प्रचण्ड प्रधानमन्त्री हुनासाथ गुल्मीमा २२ जना नेताले छाडे माओवादी केन्द्र


प्रकाशित मिति : श्रावण २६, २०७३ बुधबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुलुकका प्रधानमन्त्री बनेका छन् । सामान्यतया पार्टी सरकारमा जाँदा अन्य पार्टीका कार्यकर्ता पनि त्यो पार्टीमा प्रवेश गरेको देखिएपनि माओवादी केन्द्र गुल्मीका २२ जना नेता कार्यकर्ताहरुले भने माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् । माओवादी केन्द्रमा मौलाइरहेको सांगठानिक अराजकताले पार्टी नै धुजा धुजा पारेको भन्दै पार्टीका काम काज, निर्णय निर्देशनको कार्यान्वयनको विधि ठीक नभएको भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।

तल्लो तहका कार्यकर्ताहरुमाथि माथिल्लो तहका कार्यकर्ताले हचुवाका आधारमा निर्णय थोपर्ने र तानाशाही व्यवहार गर्दै आएको, पार्टी एकताको मर्मलाई लत्याएर गुट उपगुटमा अल्झिएको, २४ सय जनाको केन्द्रीय महाधिवेशन आयोजक समिति बनाएर लज्जास्पद अवस्था सृजना गरेको लगायतका आरोपहरु लगाउँदै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा पूर्वराज्य कमिटि सदस्य एवं जिल्ला कमिटि कोषाध्यक्ष ज्ञानकुमार बुढा, पूर्व राज्य समिति सदस्य एवं सभासदका उम्मेदवार अशोक थापा, पूवं राज्यसमिति सदस्य लिला थापा, पूर्व राज्य समिति सदस्य सूर्यबहादुर बुढा, पूर्व राज्यसमिति सदस्यहरु टेकबहादुर सलामी, प्रेम भट्टराई, नोखबहादुर पौड्याल, जिल्ला सचिवालय सदस्य खुमबहादुर थापा, जिल्ला कमिटि सदस्यहरु बशन्त सुनार, गीता रिजाल, लोकनाथ पाण्डे, धर्म विश्वकर्मा, उषा बुढामगर, गिरिसिंह महाकिम, चन्द्रबहादुर महत, नारायण चन्द, चित्रबहादुर श्रीस, रामप्रसाद पाण्डे, ताराबहादुर राना, नारायण पौडेल, कमला घर्ती र पूर्व जिल्ला कमिटि सदस्य हरिकृष्ण पन्थी रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com