ट्याक्स फाइल गर्दा बचौं आईआरएसका ‘डर्टी डोजन’ बाट


प्रकाशित मिति : फाल्गुन २, २०७३ सोमबार

 

आईआरएसले करका सम्बन्धमा हुने १२ वटा गलत गतिविधिलाई ‘डर्टी डोजन’को संज्ञा दिदै आएको छ । यस्ता गतिविधि तीब्र भएका कारण आईआरएसले करदाताहरुको सजगताका लागि ‘डर्टी डोजन’ अर्थात् १२ वटा फोहोरी गतिविधिका बारेमा जानकारी गराउँदै आएको छ । यस्ता छन्, आईआरएसका ‘डर्टी डोजन’ ।
परिचयको चोरी ः करदाताहरुले करसमयको आसपासमा आफ्नो परिचय चोरी हुने सम्भावनाका सन्दर्भमा विशेष ख्याल गर्नुपर्छ । किनभने ट्याक्स फाइलको समयमा तपाईको आईडी वा सोसल सेक्युरिटी अरुले चोरेर दुरुपयोग गर्न सक्छन् । यदि कुनै पनि व्यक्तिले बढी रकम प्राप्त गर्न अरुको सोसल सेक्युरिटी नम्बर प्रयोग गरेर ट्याक्स फाइल गरेको छ भने आइआरएसले त्यस्ता अपराधीहरुको आक्रमक तरिकाले खोजी गरिरहेको छ । वर्तमान अवस्थामा आईआरएसले यसबारे अझ बढी अनुसन्धान र सजगता अपनाएका कारण करदाताहरु अरुको सोसल सेक्युरिटी नम्बर प्रयोग नगर्ने र आफ्नो नम्बर दुरुपयोग हुन नदिन अत्यन्तै होसियार हुन जरुरी छ ।

नक्कली फोन ः आफूलाई आईआरएसका प्रतिनिधि बताउने अपराधीहरुले अहिलेपनि नक्कली फोन गरेर करदाताहरुलाई धम्की दिइरहेका छन् । पछिल्ला बर्षहरुमा त्यस्ता नक्कली फोनकलहरुको संख्या बढिरहेको आईआरएसको रिपोर्टमा जनाईएको छ । अपराधीहरुले व्यक्तिलाई फोन गरेर तुरुन्त रकम नतिरे प्रहरीबाट पक्राउ गराउने, डिपोर्ट गराउने वा लाइन्सेस खारेज गरिदिने धम्की दिदै आएका छन् । त्यस्ता नक्कली फोनकलको शिकार नहुनका लागि सजगता अपनाउन र त्यस्ता फोनकल आएमा आईआरएसलाई रिपोर्ट गर्न जरुरी छ ।

नक्कली इमेल ः करदाताहरु आफूले प्राप्त गर्ने नक्कली इमेलबाट अझ सजग हुन जरुरी छ । किनभने नक्कली इमेल र वेवसाइटको प्रयोग गरेर अपराधीहरुले व्यक्तिको व्यक्तिगत सुचनाहरु चोर्ने प्रयास गरिरहेका हुन्छन् । आईआरएसले कहिलेपनि करदाताहरुलाई बिल वा रिफण्डको बारेमा इमेल गर्दैन । आईआरएस दावी गर्दै पठाइएका इमेलका कुनै पनि लिंकमा क्लिक गर्नुहोला । यदि आफूले थाहा नपाएका स्थानबाट आएका इमेल र वेवसाइटहरु व्यक्तिगत सुचनाहरु चोर्ने माध्यमबाहेक केही होइनन् ।

बेइमान कर फाइल गरिदिने व्यक्ति ः कर फाइल गरिदिने व्यक्ति पनि धेरै बेइमानहरु छन् । त्यस्ता बेइमानबाट सजग हुनुहोस् । अधिकांश ट्याक्स प्रोफेशनलहरुले इमान्दारिताका साथ उच्च प्रकारको सेवा प्रदान गर्छन् । तर केही त्यस्ता ट्याक्स फाइल गरिदिने बेइमानहरु पनि छन्, जसले हरेक ट्याक्स सिजनमा मात्र दोकान थापेर बस्छन् । र नक्कली रिफण्डका लागि नक्कली विवरण भरिदिन्छन् । उनीहरुले करदातामध्ये एउटाको सोसल सेक्युरिटी चोरेर अर्कोमा भरिदिने पनि गर्छन् । त्यसले करदातालाई हानी गर्छ । वैद्य ट्याक्स प्रोफेशनलहरु अमेरिकी कर प्रणालीका मुख्य अंश हुन् ।

विदेशबाट कर छली ः आईआरएसले विदेशबाट करछली गर्नेहरुबिरुद्ध सफलताहरु हासिल गर्दै आएको छ । विदेशमा कम्पनी राखेर रकम लुकाउने र ट्याक्स छली गर्नेहरुबिरुद्ध आईआरएसले अनुसन्धान गरिरहेको छ । त्यसैले त्यसरी करछली गर्ने मनाशाय रहेकाहरु होसियार हुनुपर्ने बेला आएको छ ।

