आइतबारदेखि अमेरिकाका १० शहरमा अध्यागमन छापा मार्दै आइस, निशानामा २ हजार


प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार

आइतबारदेखि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अमेरिकाका विभिन्न १० शहरमा अध्यागमन छापामार्ने भएको छ । एकजना बरिष्ठ अध्यागमन अधिकारीका अनुशार राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट कागजपत्रविहिनलाई देशनिकाला गर्ने ट्वीट गरे लगत्तै आइसले त्यस्तो योजना बनाएको हो ।

आइसले अमेरिकाबाट कागजपत्रविहिन परिवारहरुलाई समेत देशनिकाला गर्ने योजना अनुरुप छापालाई तीब्र पार्ने जनाइएको छ । ट्रम्पले गत सोमबार राती ट्वीट गर्दै आगामी सातादेखि दशौं लाख कागजपत्रविहिनहरुलाई देशनिकाला गरिने बताएका थिए ।

अमेरिकाका कुन कुन शहरमा कतिबेला छापामार्ने भन्ने सन्दर्भमा केही खुलाइएको छैन । छोराछोरीहरु अमेरिकी नागरिक भएका तर बाबुआमाहरु कागजपत्रविहिन भएकाहरुलाई समेत देशनिकालाको प्रकृयामा राख्न स्थानीय फिल्ड अफिसका अधिकारीहरुलाई पनि तालिम र ब्रिफिंग उपलब्ध गराइएको छ ।

गत फरबरीमा आइसले देशनिकालाको आदेश पाइसकेका २ हजार परिवारलाई पत्र पठाउँदै मार्चसम्म आदेश कार्यान्वयनबारे आफै रिपोर्ट गर्न समयसिमा दिएको थियो । आगामी आइसको अपरेशन झण्डै २ हजारलाई निशानामा राखेर गरिने जनाइएको छ ।

पक्राउ गरिसकेपछि परिवारहरुलाई आइसका पारिवारिक हिराशतहरुमा राखिनेछ । कतिपयले आफ्नो मामलाबारे अपिल गर्नसक्ने अपेक्षा गरिएपनि कैयन भने अमेरिकाबाट देशनिकालामा पर्नेछन् । अन्य कागजपत्रविहिन परिवारहरुलाई हिराशतमा राखिएपनि अमेरिकन छोराछोरी भएका कागजपत्रविहिन बाबुआमाहरुलाई खुट्टामा जीपीएस लगाएर छाड्न सकिने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com