अमेरिकाको मिसिसीपी राज्यबाट १२२ आप्रवासी पक्राउ


प्रकाशित मिति : श्रावण २४, २०७६ शुक्रबार

सिन्ह्वा/अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२ जना मेक्सिकन पक्राउ परेका छन् ।
मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ ।

उक्त राज्यका विभिन्न खाद्यान्न प्रशोधन केन्द्रहरुमा अमेरिकी प्रहरीले गरेको खोजी अभियानका क्रममा ती अवैध रुपमा काम गरिरहेका आप्रवासीहरुलाई नियन्त्रणमा लिइएको प्राप्त समाचारमा जनाइएको छ ।

मेक्सिकोको विदेशमन्त्री मार्सेलो एबराडले केही समयअघि १०७ जना मेक्सिकन अमेरिकाको मिसिसीपीमा पक्राउ परेका जानकारी दिनुभएको थियो । तर बिहीबार सो तथ्यांक अद्यावधिक गर्दै १२२ जना नागरिक पक्राउ परेको जानकारी गराउनुभएको हो ।

अमेरिकामा बुधबारमात्र वैधानिक कागज बिना नै अमेरिकामा बसेर काम गरिरहेका ६८० जना मेक्सिकन पक्राउ परेको बताइएको थियो । ती मध्ये कतिपय अदालतको आदेशबाट रिहा भइसकेका छन् ।
विदेशमन्त्री मार्सेलोले ती नागरिकलाई मेक्सिकोको तर्फबाट कानुनी परामर्श र आवश्यक कानुनी दस्ताबेजहरु उपलब्ध गराइएको जानकारी पनि दिनुभएको छ ।

अमेरिकाका खाद्यान्न केन्द्रहरुमा कार्यरत मेक्सिकन नागरिकहरुमध्ये अमेरिकाले पहिलो पटक एकैदिन यतिधेरैलाई पक्राउ गरेको पनि उहाँले बताउनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

ती पक्राउ परेकाहरु अमेरिकामा विना कागजात नै बसेर काम गर्दै आएका नागरिक रहेको अनुमान गरिएको छ । तर उनीहरुसँग के कति कागजात छन् भन्ने बारेमा भने कुनै जानकारी गराइएको छैन ।  पियु रिसर्च सेन्टरको एक तथ्यांकले अमेरिकामा कम्तीमा पनि ४९ लाख मेक्सिकनको बसोबास रहेको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com