आइसले अध्यागमन छापा सुरु गर्न लागेको भन्दै अमेरिकाभर आतंक, कुन मिडियाले के भने ?


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिनहरुलाई देशनिकाला गर्नका लागि अमेरिकाका विभिन्न १० शहरमा छापामार्न लागेको भन्दै अमेरिकाभर आतंक फैलिएको छ । अमेरिकी मुलधारका संचारमाध्यमहरुले यो खबरलाई निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

मायामी हेराल्डले आइसको छापा मायामीबाट सुरु हुने अपेक्षा गरिएको भन्दै समाचार प्रकाशित गरेको छ । मायामी, एटलान्टा, शिकागो, बाल्टिमोर, डेनभर, ह्युस्टन, लस एन्जलस, न्यु ओर्लियान्स, न्युयोर्क र सान फ्रान्सिस्कोमा आइसले निशाना बनाएको दावी गरिएको छ ।

आइसले कागजपत्रविहिन परिवारहरुलाई निशाना बनाउने समाचारहरु आइरहँदा आइसका कार्यकारी निर्देशक मार्क मोर्गनले आफूहरुलाई परिवारलाई निशाना बनाउने नभई कानुनको कार्यान्वउन गर्न लागेको बताएका छन् । गत फरबरीमा आइसले झण्डै २ हजार कागजपत्रविहिनहरुलाई मुलुक छाड्न वा इमिग्रेशन निकायमा रिपोर्ट गर्न निर्देशन सहित पत्र पठाएको थियो । तर उनीहरु देखा नपरेपछि छापामार्नुको विकल्प नरहेको आइसका कार्यकारी निर्देशकको भनाई छ ।

त्यस्तै सीएनएनले आइतबार १० शहरमा छापामार्नका लागि आइस तयारी अवस्थामा रहेको समाचार प्रकाशित गरेको छ । सीएनएनले पनि एटलान्टा, बाल्टिमोर, शिकागो, डेनभर, ह्युस्टन, लस एन्जलस, मायामी, न्युयोर्क, न्यु ओर्लियान्स र सान फ्रान्सिस्कोमा छापामार्ने तयारी भएको दावी गरेको छ ।

लस एन्जलस टाइम्सले दक्षिणी क्यालिफोर्नियाका १४० जनासहित २ हजारलाई आइसले निशाना बनाएको समाचार प्रकाशित गरेको छ । लस एन्जलस प्रहरी प्रमुख माइकल मुरलाई उद्धृत गर्दै दक्षिणी क्यालिफोर्नियाका १४० सहित कागजपत्रविहिनहरुलाई देशनिकालाका लागि पक्राउ गर्न खोजिएको र त्यसमा प्रहरीले कुनै सहयोग नगर्ने बताएको समाचार प्रकाशित गरिएको छ ।

त्यस्तै शिकागोबासीहरु अध्यागमन छापाका लागि तयार भएको शिकागो ट्राइब्युनले समाचार लेखेको छ । शिकागो सिटीका अधिकारी र सामुदायिक कार्यकर्ताहरुले आप्रवासीहरुलाई सहयोगका लागि अभियानहरु चलाएका छन् ।

डेनभरका प्रहरी र मेयरले आइसको छापामा कुनै सहयोग नगर्ने बताएको डेनभरपोष्टले समाचार प्रकाशित गरेको छ । डेनभरमा आइसले छापामार्दै गरेकोबारे आफूलाई कुनै पूर्व जानकारी नभएको तर यस्ता छापामा आफूहरुले कुनै सहयोग नगर्ने डेनभरको प्रहरी विभागले विज्ञप्तीमार्फत जनाएको छ ।

न्युयोर्क डेली न्युज, वासिंटन पोष्ट, एनबीसी, रोयटर्स लगायतका कैयन संचारमाध्यममाले पनि आइसको संभावित छापाबारे समाचार प्रकाशित गरेका छन् ।

आइसका अधिकारीहरु तपाईको घरको ढोका ढकढकाउन आएमा के गर्ने ? पढ्नुहोस् टिप्सहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com