नेपालबाटै वा अमेरिका आएर असाधारण ग्रिनकार्ड आवेदन दिनेलाई १० टिप्स


प्रकाशित मिति : फाल्गुन ३, २०७३ मंगलबार

के तपाई युएससीआईएसमा असाधारण योग्यताका आधारमा नेपालमै बसेर वा अमेरिकामा आएर ग्रिनकार्डका लागि आवेदन दिने योजनामा हुनुहुन्छ ? वा तपाईले आवेदन दिइसक्नुभएको छ ? आवेदन दिंदा, दिनु अगाडि र दिइसकेपछि आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी गिरिजा गौतमले दिनुभएको छ १० टिप्सहरु । यी टिप्सहरु सामान्य सुझावहरु हुन् कानुनी सल्लाहहरु होइनन् । कानुनी सल्लाहको लागि तपाईले गौतमलाई उहाँको कानुनी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

१ एक्स्ट्रा अर्डिनरी अर्थात् असाधारण योग्यताका आधारमा दिइने ग्रिनकार्ड इबीवानका लागि कस्तो व्यक्ति योग्य हुने र आवेदनका आधार के हुने भन्ने विषयमा मापदण्डहरु तोकिएका छन् । १० वटामध्ये तीनवटा मापदण्ड पूरा गर्नुपर्छ, राष्ट्रिय स्तरमा ख्यातीप्राप्त रहेको र अमेरिकामा आइसकेपछि आफ्नै क्षेत्रको कामलाई निरन्तरता दिने आधारहरु पूरा गर्नुपर्छ ।

२ कागजात निकै महत्वपूर्ण हुन्छ । १० वटा मापदण्डमध्ये कुनकुन आफूमा लागु हुनुक्ने हेरेर सबै मापदण्ड पूरा हुने खालका कागजात राखेर अगाडि बढ्नुपर्छ । यस क्षेत्रमा काम गरिरहेका कानुन व्यवसायीहरुसँग सल्लाह गरेर आवश्यक तयारी गर्नुपर्छ । हुनेखालका केसहरुमा प्रयास गर्नुपर्छ ।

३ अमेरिका आइसकेपछि आवेदन दिनेहरुका सन्दर्भमा पी थ्रीमा आउने कलाकारहरु छोटो समयमा आउने भएकाले उनीहरुले भिसा अद्यावधिक छंदै आवेदन दिनुपर्ने भएकाले अलिक हतार गर्नुपर्छ । पी थ्रीमा आएर आवेदन दिंदा नकारात्मक विषयहरु पनि छन् । त्यसले भिसा दिने दूतावासमा पनि नकारात्मक सन्देश जान्छ । यो आवेदन नेपालमा नै बसेर गर्न सकिन्छ भन्ने कुरालाई आवेदकले ध्यानमा राख्नुपर्छ ।

४ भिजिटर भिसामा आउनेले अमेरिका आएको कम्तीमा ६० दिन कुनुपर्ने प्रावधान छ । भिजिटर भिसामा आउनेले ६० दिनभित्र कुनै इमिग्रेशन पिटिसन फाइल गरेमा युएससीआईएसले अमेरिकामा बस्ने आशयका साथ आएको भन्ने कुराको निर्धारण गर्दा भिजिटर भिसाको उल्लंघन हुन्छ । गलत प्रतिनिधित्व भएको ठहर्नुका साथै भिजिटर भिसाको आशय गलत रहेको प्रमाणित हुने भएकाले ६० दिन नाघेपछि र अझ ९० दिन नाघेपछि आवेदन दिनु उपयुक्त हुन्छ ।

५ आवेदकले आफ्नो भिसा कायम रहेकै बखत आवेदन दिनुपर्छ । भिसा एक्सपायर भएपछि आउट अफ स्टेटस हुन्छ । त्यसैले भिसा सकिन लागेको छ भने स्टेटस एड्जस्ट गर्ने आवेदन सहित फाइल गर्नुपर्छ । भिसाको समय बाँकी रहेको अवस्थामा नै पेटिसन फाइल गरेर एड्जस्टमेन्ट फाइल गर्न सकिन्छ । तर भिसा अवधिभित्रै फाइल गर्नुपर्छ ।

६ यदि कसैको भिसा सकिएको छ भने भिसा सकिएको व्यक्तिलाई म आवेदन दिनु उपयुक्त होइन । इबी वानका लागि आवेदन दिनेहरुले भिसा नसकिदै आवेदन दिनुपर्छ ।

७ भिसा कायम छ तर अमेरिका आएको एकबर्षभन्दा लामो समय भइसकेको छ आफ्नो क्षेत्रमा संलग्नता घटेको हुनु हुँदैन । इबी वानमा आफ्नो मुलुकमा आफ्नो फिल्डमा उल्लेखनीय काम गरेको कारणबाट ख्याती कमाएर इबी वानको मापदण्ड पूरा गरेको आधारमा आवेदन दिइन्छ । यदि अमेरिकामा बसेको लामो समय भएको खण्डमा आफ्नो क्षेत्रमा संलग्नता घटेको छ भने र उपलब्धी पूरानो भएको छ भने त्यसले नकारात्मक असर गर्छ । कुनै पत्रकार छ भने अमेरिकामा भएपनि त्यही क्षेत्रमा उपलब्धी भइरहेको छ पत्रकारितमा सकृय भएमा खास असर नपर्ला । तर भिसामात्र अद्यावधिक छ तर त्यो क्षेत्रमा सकृय छैन भने अप्ठ्यारो हुन्छ ।

८ सामान्यता इबीवानमा युएससीआईएको अन्तरवार्ता सामना गर्नु पर्दैन । कुनै कारणबाट अन्तरवार्ता लिएमा आईवान ४० स्वीकृत भएर ग्रिनकार्डका लागि आवेदन दिंदा थप स्पष्ट पार्नुपर्ने भएमा अन्तरवार्ता हुन्छ । तर आईवान ४० का सन्दर्भमा अन्तरवार्ता हुने देखिदैन । तर ग्रिनकार्डका लागि एड्जस्ट गर्दा बोलाउन सक्छन् । हाल युएससीआईएसले अन्तरवार्तामा बोलाउने नयाँ नियम बनाएको छ । 

९ इबी वान फाइल गरिसकेपछि वर्क परमिटबाट फरक क्षेत्रमा काम नगर्नु राम्रो हो । इबी वानको पेटिसनमा आफ्नै क्षेत्रमा काम गर्ने उल्लेख हुन्छ । तर कहिलेकाँही काम गर्नुको कारणबारे चित्तबुझ्दो जवाफ दिन सकिने भएमा अन्य क्षेत्रमा पनि काम गर्न सकिन्छ ।

१० आवेदन दिंदा धेरै हतार नगर्नुहोस् र धेरै ढिलो पनि नगर्नुहोस् । कागजात राम्रोसँग मिलाएर र भिसाको अवधि हेरेर आवेदन दिनुपर्ने भएकाले सकभर कानुन व्यवसायीसँग सल्लाह गर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com