गाउँपालिकाअध्यक्षले मलाई अभद्र व्यवहार गरे : उपाध्यक्ष गीतादेवी साह
प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार

रौतहटको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले आफूलाई अभद्र व्यवहार गरेको आरोप उपाध्यक्ष गीतादेवी साहले लगाएकी छन्।
अध्यक्ष मुखियाले बलजफ्ती योजनामा हस्ताक्षर गराउन खोजेको र आफूले नमानेपछि अभद्र व्यवहार गर्दै कुट्नसमेत खोजेको उनले बताएकी छन्।
आफ्नै घरमा उपाध्यक्ष साहले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएकी हुन्। अध्यक्ष मुखिया, वडाध्यक्षद्वय नन्दलाल यादव र रहमत राँकीले अपशव्द प्रयोग गर्दै कुट्न झम्टिएको भन्दै उनी पत्रकारमाझ भक्कानिएकी थिइन्।
प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आफूलाई बाइपास गरेर अध्यक्ष मुखियाले विगत र चालू आवको रकम व्यापक दुरुपयोग गरेको आरोप लगाएकी छन्। अध्यक्ष मुखिया र उपाध्यक्ष दुबै नेकपाबाट निर्वाचित भएका हुन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।