२२ लाखको अकबरे खुर्सानी


प्रकाशित मिति : फाल्गुन २, २०७३ सोमबार

तेह्रथुम जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् ।

तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताउनुभयो ।

गतवर्ष गाउँका प्रत्येक परिवारले कम्तीमा एक हजारदेखि पाँच हजार वटा अकबरे खुर्सानीका बिरुवा रोपेका थिए, अध्यक्ष खड्काले भन्नुभयो – “विगतका पुराना बोटसहित गरेर यो वर्ष धेरै परिवारले कम्तीमा रु ३० देखि डेढ लाखसम्मको खुर्सानी बेचेका छन् ।

छोटो समयमा कम मेहनत र सजिलो तरिकाबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि उनीहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुलाई अकबरे खुर्सानीको खेतीबारे तालिम, बीउ अनुदान र व्यावसायिक बन्ने प्रेरणा दलित सचेतना समाज नेपाल नामक गैरसरकारी संस्थाले दिएको हो ।

पहिल्यैदेखि कृषि पेसा अङ्गाल्दै आएका उनीहरु यहाँ खासै अन्नबालीको उत्पादन नभएपनि तरकारी, फलफूल र नगदेबालीबाटै घर खर्च चलाउँदै आएका छन् । यो वर्ष पनि बस्तीका धेरै किसानले गरेको अकबरे खेतीबाटै गुजारा चलाइरहेको अध्यक्ष खड्काले बताउनुभयो ।

आफूले चार रोपनी जमिनमा लगाएको चार हजार बिरुवाबाट यो वर्ष रु एक लाख २० हजार आम्दानी भएको स्थानीय सीता खड्काले बताउनुभयो । गाउँमा सबैले गरेको देखेर मैले पनि यसवर्षबाट थालेकी थिएँ, उहाँले भन्नुभयो – तर पहिलो वर्ष नै राम्रो उत्पादन भयो र आम्दानी पनि भएकाले सन्तुष्ट छु । गाउँका महिलाले घर खर्च, नानीहरुको पढाइ र चाडपर्वसमेत अकबरेकै आम्दानीबाट धान्न थालेको उहाँले बताउनुभयो ।

गाउँमा भएको उत्पादनलाई बजारसम्म पु¥याउन पनि खासै समस्या नभएकाले करेसासम्मै पुगेका सडक भएर शुक्रबारे बजार हुँदै धनकुटाको सिधुवामा पु¥याएर बिक्री गर्ने गरेको कृषक यानादेवी खड्काले बताउनुभयो । यसवर्ष आफूले रु एक लाख ५० हजारको अकबरे खुर्सानी बेचेको उहाँले बताउनुभयो ।

जिल्लामा अलैँची अदुवा र अम्लिसोपछि सबैभन्दा धेरै खेती र आम्दानी हुने नगदेबाली अकबरे खुर्सानी हो । अकबरेबाट बर्सेनि रु सात करोडभन्दा बढी आम्दानी हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com