आगामी मंगलबारदेखि युएससीआईएसबाट पूराना फर्म रिजेक्ट

प्रकाशित मिति : फाल्गुन ६, २०७३ शुक्रबार

आगामी मंगलबारदेखि अमेरिकी सरकारको सिटिजन एण्ड इमिग्रेशन सर्भिस युएससीआईएसले पुराना फर्महरु रिजेक्ट गर्ने भएको छ । आगामी मंगलबारपछि पुराना फर्म आफूहरुलाई प्राप्त भए त्यस्ता आवेदन सुरुमै रिजेक्ट गर्ने जनाएको छ ।

गत डिसेम्बरदेखि नै युएससीआईएसले नयाँ फर्मको व्यवस्था गरेपनि फरबरी २१ सम्म भने पूरानै फर्महरु पनि स्वीकार गरिने युएससीआईएसले जनाएको थियो ।

अपडेट गरिएका नयाँ फर्महरु छापिएका प्रतिका रुपमा तत्काल उपलब्ध नभएको पनि युएससीआईएसले जनाएको छ । फर्म आवश्यक पर्नेहरुले युएससीआईएसको आधिकारिक वेवसाइटमा गएर डाउनलोड गरेर प्रिन्ट गर्न सक्नेछन् ।

शुल्क बृद्धि

युएससीआईएसले दर्ता शुल्क बृद्धि गरेका ४६ वटा फारममध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका नेपालीहरुलाई सरोकारको विषय ग्रिनकार्ड र नागरिकताको फारमको दर्ता शुल्क हो । त्यो बाहेक ग्रिनकार्ड हराएमा वा ड्यामेज भएमा अर्को ग्रिनकार्ड चाहिएमा आई ९० आवेदन दर्ता गराउँदा अब ४५५ अमेरिकी डलर तिर्नुपर्ने भएको छ । यसअघि यो आवेदनका लागि ३६५ अमेरिकी डलर तिर्नुपथ्र्यो । गैरआप्रवासीहरुले अमेरिकामा प्रवेश र प्रस्थानको कागजातका लागि वा पुरानो कागजात प्रतिस्थापनका लागि आवेदन दिनुपरेमा ३३० डलरमात्र तिरे पुग्थ्यो । तर अब भने यसका लागि ४४५ अमेरिकी डलर तिर्नुपर्ने भएको छ ।

कुनै व्यक्तिको मंगेतरलाई अमेरिकामा ल्याउनुपरेमा दिइने आवेदनका लागि यसअगाडि दर्ता शुल्क ३४० डलर लाग्दै आएको थियो । आई १२९ एफ नामको यो आवेदनका लागि अब दर्ता शुल्क ५३५ डलर लाग्ने भएको छ । त्यस्तै आफन्तका लागि दिइने आवेदन आई १३० का लागि अब दर्ता शुल्क ४२० बाट बढेर ५३५ पुगेको छ । त्यस्तै ट्राभल डकुमेन्टका लागि आवेदन दिनु परेमा आई १३१ वा आई १३१ ए नाममा फारम भर्दा दर्ता शुल्क ३६० डलर लाग्दै आएकोमा अबदेखि भने ५७५ डलर तिनुृपर्ने भएको छ । ईबी क्याटेगोरीका लागि आवेदन दिन आवश्यक पर्ने फारम आई १४० का लागि अब दर्ता शुल्क ५८० बाट बढेर ७०० डलर पुगेको छ । अधिकांश नेपालीहरुले असाधारण योग्यताको ग्रिनकार्डका लागि ईबी वान अन्तरगत यो फारम भर्दै आएका छन् ।

अमेरिकामा गैरआप्रवासी भिसाको अवधि बढाउनुपरेमा यसअगाडि आई ५३९ को दर्ता शुल्क जम्मा २९० अमेरिकी डलर लाग्दै आएकोमा अब यो शुल्क बढेर ३७० अमेरिकी डलर पुगेको छ । त्यस्तै अमेरिकामा रहेका ठूलो संख्याका नेपालीहरुले वर्क परमिटका लागि आवेदन दिदै आएकोमा अबदेखि यो फर्मको दर्ता शुल्क ४१० अमेरिकी डलर पुगेको छ । यसअगाडि वर्क परमिटका लागि आवेदन दिंदा ३८० अमेरिकी डलर तिर्नुपर्ने थियो । कसैको अमेरिकी नागरिकतासम्बन्धि कागजात हराएमा त्यसको प्रतिस्थापनका लागि ३४५ अमेरिकी डलर शुल्क रहेकोमा अबदेखि यो शुल्क बढेर ३५५ अमेरिकी डलर पुगेको छ ।

त्यस्तै नागरिकताको प्रमाणपत्रका लागि आवश्यक फारम एन ६०० वा एन ६०० केका लागि यसअगाडि ६ सय र ५ सय ५० अमेरिकी डलर शुल्क तोकिएकोमा अब यो शुल्क बढेर ११७० पुगेको छ । त्यस्तै अमेरिकामा आप्रवासी भिसाका लागि आवेदन दिनेहरुले यसअगाडि युएससीआईएसको शुल्क बापत १६५ अमेरिकी डलर तिर पुग्नेमा अबदेखि भने २२० अमेरिकी डलर तिर्नुपर्नेछ । युएससीआईएसले औंठाछाप लिनका लागि लिदै आएको ८५ डलरमा भने बृद्धि गरेको छैन ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com