पोखरीमा हामफालेर १६ बाँदर मरे !


प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार

सिन्धुपाल्चोकको एक पोखरीमा म‌ंगलबार १६ वटा बाँदर डुबेर मरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा घटना भएको हो ।

बाँदरको हुल सदाभन्दा अस्वभाविक तरिकाले चिच्याइरहेको सुनेर हेर्न जाँदा केही मरेर तैरिएको र केही छटपटाइरहेको देखेको स्थानीय क्षेत्रबहादुर दुलालले बताए ।

‘म धान खेतमा पानी थुन्न गएको थिएँ,’ उनले भने, ‘सधैंभन्दा अलि फरक तरिकाले बाँदरहरू चिच्याएको सुनेर पोखरीमा हेर्न पुगेँ।’ आफूले देख्दादेख्दै पनि डुबेकालाई बचाउने शैलीमा बाँदरहरू लगालग पानीमा हाम फाल्न थालेपछि होहल्ला गरेर गाउँले बोलाएको उनले बताए।

क्षेत्रबहादुरको आवाज सुनेर आएका छिमेकी कुश्माखर दुलाल पनि सुरुमा त छक्क परे। त्यसपछि जम्मा भएका गाउलेले पोखरीमा हाम फाल्न ठिक्क परेका बाँदरको हुल धपाए। डुबेर छटपटाइरहेकालाई बाहिर निकाले।

‘यो के अनर्थ हुन लागेको भनेर सुरुमा त हामी अचम्ममा पर्‍यौं,’ स्थानीय कुलप्रसाद दाहालले भने, ‘९ वटालाई बचाउन सकियो। १६ वटा मरेछन्।

अरुलाई धपाउन पनि गाह्रै भयो।’ घटनाले गाउँलेलाई अचम्मित पार्नुका साथै दुस्खी बनाएको उनले बताए। ‘गाउँले मिलेर बाँसले बाँदर निकालेका हौं,’ उनले भने, ‘पोखरी बर्खाले आधाआधी भरिएको छ।’ गाउँलेले तत्कालै प्रहरीलाई घटनाको जानकारी गराएको उनले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com