अमेरिकामा हुने एनआरएन क्षेत्रीय सम्मेलनको तयारी तीब्र, एनआरएनएका लक्ष्य पुनरावलोकन गर्न जरुरी


प्रकाशित मिति : श्रावण २६, २०७३ बुधबार

आगामी अगस्त २७ र २८ तारिख अमेरिकाको न्युजर्सीमा हुने एनआरएनएको नवौ क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको न्युयोर्कमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको छ । एनआरएनए आईसीसीले गर्ने सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमासंचालन समितिका संयोजक तथा एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले सम्मेलन सफलताका लागि सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो ।

एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र महासचिव तिलक श्रेष्ठले सम्मेलन सफल बनाउन तयारी तीब्र पारिएको जानकारी दिनुभयो । सम्मेलनको मूल नारा एनआरएनए भिजन २०२० एण्ड बियोण्ड रहेको छ । एनआरएनए आईसीसी अध्यक्ष शेष घलेले एनआरएन संगठनको पुननिर्माण र पुनसंरचना जरुरी भएको बताउदै आउनुभएकोमा त्यही मर्म अनुशार सम्मेलनको मूल नारा तय गरिएको पत्रकार भेटघाटमा जानकारी दिइयो ।

अमेरिकामा हुँदै गरेको क्षेत्रीय सम्मेलनमा म एनआरएनएमा सुधारको विषयलाई बढावा दिन चाहन्छु । कैयन मान्छेहरुलाई परिवर्तन मन नपर्न सक्छ । त्यसैले सुधार र पुनर्सरचनाको काम निकै गाह्रो छ । संस्थाभित्रको सुधार मेरा लागि निकै ठूलो चुनौती हो । आशाा छ, त्यो सुधारका लागि साथीहरुले साथ दिनुहुनेछ । नेपालको सच्चा साझेदार बन्नका लागि हाम्रा उद्देश्यहरुमा परिवर्तन ल्याउन जरुरी छ । कतिपय ठाउँमा हटाउन पर्ने कुराहरुलाई हटाउन जरुरी छ । परिवर्तन गर्नुपर्ने कुराहरुलाई परिवर्तन गर्न जरुरी छ । थप्न पर्ने कुराहरुलाई थप्न जरुरी छ । १५ बर्ष अगाडि तय गरिएका कतिपय लक्ष्य पूरा भइसकेका छन् । पूरा भइसकेका लक्ष्यलाई टिकमार्क गरेर अर्को स्टेपमा अगाडि बढ्न जरुरी छ । अब एनआरएनएका लक्ष्यहरु पुनरावलोकन गर्न जरुरी छ ।  – शेष घले, अध्यक्ष, एनआरएनए

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामाको संयोजकत्वमा १४ सदस्यीय संचालन समिति र २० वटा अन्य उपसमितिहरु गठन गरिएको नवौं क्षेत्रीय सम्मेलन आयोजक समितिका तर्फबाट जारी वक्तब्यमा जनाइएको छ । सम्मेलनका लागि विभिन्न व्यक्ति र संस्थाबाट झण्डै २ लाख अमेरिकी डलरको स्पोन्सर र सहयोगको प्रतिबद्धता आइसकेको साथै सम्मेलन सम्पन्न गर्नका लागि अनुमानित खर्च १ लाख अमेरिकी डलर रहेको पत्रकार भेटघाटमा जानकारी दिइएको थियो । सम्मेलनमा विश्वका ७३ देशबाट एनआरएन आईसीसी पदाधिकारीहरु, संरक्षक, सल्लाहकार, एनआरएन एनसीसीका पदाधिकारीहरु, विभिन्न कमिटिका पदाधिकारीहरु, पर्यवेक्षक र सरकारी एवं गैरसरकारी क्षेत्रका अधिकारीहरुको सहभागिता रहनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com