मेक्सिको बोर्डरमा समातिने नेपालीलाई रिहा हुन अब पहिलेजस्तो सजिलो छैन – कानुन व्यवसायी


प्रकाशित मिति : माघ २५, २०७३ मंगलबार

 बासु फूलारा, कानुन व्यवसायी

अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउने ट्रम्पको कार्यकारी आदेशको थप व्याख्या गरिदिनुहुन्छ कि ?

अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो कार्यकारी आदेश सिमा सुरक्षाका लागि हो । यसको मुख्य बुंदा अमेरिकासँगको मेक्सिकन बोर्डरमा पर्खाल लगाउने हो । किनभने कुनैपनि मुलुक सिमा बिनाको हुँदैन । राष्ट्रिय सुरक्षाका हिसाबले मुलुकका लागि सिमा महत्वपूर्ण विषय हो । यही कुरालाई ध्यानमा राखेर अमेरिकाको खुकुलो बोर्डरमा पर्खाल लगाएर गैरकानुनी रुपमा सिमा पार गर्ने क्रमलाई रोक्ने अमेरिकाको नीति हो । यस सन्दर्भमा अमेरिकाले गैरकानुनी रुपमा सिमा पार गरेर लाखौं व्यक्तिले अमेरिकाको अध्यागमन सुविधा अनुचित तरिकाले लिइरहेको सन्दर्भमा त्यसलाई रोक्ने नीति बनाएको छ ।

यो भएपछि गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने क्रम कम हुनेछ । सिमाको सुरक्षाको सन्दर्भमा सिमा सुरक्षा अधिकारीहरुको संख्या बढाउने, सेन्टरहरु थप्ने, डिपोर्ट सेन्टरहरु बढाउने लगायतको विषय समावेश छ । कागजपत्रविहिन सबैलाई एकैपटक देशनिकाला गर्ने नीति होइन । तर प्राथमिकताका आधारमा देशनिकाला गर्ने ट्रम्प प्रशासनको नीति छ । अपराध गरेर पनि अमेरिकामा लुकेर बसेकाहरु, समाज र मुलुकका लागि खतरा रहेकाहरुलाई देशनिकाला गर्ने प्रावधानलाई यो आदेशले अगाडि सारेको छ । आदेशको मुख्य विशेषता नै त्यही हो ।

पहिले क्याच एण्ड रिलिजको अवस्था थियो । अब के हुन्छ ?

सिमा क्षेत्रबाट गैरकानुनीरुपमा आउनेहरुको सन्दर्भमा क्याच एण्ड रिलिज अर्थात् गिरफ्तार र रिहाको अवस्था थियो । सिमाक्षेत्रबाट गैरकानुनी रुपमा आउनेहरुलाई पहिले नियन्त्रणमा लिने र पछि मानवीय पृष्ठभूमीका आरमा छाडिने गरिदै आएको थियो । गैरकानुनी रुपमा सिमा पार गरेको व्यक्तिले गलत तरिकाले फाइदा लिन खोज्ने अवस्था रहेको थियो । एसाइलम वा अन्य सुविधाका लागि आवेदन दिएपछि उनीहरुलाई जमानतामा छोडिदै आएको थियो । तर कार्यकारी आदेशले यो सिद्धान्तलाई पनि अन्त्य गर्न खोजेको छ । गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुलाई डिटेन्सनमा राखेर डिपोर्ट गर्ने प्रकृयालाई प्रोत्साहन गर्नेछ ।

यो कार्यकारी आदेशले नेपालीहरुलाई कत्तिको असर पार्छ ?

गैरकानुनी रुपमा सिमा पार गरेर आउने नेपालीहरुलाई यो आदेशले पूरै असर गर्नेछ । सबै नियम लागु भइसकेपछि नेपालीहरुलाई गैरकानुनी रुपमा अमेरिका छिर्न गाह्रो हुनेछ । असाध्यै असाधारण अवस्थामा बाहेक अन्य अवस्थामा व्यक्तिलाई रिहा नगर्ने नयाँ सिद्धान्तले नेपालीहरुलाई पनि असर गर्नेछ । पक्राउ परेर छुटिसकेका व्यक्तिको सन्दर्भमा भने खास असर गर्दैन । किनभने त्यसपछि मुद्दा अदालती प्रकृयामा गएको हुन्छ । अदालतमा मुद्दा चलेको अवस्थामा कानुनी प्रकृया पूराएरमात्र देशनिकाला गर्ने कि अमेरिकामा बस्न दिने भन्ने कुराको निर्धारण हुन्छ । गैरकानुनी रुपमा अमेरिका छिरेर अपराध गरेका वा डिपोर्टको फैसला भइसकेका नेपालीहरुको सन्दर्भमा भने असर पार्छ । टीपीएस लिएको अवस्थामा , अदालतमा मुद्दा रहेको अवस्थामा सिधै देशनिकाला गरिदैन ।

पहिले धेरै नेपालीहरु सिमा क्षेत्रमा समातिने धेरै तर देशनिकाला हुने थोरै थिए । अब के होला ?

अझै पनि गैरकानुनी रुपमा सिमा पार गर्न प्रयास गर्ने हो भने उनीहरु देशनिकालामा पर्ने उच्च सम्भावना रहेको छ । धेरै समातिने तर थोरै डिपोर्ट हुने अवस्थाको अन्त्य भएर धेरै समातिने र धेरै डिपोर्ट हुने अवस्था सृजना गरिदैछ । सिमा क्षेत्रमा समातिनेहरुलाई धेरैभन्दा धेरै देशनिकाला गर्ने योजनामा छ ट्रम्प प्रशासन ।

अहिलेको सन्दर्भमा नेपालीहरुलाई अमेरिकाबाहिर जान र आउन कत्तिको जोखिम छ ?

ग्रिनकार्ड भएकाहरु वा अन्य भिसामा रहेकाहरुले यात्रा गर्दा कानुनी रुपमा रोकतोक छैन । कसैले एड्भान्स परोल पाइसकेको छ र यात्रा गर्ने योजना बनाएको छ भने उनीहरुलाई यात्रा नगर्न मैले सुझाव दिएको छैन । तर परिवर्तित सन्दर्भमा यसबारे कानुन व्यवसायीसँग सल्लाह गर्न उपयुक्त हुन्छ ।

खसोखासमा अमेरिकाब्यूरोबाट प्रकाशित सामाग्री अन्य संचारमाध्यममा हुबहु साभार गर्नु अगाडि अनुमति लिनु अनिवार्य छ । अनुमतिका लागि [email protected] मा सम्पर्क गर्नुहोला । रिपोर्टका अंशहरु साभार गर्दा श्रोत खुलाउनु अनिवार्य छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com