ट्रम्प प्रशासनकै नीतिबिरुद्ध एसाइलम अफिसरहरु, अदालतमा पेश गरे ३७ पेजको ब्याख्या


प्रकाशित मिति : असार ११, २०७६ बुधबार

अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम गर्नेलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाउने नीतिको निरन्तरतामा रोक लगाउन अमेरिकी एसइालम अफिसरहरुले नै संघीय पुनरावेदन अदालतलाई उत्पे्ररित गरेका छन् । नीति कार्यान्वयनका लागि निर्देशन प्राप्त गरेका एसाइलम अफिसरले नै यो नीतिले आप्रवासीहरुलाई जोखिममा पारेर र आधारभूत रुपमा नै अमेरिकाको मूल्य मान्यता विपरित रहेको बताएका छन् ।

एसाइलम अफिसरहरुले नेतृत्व गरेको लेबर युनियनका तर्फबाट अदालतमा फाइल गरिएको ब्याख्यामा उक्त विषय समावेश गरिएको हो । अमेरिकन सिभिल लिबर्टी युनियन र अन्य समुहहरुले एसाइलम आवेदकलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिकोमा फिर्ता पठाउने नीतिबिरुद्ध अदालतमा दायर गरिएको मुद्दाको समर्थनमा उक्त ब्याख्या पेश गरिएको हो । ट्रम्प प्रशासनको यो नीतिका कारण जनवरी यता झण्डै १२ हजार आप्रवासीहरुलाई मेक्सिको फिर्ता पठाइसकिएको छ ।

अदालतमा पेश गरिएको ब्याख्यामा मेक्सिको फर्काउने नीति एसाइलम खोज्ने र शरणार्थीका रुपमा आउनेहरुलाई उनीहरुको देशमा उत्पीडनबाट बच्नका लागि अमेरिकाले अभ्यास गर्दै आएको तरिकाको बिरुद्धमा रहेको उल्लेख छ । १७ औं शताब्दीमा तीर्थयात्रीहरुको आगमनसँगै अमेरिकाले आफ्नो स्थापना अगाडि देखि नै आफूलाई सुरक्षित स्थानका रुपमा स्थापित गर्दै आएको उल्लेख गर्दै सपथ लिएका सरकारी अधिकारीलाई अन्तर्राष्ट्रिय तथा संघीय कानुनको उल्लंघनका लागि ट्रम्प प्रशासनबाट बाध्य पारिएको ब्याख्यामा जनाइएको छ ।

अमेरिकी सरकारका लागि एसाइलम वा शरणार्थी अधिकारी बन्नका लागि निर्णय गर्ने बेलामा प्रतिबद्धता नजनाइएका विषयमा काम गर्न एसाइलम अधिकारीहरुलाई बाध्य पारिएको समेत अदालतमा पेश गरिएको ब्याख्यामा जनाइएको छ । सरकारी कर्मचारीको फेडेरेशनका तर्फबाट पेश गरिएको ३७ पृष्ठ लामो ब्याख्यामा एसाइलम खोज्नेहरुलाई उत्पीडनबाट बचाउनका लागि एसाइलम अफिसरहरु नियुक्त भएको समेत जनाइएको छ । यो फेडेरशनमा एसाइलम अफिसरहरुसहित २५ सय संघीय कर्मचारीहरु आबद्ध रहेका छन् ।

ट्रम्प प्रशासनमा एसाइलम विभागलाई अहिले निशानामा पारिएको छ । कैयन एसाइलमका मुद्दाहरुमा पारम्भिक जाँचबुझबाट छनौट गरेर अध्यागमन अदालतमा पूर्ण सुनुवाईका लागि पठाइएको भन्दै एसाइलम विभागको ट्रम्प प्रशासनका हार्डलाइनरहरुले नै विरोध गरेका छन् । गतसातामात्रै युएससीआईएसका कार्यकारी निर्देशक केन कुसिनेलीले एसाइलम अफिसरहरुलाई इमेल लेख्दै प्रारम्भिक जाँचबुझमा धेरैको एसाइलम स्वीकृत गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com