सङ्क्रमित महिला झन् विभेदमा


प्रकाशित मिति : फाल्गुन ५, २०७३ बिहीबार

एचआईभी सङ्क्रमणका कारणले श्रीमान् गुमाएर सङ्कटपूर्ण जीवन बिताइरहेका अछामका सङ्क्रमित एकल महिला चर्को सामाजिक विभेदको सिकार भइरहेका छन् । 

 शिवराज खत्री

अछाम । अछामकी सपना शर्मा (नाम परिवर्तन) कलिलै उमेरमा एकल भइन् । श्रीमानले सदाका लागि छोडेर गएपछि जीवनमा दुःखका दिन सुरु भए । श्रीमानले एक्लै छोडेर मात्र गएनन्, एचआईभी/एड्स सङ्क्रमण गराएर गए । घरको कमजोर आर्थिक अवस्था, कलिलो उमेर अनि दीर्घरोगी भएर जन्मिएको छोराको चिन्ता । उनको जीवनमा खपिनसक्नु दुःखका दिन सुरु भए । कस्तोसम्म दिन आयो भने एचआईभी सङ्क्रमित भएको अवस्थामा औषधि त परको कुरा, पेटभरि भातसमेत खान पाइनन् ।

यी समस्याका बाबजुद उनले जिउने कोसिस गरिन् । रोगले ग्रस्त छोरो काखी च्यापेर सदरमुकाम मंगलसेन आइन् । सदरमुकाममा ज्याला–मजदुरी गर्ने काम खोज्दै थुप्रै ठाउँ चहारिन् । काम पाउन मुस्किल भयो । अथक् प्रयासपछि उनले होटेलमा मासिक पाँच हजार रुपैयाँ तलबमा भाँडा माझ्ने काम पाइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाँडा माभ्mने काम सुरु गर्दा उनले आफू एचआईभी सङ्क्रमित हुँ भनिनन् । तर, काम थालेको चार दिनपछि उनलाई त्यहाँबाट निकालियो । कारण उनी एचआईभी सङ्क्रमित थिइन् र उक्त कुरा कतैबाट होटेल मालिकले थाहा पाइसकेका थिए । ‘तिमी त एडस् रोगी रहिछौ । अब म काममा राख्न सक्दिनँ, भनेर मालिकले निकालिदियो,’ उनले भनिन्, ‘मालिकले यो होटेलमा एचआईभी सङ्क्रमित पनि काम गर्छन् भन्ने ग्राहकले थाहा पाए भने मेरो त व्यवसाय नै डुब्छ भनेर तलबै नदिई निकालिदिए ।’ त्यसपछि उनलाई बाँचेर केही हुँदैन भन्ने लाग्यो । उनले आत्महत्या गर्ने सोच बनाइन् । तर, यहीबीचमा उनको सङ्क्रमित महिलाको पक्षमा काम गर्ने आफूजस्तै सङ्क्रमितहरूसँग भेट भयो ।

उनीहरूको कुरा सुनेपछि आत्महत्याको सोच बदलियो । सङ्क्रमित अगुवा गंगा थापा भन्छिन्, ‘उनको कथा सुनेर साह्रै दुःख लाग्यो । अनि अर्को होटेलमा उनलाई भाँडा माझ्ने काममा लगाइदियौँ ।’ त्यहाँ भने होटेल मालिकलाई सङ्क्रमित भएको जानकारी गराएर नै काममा लगाइएको थियो । १२ वर्षदेखि सङ्क्रमित महिलाको हकहितका लागि सक्रिय गंगासँग एचआईभी सङ्क्रमित भएकै कारणले महिलाले भोगेका विभेदका थुप्रै अनुभव छन् । उनका भनाइमा श्रीमानका कारण सङ्क्रमित भएका धेरै महिला समाजमा हेलाको पात्र भएर बाँच्न विवश छन् ।

