ट्रम्पको कार्यकाल सुरु भएपछि यसरी गरियो एउटी आमालाई डिपोर्ट


प्रकाशित मिति : माघ २९, २०७३ शनिबार

अपराध गरेका कागजपत्रबिहिनहरुलाई मात्र देशनिकाला गर्ने भनिएपनि एउटी कागजपत्रबिहिन आमालाई बिहिबार अमेरिकाबाट देशनिकाला गरिएको छ । उनका दुईजना बच्चा अमेरिकामा नै जन्मिएका अमेरिकी नागरिकहरु हुन् भने ती आमा १४ बर्षको बाल्यकालमा नै अमेरिकामा आएकी थिइन् ।

बर्षौ अगाडि अमेरिका आएर अमेरिकामा नै बच्चा जन्माएकी अमेरिकी नागरिककी ति आमा कागजपत्रबिहिन थिइन् । उनी आफ्ना बच्चाहरुका साथमा एरिजोनाको फोनिक्समा बस्दै आएकी थिइन् ।

आठबर्ष अगाडि जतिबेला अमेरिकामा रिपब्लिकन राष्ट्रपतिको कार्यकाल थियो । एकदिन अचानक सरकारी अधिकारीहरु ग्रासिया नामकी ती आमाको ढोका ढक्ढाकाउन आइपुगे । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका ती अधिकारीहरुले उनलाई पक्राउ गरे र महिनौं जेलमा राखे । त्यसपछि उनलाई अमेरिकाबाट देशनिकाला गर्ने निर्णय भयो । पछि ग्रासियाले अपिल गरेपछि उनलाई अमेरिकामा नै उनका बच्चाहरुका साथमा बस्न अनुमति दिइयो ।

उनलाई पहिले बर्षको एकपटक र पछि हरेक ६ महिनामा एकपटक अध्यागमन अधिकारीहरुसमक्ष हाजिर हुने निर्देशनका साथ छाडियो । उनी हरेक बर्ष अध्यागमन अधिकारीहरुसमक्ष हाजिर भइरहिन् । अध्यागमन अधिकारीहरुले उनलाई पनि उनलाई अमेरिकामा बस्न दिइरहे ।

तर यो बर्ष भने पहिले जस्तो भएन । जब यो बर्ष ग्रासिया इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको अफिसमा हाजिर हुन गइन्, उनलाई तुरुन्तै पक्राउ गरेर जेल हालियो । त्यसपछि उनलाई अमेरिकाबाट देश निकाला गरेर मेक्सिको फिर्ता पठाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि तारेखमा हाजिर हुन गएकी कागजपत्रबिहिनलाई पक्राउ गरेर देशनिकाला गरिएको सम्भवत यो पहिलो घटना हो ।

ग्रासियाका दुईजना बच्चाहरु अमेरिकन भएपनि अब उनी अमेरिकामा छै्निन् । अमेरिकाबाट देशनिकाला भइसकेकी छिन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले पनि एक बक्तब्यमार्फत बिहिबार विहान ग्रासियालाई अमेरिकाबाट देशनिकाला गरेर मेक्सिको फिर्ता पठाइएको पुष्टी गरेको छ ।

ग्रासियाको रिहाईको माग गर्दै उनका दुईजना बच्चासहित झण्डै दुईसय जनाले बुधबार प्रदर्शन गरेका थिए । तर पनि ग्रासियालाई उनको परिवारबाट छुटाएर देशनिकाला गरिएको छ । प्रदर्शनकारीहरुले ग्रासियालाई राखिएको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको भ्यान केहीबेर अबरुद्ध समेत गरेका थिए ।

फोनिक्सका मेयरले ग्रासियालाई देशनिकाला गर्नु ठूलो गल्ती भएको बताएका छन् । उनी शान्तिपूर्ण तरिकाले परिवारका साथमा बस्दै र काम गर्दै आएकी थिइन् । उनी कुनै ठूलो अपराधमा पनि संलग्न थिइनन् । तर पनि उनलाई उनको परिवारबाट अलग्याइएको छ ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका अधिकारीहरुले ग्रासियालाई अध्यागमन अदालतको फैसला अनुशार पक्राउ गरिएको बताएका थिए ।

अर्कैको सोसल सेक्युरिटी नम्बर प्रयोग गरेर काम गर्न खोज्दा उनलाई अरुको परिचय चोरेको अभियोग थियो । अमेरिकामा सोसल सेक्युरिटी नम्बर र आईडी कार्डको गैरकानुनी किनबेच समेत हुँदै आएको छ । कागजपत्रबिहिनहरुले त्यस्ता नम्बर र आईडी किनेर काम गर्न खोज्दा ग्रासिया जस्तै फस्ने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com