किन हुन्छ, हाइपोथाइराइडिजम


प्रकाशित मिति : श्रावण १०, २०७६ शुक्रबार

शरीरमा आयोडिनको कमी भएमा हाइपोथाइराइडिजम हुने गर्छ । तर, आजकल आयोडिनको कमीका कारण यो समस्या पैदा भएको कमै भेटिएको छ ।

प्रतिरोधी क्षमतामा गडबडी हुनु पनि हाइपोथाइराइडिजमको मुख्य कारण हो । कतिपय समयमा शरीरमा प्रतिरोधी क्षमता आवश्यकभन्दा बढी भएमा समेत त्यसले स्वास्थ्यमा हानि गर्छ । शरीरमा प्रतिरोधी क्षमता बढी भएमा हर्मोनविरुद्ध एन्टिबडी तत्व उत्पादन हुन्छ । उक्त तत्वले हर्मोनको मात्रालाई घटाउँछ । जसले गर्दा घाँटीमा समस्या देखापर्छ ।

थाइराइडको कुनै शल्यक्रिया गरेको मानिसमा पनि हाइपोथाइराइडिजम हुने सम्भावना बढी रहन्छ । उपचारका क्रममा विकिरणको प्रयोग गरिएको छ भने, त्यस्ता व्यक्ति यसबाट बढी प्रभावित हुन्छन् ।

लामो समयसम्म औषधि सेवन गरेमा हाइपोथाइराइडिजमको समस्या हुन्छ । साथै, ज्यादै थोरै प्रतिशतमा उमेर बढ्दै जाँदा पनि यो समस्या भएको पाइन्छ ।

रोकथाम र उपचार

परिवारका कुनै सदस्यमा थाइराइडको समस्या भएमा अरूमा पनि हुने सम्भावना रहन्छ । त्यसैले, समय–समयमा स्वास्थ्य परीक्षण गराइराख्नुपर्छ ।

गर्भवती, प्रतिरोधी क्षमतामा गडबडी भएका अर्थात् थाइराइड हुने सम्भावना भएका व्यक्तिले पनि वेला–वेलामा स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।

हाइपोथाइराइडिजमको उपचार औषधिको प्रयोगबाट गर्न सकिन्छ । त्यस्तै, हर्मोन उत्पादनमा सहयोग गर्ने सप्लिमेन्टको प्रयोगबाट हर्मोन वृद्धि गर्न सकिन्छ ।

डा. नरेश पराजुली, मधुमेह, थाइराइड तथा हर्मोनरोग विशेषज्ञ मनमोहन मेमोरियल अस्पताल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com