाटकमा पनि उनले गेलको भूमिकामा अभिनय गरेका थिए । यो नाटक ट्राइबेका पर्फमिङ आर्ट सेन्टर न्युयोर्कमा मञ्चन भएको थियो । बीएमसीसी थियटर हलमा अ मिडसमर्स नाइट ड्रिममा अभिनय गरेका उनले भारतको अन्तर्राष्ट्रिय कलकत्ता थियटर महोत्सवमा अ नाइट वीथ माओ नाटकमा अभिनय गरेका थिए ।

उनले उक्त महोत्सवमा बेष्ट प्ले अवार्ड समेत प्राप्त गरेका थिए । त्यसअगाडि उनले नेपालमा कथा देश नामको नाटकमा पनि अभिनय गरेका थिए । नेपालको सुशिला आर्ट एकेडेमीमा समेत केहीसमय प्रशिक्षकका रुपमा काम गरेका उनी केहीबर्षदेखि न्युयोर्कमा अभिनययात्रामा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com