कपिलवस्तुमा युवतीको ढुंगाले हानी हत्या
प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार
कपिलवस्तुमा एक युवतीको ढुङ्गाले हानेर हत्या भएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो। मृतक थारुको शव सोमबार विहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ढुङ्गाले हानेर युवतीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी अच्युतमप्रसाद पुडासैनीले युवतीको ढुङ्गा प्रहारबाट मृत्यु भएको र आशंकामा उनका श्रीमान २१ वर्षका सुरेश थारूसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्।
‘स्थानीयले खबर गरेपछि सोमबार बिहान ४ बजेतिर शव फेला पारेका हौं ।’ उनले भने, ‘युवतीको निधारमा ढुंगाले हानेको गहिरो चोट छ।’ ‘प्रक्राउ पर्ने २ जना सुरेशका साथी हुन्,’ उनले भने, ‘ढुंगाले हानेर युवतीको हत्या गरिएको निश्चित हो तर यसमा कसको संलग्नता छ भन्ने पत्ता लगाउन अनुसन्धान सुरु गरेका छौं।’
प्रहरीका अनुसार सुनीतालाई उनका श्रीमानले अैतबार राति ९ बजेतिर नुहाउन भन्दै घर नजिकैको वाणगंगा खोलामा लगेका थिए। त्यही बेला उनको हत्या भएको प्रहरीको अनुमान छ।






