सुन्दा पत्यार लाग्दैन, तर हिंसाका कारण अमेरिकामा एक वर्षमा ४० हजारको मृत्यु !


प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार

सोमनाथ लामिछाने/सुन्दा पत्यार लाग्दैन, तर अमेरिकामा एकै वर्षमा बन्दुकसँग सम्बन्धित हिंसाका कारण सन् २०१८ मा ४० हजारको मृत्यु भएको थियो । अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन् । यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो पटक टेक्सास राज्यको एल पासोको वाल्मार्टमा सन् २०१९ अगष्ट ३ मा एक व्यक्तिले गोली चलाउँदा २२ जनाको मृत्यु भएको भोलिपल्टै ओहायो राज्यको डेटनमा ९ जनाको सामूहिक हत्या भयो । मेक्सिकाली नागरिकहरुको बाहुल्य रहेको एल पासो घटनामा केही मेक्सिकालीको पनि ज्यान गएको थियो ।

हत्यामा संलग्न व्यक्तिले आप्रवासीका कारण अमेरिकाको अस्तित्व नै सङ्कटमा पर्न लागेको भन्दै अमेरिकी राष्ट्रपतिका कदमहरुको समर्थन गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी संघीय जाँच ब्यूरो ९एफबीआई० ले यी दुबै घटनालाई अमेरिकी आतंकबादी घटना हो कि भन्ने दृष्टिबाट अनुसन्धान थालेको छ ।

संयुक्तराज्य अमेरिकामा भएका पछिल्ला केही डरलाग्दा गोलीकाण्डहरु हेरौं । फ्रान्सेली समाचार संस्था एएफपीको विवरण अनुसार सन् २०१७ अक्टोबर १ मा लास भेगासमा भएको एउटै गोलीकाण्डमा ५८ जना मारिएका थिए । यस घटनामा झण्डै ५५० जना घाइते भएका थिए । गोली चलाउने ६४ वर्षीय एक जना अवकाशप्राप्त लेखा अधिकृतले गोलीकाण्ड मच्चाए लगत्तै आत्महत्या गरेका थिए । अमेरिकी इतिहासमा एउटै घटनामा यतिधेरै मानिस मारिएको यो पहिलो घटना हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१६ को जुन १२ मा ओर्लान्डो शहरको एउटा समलिङ्गीहरुको पल्स रात्रिक्लबमा गोली चलाउँदा ४९ जना मारिएका थिए । प्रहरी कारबाहीमा ती व्यक्ति मारिएका थिए । उनले आफू इस्लामिक स्टेट समूहको विचारधाराबाट प्रभावित भएको बताएका थिए ।

सन् २०१२ डिसेम्बरमा कनेक्टिकटमा एकजना २० वर्षीय युवाले आफ्नी आमाको हत्या गरी स्यान्डी हुक इलिमेन्टरी स्कुलमा बम बिस्फोट गराउँदा स्कुले बालबालिका र शिक्षक समेत गरी २६ जनाको ज्यान गएको थियो ।

सन् २०१७ नोभेम्बर ५ का दिन टेक्सासको सान एन्टोनियोमा एउटा गिर्जाघरमा प्रवेश गरेका एक २६ वर्षीय व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा गिर्जाघरमा भेला भएका २५ जनाको मृत्यु हुनुका साथै कम्तीमा २५ जना घाइते भएका थिए । अमेरिकी वायु सेनाको कारबाही ९कोर्टमार्सल०मा परेका उनले आत्महत्या गरेका थिए ।

फ्लोरिडाको पार्कल्यान्डको मर्जोरी स्टोनम्यान डग्लस स्कुलका १९ वर्षीय पूर्व विद्यार्थीले स्कुलभित्र प्रवेश गरेर गोली चलाउँदा १७ जना स्कुले विद्यार्थी र शिक्षकको ज्यान गएको थियो । सन् २०१८ फेब्रुअरी १४ को यस घटनामा संलग्न ती पूर्व विद्यार्थीलाई स्कुलले अनुशासनको कारबाही गरेर स्कुलबाट निकालेको थियो ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । अमेरिकी इतिहासमा क्यालिफोर्निया अफिस पार्टी, भर्जिनिया बिच, क्यालिफोर्निया बार, कोलोराडोको सिनेमा घर, पिट्सबर्गको यहुदी प्रार्थना घर, सान्ता फे स्कुलमा भएका घटनामा निहत्था सयौं व्यक्तिको ज्यान गएको थियो ।

