ट्रम्पले अमेरिकी एसाइलममा गर्न लागेका ४ ठूला परिवर्तन (एक्सक्लुसिभ)


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको एसाइलममा परिवर्तनका लागि सम्बन्धित निकायका नाममा निर्देशनात्मक मेमो जारी गरेपछि ती निकायहरु मेमो कार्यान्वायनको तयारीमा छन् । ट्रम्पले खासगरी अमेरिकी एसाइलम प्रणालीमा ४ ठूला परिवर्तनहरु ल्याउन चाहेका छन् ।

एसाइलममा कडाई गर्नका लागि ल्याउन लागिएका ती नियमहरु लागु गर्नका लागि संसदीय अनुमतिको आवश्यकता पर्दैन । तर ट्रम्प प्रशासनले त्यस्ता नियमहरुबिरुद्ध कानुनी चुनौतीको भने सामना गर्नुपर्ने हुनसक्छ । नयाँ नियमहरु ९० दिनभित्र घोषणा हुने जनाइएको छ ।

एसाइलममा शुल्क

अमेरिकाको आधुनिक एसाइलम प्रणालीमा एसाइलम आवेदनका लागि कुनै शुल्क तिर्नु पर्दैन, जुन झण्डै ४० बर्षदेखि अभ्यास हुँदै आएको छ । आफ्नो देशबाट एकजोर कपडाबोकेर भागेका र स्वदेश फर्कन खतरा हुनेहरुले निशुल्क एसाइलम आवेदन दिन सक्छन् ।

तर ट्रम्पको नयाँ योजना अनुशार एसाइलम आवेदन प्रकृयाका लागि अब आवेदकले शुल्क तिर्नुपर्नेछ । अमेरिकी अध्यागमन हिराशतमा राखिने दशौं हजार आप्रवासीका लागि शुल्क लिनु गलत हुने आप्रवासी अधिकारकर्मीहरुको तर्क रहेको छ ।

वर्क परमिट नदिइने

एसाइलम आवेदन दिएको ६ महिनापछि आवेदकले वर्क परमिटका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ । त्यसरी प्राप्त हुने वर्क परमिटबाट उनीहरुले आफ्नो आवेदनमा फैसला नहुँदासम्म काम गर्न पाउँछन् ।

तर नयाँ नियम अन्तरगत पोर्ट अफ इन्ट्रीको बीचबाट अमेरिका प्रवेश गर्ने एसाइलम आवेदकहरुलाई वर्क परमिट प्राप्त गर्नबाट प्रतिबन्ध लगाइनेछ । यो प्रावधानले धेरै एसाइलम आवेदकलाई निकै अप्ठ्यारो अवस्था सृजना गर्ने अनुमान गरिएको छ ।

एसाइलम आवेदनको टुंगो लगाउन लामो समय लाग्ने भएकाले उनीहरुले आर्थिक अभावको सामना गर्नुपर्ने हुनसक्छ । साथै उनीहरु घरबारविहिन समेत हुनसक्ने सम्भावना रहन्छ ।

एसाइलममात्रको अध्यागमन अदालत

अध्यागमन अदालतका सन्दर्भमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पले दुईवटा नयाँ नियमहरु प्रस्ताव गरेका छन् । जसले क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरेका एसाइलम आवेदकलाई एसाइलममात्रको टुंगो लगाउने अदालतको प्रकृयामा राख्नेछ ।

एसाइलमको बारेमा मात्र टुंगो लगाउने त्यस्ता अदालतमा अरु संरक्षणका विकल्पहरु हुनेछैनन् । आवेदकले या त एसाइलम जित्नेछन् या त देशनिकालाको फैसला पाउनेछन् । अन्य नियमित अध्यागमन अदालतमा जस्तो त्यहाँ अमेरिकामा रहनका लागि अरु विकल्पहरु रहनेछैनन् ।

तीब्र गतिको अदालती सुनुवाई

असाधारण अवस्थाबाहेक एसाइलम आवेदकका मुद्दाहरु अधिकतम ६ महिनाभित्र सुनुवाई टुंगाउने व्यवस्था गरिनेछ । अहिले अदालतमा भएको चर्को ब्याकलगका कारण जेलबाहिर रहेका एसाइलम आवेदकको मुद्दाको टुंगो लाग्न बर्षौ लाग्ने गरेको छ ।

सबै एसाइलमका मुद्दाहरु ६ महिनाभित्र टुंगो लगाउने प्रावधानले प्रणालीमा ठूलो बोझ थप्ने सम्भावना रहन्छ । प्रमाण जुटाउन, वकिल खोज्न आवेदकलाई समस्या हुनसक्छ ।

केहीदिन अगाडिमात्र अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसका महान्यायाधिवक्ताले अमेरिकी अध्यागमन जेलमा रहेकाहरुलाई धरौटीमा रिहा गर्ने पुरानो प्रावधानको अन्त्य गरिसकेका छन् । ९० दिनभित्र लागु हुने भनिएको यो प्रावधानले एसाइलम आवेदकलाई अमेरिकामा अझ कठिन अवस्थामा हालिदिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com