अनुपयुक्त रिटर्न दावी ः करदाताहरु उपयुक्त रकममात्र रिटर्नका रुपमा दावी गर्ने कुरामा सचेत हुनुपर्छ । अनावश्यक र बढी रकम रिटर्नका लागि दावी गर्नका लागि बढाईचढाई विवरणहरु भर्नु हुँदैन । कसैले करदातालाई धेरै रिफण्ड दिलाइदिने भन्दै नभरिएका करका कागजातमा हस्ताक्षर गर्न लगाउँछ भने त्यस्ता कागजातमा हस्ताक्षर गर्नु हुँदैन । अपराधीहरुले फ्लायर, विज्ञापन, फोनकल वा व्यक्तिको सिफारिसमा समेत सोझा करदातालाई शिकार बनाउने प्रयास गरिरहेका हुन्छन् ।

नक्कली परोपकार ः कतिपय परोपकारका नाममा खोलिएका संस्थाहरु नक्कली हुन्छन् । चर्चित परोपकारी संस्थासँग नाममिल्नेगरी खोलिएका त्यस्ता संस्थालाई डोनेशन गर्नु अगाडि विचार गर्नु जरुरी छ । नक्कली परोपकारी संस्थाहरुलाई डोनेशन गर्नु अगाडि एकपटक त्यो संस्था वास्तविक रुपमा नै गैरनाफामुलक र परोपकारी हो कि होइन भन्ने कुराको यकिन गर्नुपर्छ । आईआरएसले कुनै संस्था परोपकारी हो कि होइन भन्ने जाँच्न सकिने टुलको विकाश गरेकाले आईआरएसको वेवसाइटमा गएर जाँच्न सकिन्छ ।

नक्कली डिडक्सन ः करदाताहरुले डिडक्सन अर्थात् घटाइएका रकमहरुका बारेमा सचेतना अपनाउन जरुरी हुन्छ । धेरै रिफण्ड प्राप्त गर्ने लोभमा डिडक्सनको रकम अनावश्यक बढाउँदा आईआरएसको निशानामा पर्ने डर हुन्छ । आफ्नो डिडक्सन रकम भएभन्दा धेरै उल्लेख गर्नु अगाडि कम्तीमा दुईपटक सोंच्नुहोस् । अन्र्ड इन्कम ट्याक्स क्रेडिट वा चाइल्ड ट्याक्स क्रेडिटका रुपमा त्यस्तो दावी गर्नु भन्दा अगाडि आफूले प्रदान गर्ने विवरण सही भए नभएको जाँच्नुपर्छ ।

बिजनेश क्रेडिटका लागि अतिरञ्जित दावी ः अनुपयुक्त तरिकाले इन्धन ट्याक्स क्रेडिटको दावी गर्नु हुँदैन । धेरैजसो करदाताहरुका लागि ट्याक्स बेनिफिट सामान्यतया उपलब्ध हुँदैन । करदाताहरुले रिसर्च क्रेडिटको दुरुपयोगमा पनि ध्यान दिनुपर्छ ।

आम्दानीबारे झुठा विवरण ः अन्र्ड इन्कम ट्याक्स क्रेडिट नस्ता ट्याक्स क्रेडिटका लागि योग्य हुने नाममा आम्दानीको आविश्कार गर्नु हुँदैन । करदाताहरुलाई प्राय नक्कली काम गर्नेहरुले त्यस विषयमा कुराकानी गर्न सक्छन् । करदाताहरुले सकेसम्म सबैभन्दा सही विवरण उपलब्ध गराउनेमा सचेत हुनुपर्छ । किनभने उनीहरुको ट्याक्स फाइलमा करदाताहरु नै कानुनी रुपमा उत्तरदायी हुनुपर्छ । पछि करदाताले जरिवानास्वरुप धेरै रकम तिर्नुपर्ने अवस्था पनि आउन सक्छ । अपराधको अभियोगमा जेल बस्नुपर्ने अवस्था समेत आउनसक्छ ।

कर प्रणालीको दुरुपयोग ः कर तिर्ने कुरालाई कम गर्न कर प्रणालीको दुरुपयोग हुने खालका संरचनाहरु प्रयोग गर्नु हुँदैन । आईआरएसले व्यक्तिलाई विभिन्न प्रलोभनमा बेच्ने ट्याक्सबारेका अफरहरु रोक्न काम गरिरहेका हुन्छ । त्यसैले कसैले शंकास्पद अफर गरेमा करदाताहरुले सजगता अपनाउन जरुरी हुन्छ ।

हास्यास्पद करका तर्क ः करछलीका लागि कर फाइल गर्दा हास्यास्पद र मुर्खतापूर्ण तर्कहरु नगर्नुहोला । कतिपयले करदातालाई अतार्किक र मुर्खतापूर्ण दावीहरु भर्न लगाउनसक्छन् । जबकि त्यस्ता तर्कहरु गलत हुन् र अदालतले कैयन पटक गलत प्रमाणित गरिसकेको छ । मुर्खतापूर्ण तर्ककासाथ कर फाइल गर्दा ५ हजार डलरसम्म जरिवाना हुनसक्छ ।

(आईआरएसको विवरणमा आधारित)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com