दर्ना– ४ की ४५ वर्षीया गंगाका श्रीमानकाे पनि एचआईभी सङ्क्रमणका कारण २२ वर्षअघि निधन भएको थियो । श्रीमान्को मृत्युपछि उनले पनि समाजमा थुप्रै भेदभाव र लाञ्छना सहेर बाँच्नुप-यो । ‘एचआईभी सङ्क्रमितको छोरा हो भनेर मेरो छोरालाई त विद्यालयले पढ्नै दिएन,’ गंगाले आफ्नाे जीवनमा भोगेका भेदभावको अनुभव सुनाउँदै भनिन्, ‘सङ्क्रमितले समाजमा भोग्नुपरेको भेदभाव र लाञ्छनाको त कुरा गरेर साध्य छैन ।’

एक दिन उनकै छिमेकी गाउँमा एक एचआईभी सङ्क्रमित महिला महिनावारी भएको बेला गाउँका अन्य महिलाले सँगै छाउपडी गोठमा समेत बस्न दिएनन् । छाउपडी गोठमा समेत दिदीबहिनीले भेदभाव गरेको सुनेर लगत्तै त्यस गाउँमा गएर गंगाले सबैलाई सम्झाएपछि छाउ भएका दिदीबहिनीलाई बस्न दिए ।

तर, अहिले पनि यस भेगका गाउँका अन्य मानिस सङ्क्रमित महिलालाई गाउँका महिलासँग गोठमा बस्न दिन तयार छैनन् । सङ्क्रमित महिलालाई अरूसँग गोठमा बस्न दिने वातावरण बनाउनसमेत आफूले ठूलै सङ्घर्ष गरेको, तैपनि नसकेको गंगाको भनाइ छ । सङ्क्रमितहरूका लागि सामुदायिक हेरचाह सहयोगी कार्यकर्ताको रूपमा काम गरिरहेकी गंगासँग करिब १२ वर्ष लामो काम गरेको अनुभव छ । सङ्क्रमित महिलालाई छाउपडी गोठमा सुत्न नदिने, पानी–पँधेरामा जान नदिने, अन्य सामाजिक काममा भेदभाव गर्ने गरेका अनगिन्ती घटनामा छलफल गरेको बताउँछिन् उनी ।

समाजमा ससम्मान बाँच्न पाउने आशामा खुलेर आएका सङ्क्रमित झन् भेदभाव र अपहेलनाको सिकार भइरहेका छन् । गरिबीका कारणले कामको सिलसिलामा श्रीमान् भारत जाँदा उतैबाट सङ्क्रमित भएर आउने र घरमा श्रीमतीलाई सार्ने समस्याले गर्दा एचआईभी/एड्सको सिकार निर्दोष श्रीमतीहरू भइरहेका छन् ।

एचआईभी सङ्क्रमितको क्षेत्रमा कार्यरत हरिशचन्द्र रावल एचआईभीका कारणले श्रीमान् गुमाएर एकल जीवन बिताइरहेका सङ्क्रमित महिला झन् चर्को भेदभावको सिकार भइरहेको बताउँछन् ।  आफूसमेत सङ्क्रमित रहेका रावलले पछिल्लो केही महिनायता मात्र चाल्सा र कुइका गाविसमा दुई सङ्क्रमित एकल महिलालाई परिवारबाट नै भेदभाव गरेर घर निकाला गरेको घटनामा आफैँ गएर छलफल गरी पुनस्र्थापना गराएको कथा सुनाए ।

एचआईभी सङ्क्रमितलाई सार्वजनिक रूपमा भेदभाव गर्ने क्रम नरोकिएको रावल बताउँछन् । जिल्ला एड्स समन्वय समितिको विवरणअनुसार अछाममा खुलेर सार्वजनिक भएका करिब एक हजार पाँच सय संक्रमित छन् । (सञ्चारिका फिचर सेवा) (शिवराज, अछामका पत्रकार हुन् ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com