‘३५ लाख तिरेर मेक्सिको आइपुगें, अब कता जानु ?’ –सुदीप


प्रकाशित मिति : माघ २५, २०७३ मंगलबार

दलालले अमेरिका छिर्न गाह्रो नहुने बताएपछि आधाजति रकम ऋण खोजेर ३५ लाख दिएँ । दलालले चारजनालाई मेक्सिको ल्याए ।

हामी भन्दा एकमहिना आएका दुईजना त अमेरिका छिरिसके । उनीहरु डोनाल्ड ट्रम्प राष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिका छिरेका थिए । उनीहरु दुबैजनालाई सिमानामा पक्राउ गरेछ । त्यसपछि उनीहरु केहीदिन जेलमा बसेपछि  रिहा भए ।

हामी भने मेक्सिकोमा नै छौं ।  यहाँ आइपुग्दा अमेरिकाले सिमा क्षेत्रमा कडाई गरेको समाचारहरु आए । त्यसपछि अगाडि बढ्न सकेका छैनौं । अबको केहीदिनमा दलालले अमेरिका छिराइदिन्छु भनेको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति भइसकेपछि पनि आइतबारमात्रै हामीले चिनेका ६ जना नेपाली अमेरिका छिरे । तर उनीहरु पक्राउ परे वा परेनन् केही थाहा छैन । उनीहरुसँग सम्पर्क पनि हुन सकेको छैन । जेलमा परेका कतिपयलाई त आठ नौ महिनासम्म पनि छाडेको छैन । म्याग्दीको बेनीका दुईजना आठमहिनादेखि जेलमा छन् । हाम्रो पनि त्यस्तै अवस्था हुने हो कि भनेर डर लागेको छ ।

२० लाख जति ऋण लागिसकेको छ । दलालको हातमा पैसा परिसक्यो । अब एकदम गाह्रो हुने भयो । पहिले नै यस्तो हुन्छ भन्ने थाहा भएको भए त आउने थिइन । यहाँ आइपुगेपछि अब न यता न उता भइयो ।

(मेक्सिकोबाट एक युवाले गरेको फोन कुराकानीमा आधारित । उनको अनुरोधमा ती युवाको नाम परिवर्तन गरिएको हो । )

खसोखासमा अमेरिकाब्यूरोबाट प्रकाशित सामाग्री अन्य संचारमाध्यममा हुबहु साभार गर्नु अगाडि अनुमति लिनु अनिवार्य छ । अनुमतिका लागि [email protected] मा सम्पर्क गर्नुहोला । रिपोर्टका अंशहरु साभार गर्दा श्रोत खुलाउनु अनिवार्य छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com