खानेपानी नहुँदा स्थानीयवासीले गाउँ छोडे !


प्रकाशित मिति : फाल्गुन ५, २०७३ बिहीबार

/ सुन्दा पनि अचम्म लाग्छ, नगरपालिका भित्रै खानेपानीको हाहाकारले स्थानीयवासीले गाउँ छोड्नु परेको खबरले । तर यो ज्वलन्त र यथार्थ उदाहरण हो, रामपुर नगरपालिका–१० को बालेपधेँरा, बाहुनडाँडा र कामिटोलको । गाविसबाट नगरवासीमा परिणत भएका यहाँका स्थानीयवासीले आधारभूत आवश्यकता त परै जाओस् पिउने पानीको पनि सुविधा उपभोग गर्न पाइरहेका छैनन् ।

नगरपालिकाको केन्द्र नजिकका साबिक रामपुर गाविस वडा नं – १, ३, ४, ५, ६, ७, ९ र दर्छा गाविसका नं ७ र ८ मा रामपुर दोस्रो खानेपानी आयोजनामार्फत सबैका घरघरमा धारा जडान गरेर खानेपानीको सुविधा उपभोग गरिरहेका बेला यहाँका स्थानीयवासीलाई भने दिनभर पानीको जोहो गर्दै ठिक्क छ । यस क्षेत्रका स्थानीयवासी चरम खानेपानीको अभावमा गाउँ–बस्ती नै छाड्न बाध्य भएका छन् ।

बस्ती नजिकै कुवा, मूल नहुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पछिल्लो समय खानेपानीकै समस्याले यहाँका बस्ती नै पातलिँदै गएका छन् ।

बाले पधेँरा, बाहुनडाँडा र कामिटोल क्षेत्रमा झन्डै एक सयभन्दा बढी घरधुरी रहेकामा बस्ती पातलिँदै जाँदा हाल २० घरधुरी मात्र सीमित हुन पुगेको छ । गाउँसम्म पुग्ने बाटोको समस्या, खानेपानीको चरम अभाव, बिजुली लगायतका सेवासुविधाविहीन बनेका स्थानीयवासीले गाउँका उर्वर भूमि छाडेर अन्यत्र बसाइँसराइ गर्न बाध्य भएका हुन् ।

स्थानीयवासीको दैनिकी भनेको नै बिहान उठ्यो गाग्री बोक्यो अनि गाउँभरि डुलेर पानीको जोहो गर्दै बितेको छ । बस्तीभन्दा करिब दुई किलोमिटर टाढा रहेको कालो पहाडमा एउटा सानो पानीको मूलबाट एक घरपरिवारलाई दिनमा एक गाग्रीदेखि दुई गाग्रीसम्म बडो मुस्किलले पानीको व्यवस्था मिलाइएको कुलबहादुर सिञ्जालीले बताउनुभयो ।

कामिटोलका रितुमान विक ७३ वर्ष पुग्नुभयो । तर उहाँलाई बस्तीदेखि करिब तीन किलोमिटर टाढाबाट गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता उहाँको जीवनभर हट्न सकेन । दिउँसोको समयमा डोकोमा पानी बोक्दै गरेको अवस्थामा भेटिनुभएका विक भन्नुहुन्छ, “नगरवासी भएपछि पानी त सजिलो गरी पिउन पाइन्छ कि भनेको समस्या ज्यूँका त्यूँ नै छ ।”

“खानेपानीको व्यवस्थासम्म नगरपालिकाले मिलाइदिए पानी बोक्ने समय अन्य काममा खर्चन पाइन्थ्यो”, विकले भन्नुभयो । स्थानीयले लुगा धुन, नुहाउन, गाईभैँसीका लागि आवश्यक पर्ने पानी बस्तीदेखि तीन किलोमिटर तल रहेको फार्सेखोलाबाट बोकेर गुजारा चलाउँदै आएका छन् । यस क्षेत्रमा पानीको चरम अभावले बसाइँसराइ गर्दा एक घरपरिवारको कम्तीमा पनि ३० देखि ४० रोपनी जग्गा बाँझिन पुगेको छ ।

बस्तीमुनि रहेको फार्सेखोलाबाट लिफ्टिङ गरेर गाउँमा पानी पु-याउन सकेको खण्डमा बसाइँसराइको क्रम रोकिने थियो । पानीको स्रोतको वैकल्पिक व्यवस्थाका लागि स्थानीय निकायमा पटकपटक आग्रह गरेपनि चासो नदिएको स्थानीयवासीको भनाइ छ ।

गाविसबाट नगरवासी बनेका यस क्षेत्रका स्थानीयवासीले खानेपानीको समेत चरम समस्या भोगिरहँदा स्थानीय निकाय नै यस विषयमा मौन रहेको छ । नगरपालिकाले वडागत रुपमा योजना सङ्कलन र छनौट गरेर विकास निर्माणका काममा बजेट विनियोजन गरेपनि यस क्षेत्रमा अहिलेसम्म खानेपानी आपूर्तिका लागि कुनै पनि पहल हुन नसकेको मिनु सिञ्जाली बताउनुहुन्छ ।

रामपुर नगरपालिकाको केन्द्रमा बिजुली बलेको करिब १८ वर्ष भइसक्यो तर यहाँका स्थानीयवासीले भने अहिलेसम्म बिजुलीको उपयोग गर्न पनि पाएका छैनन् । गाउँमा बिजुलीको लाइन विस्तारका लागि काम सुरु गरेको पाँच वर्ष भइसक्यो तर बिजुली बल्न अझै सकेको छैन । बिजुलीको सुविधा पुगेको खण्डमा बस्तीदेखि तल रहेको फार्सेखोलाबाट लिफ्टिङ पद्धतिबाट गाउँभरि नै पानीको प्रशस्त सुविधा पुग्नेछ । स्थानीय निकाय नगरपालिका, गाविस० ले बजेट विनियोजन गर्दा गाउँका ज्वलन्त समस्या समाधानमा पनि ध्यान दिनु जरुरी देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com