आजदेखि ९ महिना लम्बियो नेपालको टीपीएस, कस्ले फाइल गर्ने ? कस्ले नगर्ने ?


प्रकाशित मिति : असार ९, २०७६ सोमबार

अमेरिकी सरकारले नेपालका गएको महाभूकम्पपछि अमेरिकामा बस्ने नेपालीहरुलाई प्रदान गर्दै आएको टीपीएसको सुविधा आजदेखि थप ९ महिना लम्बिएको छ । अमेरिकी सरकारले जुन २४, २०१९ सम्ममात्र नेपालको टीपीएस कायम गरेकोमा नेपालको टीपीएस लम्बाउन अदालतमा मुद्दा परेपछि सरकारले मार्च २४, २०२० सम्मका लागि बढाएको हो ।

जुन २४, २०१९ सम्म टीपीएस कायम रहेकाहरुले र एकपटक रि रजिस्ट्रेशन गरेकाहरुले टीपीएस लम्बाउनका लागि कुनै पनि आवेदन फाइल गर्न नपर्ने जनाइएको छ । तर दुईपटक रि रजिस्ट्रेशन अवधि खुल्दा एकपटक पनि रि रजिस्ट्रेन नगरेकाहरुले भने सन् २०२० को मार्च २४ सम्म टीपीएस कायम राख्नका लागि बिलम्ब रि रजिस्ट्रेशन गर्नुपर्ने युएससीआईएसले जनाएको छ ।

टीपीएस स्वत ९ महिनाका लागि लम्बिने भएपनि मार्च २०, २०२० सम्मको म्याद भएको वर्क परमिट चाहनेहरुले भने तोकिएको शुल्क तिरेर वर्क परमिटका लागि आवेदन दिन सक्नेछन् । तर वर्क परमिटका लागि आवेदन नदिनेहरुको वर्क परमिट पनि स्वत लम्बिने भएपनि फेडरल रजिस्टरमा प्रकाशित सुचना बोकेर हिड्नुपर्ने झन्झट हुनसक्छ ।

सरकारका कतिपय निकायका कर्मचारीहरुले फेडरल रजिस्टरको सुचना नबुझ्ने वा त्यसबारे अमेरिकाको संघीय सरकारबाट उचित सर्कुलर हुन नसक्दा झन्झट समेत हुनसक्ने भएकाले मार्च २०, २०२० सम्मकै वर्क परमिट प्राप्त गर्न आवेदन दिन उचित हुने कानुन व्यवसायीहरुको सुझाव छ ।

टीपीएसको लम्बिएको अवधिमा स्टाटस एड्जस्ट गर्न टीपीएसवाहकलाई सहज हुनसक्नेछ । टीपीएसमा जानु अगाडि गैर कानुनी उपस्थीति नभएकाहरुले लेबर सर्टिफिकेशन वा अन्य तरिकाबाट ग्रिनकार्डको प्रकृयामा जानसक्छन् । त्यस्तै टीपीएसमा जानुअगाडि अमेरिका आएको एकबर्ष नपुगेकाहरुले एसाइलमको आवेदन समेत दिनसक्छन् ।

एसाइलम केस बन्द भएका र टीपीएसमा एड्भान्स परोल लिएर अमेरिकाबाहिर गएर आएका कतिपयले समेत ग्रिनकार्ड प्राप्त गर्न सफल भएका छन् । अमेरिकामा टीपीएसवाहक नेपालीहरु झण्डै ९ हजारको हाराहारीमा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com