नेपालमा मनाइदै यौनिक अल्पसंख्यक गौरवको महिना, समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग


प्रकाशित मिति : असार १४, २०७६ शनिबार

जुन महिनालाई यौनिक र लैंगिक अल्पसंख्यकहरुले गौरवको महिनाका रुपमा मनाउने गर्छन् । विश्वभर गौरवको महिना मनाइरहँदा नेपालमा रहेका यौनिक र लैंगिक अल्पसंख्यकहरुले पनि विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।

शनिबार काठमाडौंको माइतिघर मण्डलाबाट निकालिएको परेडमा समलिंगी तथा तेश्रोलिंगी लगायतका यौनिक अल्पसंख्यकहरुका सन्दर्भमा संविधानमा सुनिश्चित गरिएका अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्न माग गरिएको छ । साथै समलिंगी विवाहलाई कानुनी मान्यता दिन र राज्यका प्रत्येक निकायमा आरक्षणको मा समेत गरिएको छ ।

परेडमा पुगेका खसोखास फोटोग्राफर दीपेन्द्र ढुंगानाले खिचेका केही तस्वीरहरु ।

लैंगिक अल्पसंख्यकहरुमा समलिंगी, दुईलिंगी, अन्तरलिंगी, तेश्रोलिंगी लगायत पर्दछन् । समलिंगी भन्नाले पुरुषप्रति शारिरिक, भावनात्मकरुपमा र आत्मीयरुपमा आकर्षित हुने पुरुष वा महिलाप्रति शारिरिक, भावनात्मकरुपमा र आत्मीयरुपमा आकर्षित हुने महिलालाई बुझाउँछ । सामान्यता पुरुषलाई गे र महिलालाई लेस्बीयन शब्दले बुझाउने गरिन्छ ।

त्यस्तै दुईलिंगी भन्नाले पुरुष र महिला दुबैप्रति शारिरिक, भावनात्मकरुपमा र आत्मीयरुपमा आकर्षित हुने पुरुष वा महिलालाई बुझाउँछ । जसलाई बाइसेक्सुअल पनि भनिन्छ । अन्तरलिंगी भन्नाले शारिरिक रुपमा नै जन्मजात पुरुष र महिलाको अंग मिसिएर विकशित भएकोलाई बुझाउँछ । अर्थात् कुनै अंग पुरुषको रुपमा विकशित भएको हुन्छ भने कुनै अंग महिलाको रुपमा विकशित भएको हुन्छ । जसलाई इन्टरसेक्सुअल पनि भनिन्छ ।

तेश्रो लिंगी भन्नाले जन्मदा जुन लिंगका रुपमा पहिचान प्रदान गरिएको थियो त्यो भन्दा फरक लिंगको पहिचान भएका व्यक्तिलाई तेश्रो लिंगी भनिन्छ । तेश्रो लिंगी हुनेको कुनै विशिष्ट वा छुट्टै यौनिक चाहना नहुनसक्छ । उनीहरुले आफूलाई स्ट्रेट, गे, लेस्बीयन वा बाइसेक्युअलका रुपमा समेत परिचित गराउन सक्छन् ।

सुरुमा एलजीबीटीमात्र शब्द प्रयोग गरिदै आएपनि हाल एलजीबीटीक्यूए समेत प्रयोग गरिदै आएको छ । क्युको अर्थ क्वेर हुन्छ । क्वेरले समलिंगी, दुईलिंगी, अन्तरलिंगी, तेश्रोलिंगीमा परेका वा नपरेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई जनाउँछ । क्वीलाई क्वेश्चनिंग अर्थात् आफ्नो लिंगीय पहिचान गर्न नसक्दा त्यसबारे प्रश्न सोधिरहेको व्यक्तिलाई प्रतिनिधित्वका लागि समेत प्रयोग गरिन्छ ।

त्यस्तै एको अर्थ एलाइ अर्थात् मित्र भन्ने हुन्छ । खासगरी लैगिक तथा यौनिक अल्पसंख्यकमा नरहेका तर उनीहरुको अधिकारको लागि आवाज उठाउने र साथ दिनेहरुलाई एलाइका रुपमा परिभाषित गरिएको छ । त्यस्तै ए अक्षर असेक्सुअललाई प्रतिनिधित्व गर्न पनि प्रयोग गरिन्छ । असेक्सुअल भन्नाले कुनै पनि यौनिक चाहना नरहेको भन्ने बुझाउँछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com