अमेरिकी प्यू रिसर्च सेन्टरका अनुसार ५० वर्ष उमेर नाघेका एक तिहाई अमेरिकीले आफूहरुसँग बन्दुक रहेको बताएका थिए । बन्दुकको स्वामित्व रहने युवाको दरमा भने कमी आएको देखिएको छ अर्थात् २८ प्रतिशतसँग बन्दुक छ । बन्दुक राख्नेहरुमा बढीजसो गोरा जातिका मानिस छन् । सन् २०१७ मा बन्दुकजन्य अपराधका घटनाबाट झण्डै ११ हजारको ज्यान गएको थियो । विश्वका शक्तिसम्पन्न र धनाढ्य मुलुकमा यो सबैभन्दा डरलाग्दो अवस्था हो । नागरिक स्तरमा विश्वमा बन्दुक राख्ने मुलुकमा सबैभन्दा माथि अमेरिका छ ।

अमेरिकी अखबार दी न्यूयोर्क टाइम्सले सन् २०१८ मा बन्दुकजन्य अपराधका घटनामा झण्डै ४० हजारको ज्यान गएको जनाएको छ । विगत ५० वर्षमा यो आँकडा सबैभन्दा ठूलो हो ।

सन् २०१६ मा बन्दुकसँग सम्बन्धित घटनाका कारण अमेरिकामा ३८ हजार ८५८ जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । जसमा आत्महत्याका निम्ति २२ हजार ९३८ जनाले बन्दुकको प्रयोग गरेका थिए । यस्तै १४ हजार ४१५ जनाको हत्या बन्दुक प्रहारबाट भएको थियो ।

अमेरिकी बन्दुक कानुनमा कडाई गर्ने वा नरम नीति ल्याउने भन्ने बारेमा अमेरिकी जनमत बाझिएको छ । ग्यालपको पछिल्लो मतसर्वेक्षणमा बहुसंख्यक अमेरिकीहरु ९करिब ४६ प्रतिशत० अमेरिकी बन्दुक कानुन र नीतिप्रति बेखुशी रहेको देखिएको छ । उनीहरुले बन्दुक खरिद गर्ने र राख्ने सन्दर्भमा कडा नियमहरु अवलम्बन गर्नुपर्ने मत राखेका छन् । मानसिक अस्वस्थ वा प्रहरीको “वाच लिस्ट” मा परेकाहरुको हातमा बन्दुक पुग्न नदिन विशेष ध्यान दिनुपर्ने माग सर्वत्र भइरहेको छ ।

तर अमेरिकामै सर्वाधिक शक्तिशाली मानिएको राष्ट्रिय राइफल संघ ९एनआरए० ले अमेरिकामा बन्दुकको नियन्त्रण गर्नै नहुने पक्षमा लबिङ गरिरहेको छ । संघले नागरिकका हातमा बन्दुक भएमा मुलुक बढी सुरक्षित हुने तर्क गरिरहेको छ । प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकी बन्दुक नीतिलाई प्रभावित तुल्याउन सक्षम ठानिएको यस संघले लबिङकै लागि वार्षिक करिब ५२ लाख अमेरिकी डलर खर्च गरिरहेको छ । अमेरिकामा बन्दुक राख्ने प्रत्येक पाँचमा एक व्यक्ति एनआरएको सदस्य छन्, यसमा रिपब्लीकन समर्थकहरुको बाहुल्यता छ । संघले कडा बन्दुक नीतिको विपक्षमा वकालत गर्ने व्यक्तिलाई चुनावमा सघाउने गरेको छ ।

अमेरिकामा पछिल्ला केही वर्षदेखि बन्दुक किन्न र राख्न खोज्ने व्यक्तिमाथि कडा नियमहरु लगाउनु पर्ने माग राखी राजधानी वासिङ्टन सहित देशका ठूला शहरमा प्रदर्शनहरु भइरहेका छन् । यी प्रदर्शनमा डेमोक्र्याटिक पार्टीको पनि समर्थन रहेको छ, तर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लीकन पार्टीले एनआरएको प्रभावमा बन्दुक कानुन र नीतिमा सुधार गर्न चाहेको देखिन्न । अमेरिकी राष्ट्रपतिले सार्वजनिक रुपमै अल्पसंख्यक र आप्रवासीका बारेमा राख्ने धारणाले अमेरिकी समाजमा नैराश्यता, घृणा फैल्याएको र समाजलाई नै विभाजित गर्नुका साथै हिंसातर्फ उक्साएको आरोप लाग्ने गरेको छ । (लेखक राससका सम्पादक हुनुहुन्छ)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com