नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०१९ भव्यतापूर्वक सम्पन्न


प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार

नेपाल अमेरिका फिल्म सोसाइटीले वासिङ्टन डीसी महानगर क्षेत्र अन्तर्गत म्यारिल्याण्ड राज्यमा यहि जुन २८ ,२९ र ३० सम्म आयोजना गरेको तेश्रो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ । बिनोद पौडेलद्वारा निर्देशित ‘बुलबुल’ चलचित्रको प्रदर्शनबाट सुरु भएको महोत्सव प्रविन स्याङ्ग्बोद्वारा निर्देशित चलचित्र ‘कथा’७२’ बाट समापन भएको थियो ।

चलचित्र महोत्सवमा नेपाल लगायत विभिन्न देशका ३४ वटा चलचित्र प्रदर्शन भएका थिए । उद्घाटन र समापन एएफआइ शिल्भरमा सम्पन्न भएको थियो भने नियमित प्रदर्शन रेगल सिनेमासंगको सहकार्यमा ह्याट्सभिल म्यारिल्याण्डमा भएको थियो । चलचित्र प्रदर्शनका साथै म्यारिल्याण्ड पार्क्स तथा प्लनिङ्ग कमिसनसंगको सहकार्यमा प्रत्येक दिन सिनेमाबारे छलफल तथा चिया गफ सम्पन्न भएको थियो ।

चलचित्र महोत्सव अवधिमा प्रदर्शन भएका विभिन्न विधाका चलचित्रहरुलाई भर्खरै फ्रान्समा आयोजना भएको फिल्म फेस्टिवलमा अर्को फिल्म बनाउन ६० हजार पुरस्कार जितेका मिन बहादुर भामको अध्यक्षतामा रहेको ‘ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामानत़े र एमी अवार्ड विजेता तथा लेखक/निर्मात्री मिमि मचाडो लुसेस् सहितको ३ सदस्यीय निर्णायक मण्डलले ११ वटा विधामा पुरस्कारको घोषणा गरेका थिए ।

प्रतिष्पर्धामा रहेका चलचित्रहरु मध्येबाट कथानक तर्फ बंगलादेशका तउक्वीर अहमदले निर्देशन गरेको ‘फागुन हवे’ले बेस्ट फिल्म फिचर अवार्ड,युकी काङले निर्देशन गरेको फिल्म ‘अ लिटल विस्डम’ बेस्ट डकुमेन्ट्री र इरानका मोहम्मद बक्सीले निर्देशन गरेको ‘आर यु भलिबल”बेस्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भए । उद्घाटन समारोहमा प्रदर्शन गरिएको चलचित्र ‘बुलबुल ‘ र समापन समारोहमा देखिएको चलचित्र ‘कथा’७२’ भने प्रतिष्पर्धामा थिएनन् । महोत्सवमा ग्लोबल पीस फिल्म फेस्टिवल फ्लोरिडाको साइडबारका रुपमा २ वटा चलचित्रहरु प्रदर्शनमा थिए ।

अमेरिकाको लागि नेपाली राजदुत डा अर्जुन कार्कीले डम्फु बजाएर उद्घाटन भएको महोत्सवमा मेरील्यान्ड फिल्म अफिसका निर्देशक ज्याक गेर्वेस, महावाणिज्यदुत प्रेमराजा महत, म्यारिल्याण्ड राज्यको मन्टगमरी काउन्टिका काउन्सिल सदस्य टम हकर लगायत नेपाली सामुदायिक नेतृत्वहरु उपस्थित थिए । चलचित्र महोत्सवको समापन मन्तव्यका लागि भने म्यारिल्याण्ड राज्यका डेलिगेट एचबी ह्यारी भण्डारी उपस्थित थिए ।

नेपालका वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बा महोत्सवको सम्मानार्थ अध्यक्ष रहेका थिए । नेपाल समुदायले नेतृत्व गरेको नर्थ अमेरिका कै ठुलो चलचित्र महोत्सव बन्न सक्ने महोत्सवमा उपस्थित चलचित्रकर्मी तथा व्यक्तित्वहरुले चर्चा गरेका छन् ।

पुरस्कृत चलचित्रहरु:-

१ कथानक तर्फ उत्कृष्ठ – फागुन हावे -निर्देशक, तौकिर अहमद

२ स्पेसल मेन्सन- पोर ग्रेग ड्रौनिंग-निर्देशक,जेफ्रे स्कट कोलिन

३ ग्रान्ड जुरी अवार्ड -अवशेष-निर्देशक, मनोजबाबु पन्त

४ उत्कृष्ठ डकुमेन्ट्री- अ लिटल विस्डम -निर्देशक,युकी काङ

५ स्पेसल मेन्सन- टहरा- निर्देशक,दीपक तोलंगे

६ उत्कृष्ठ सर्ट फिल्म अवार्ड- अर यु भलिबल ?-निर्देशक,मोहम्मद बक्सी

७ स्पेसल मेन्सन-सुपर मोंक-निर्देशक, श्रेनांग ग्याम्जो तामाङ्ग

८ स्पेसल मेन्सन-तातिनी- निर्देशक, अविनाशबिक्रम शाह

९ डिएमभी एप्रिसिएसन अवार्ड- डाक्टर सि-निर्देशक, स्टेन्ली प्रेस्टन

१० स्पेसल मेन्सन-फाइव अक्लक श्याड़ो- निर्देशक, संगीता अग्रवाल

११ स्पेसल मेन्सन- ब्यालेट एफ्टर डार्क- निर्देशक, बारबारा के असारे बिडियाको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com