प्रधानमन्त्री ओलीबाट हनुमान ढोका दरबार क्षेत्रको अवलोकन (फाेटाे)
प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमाण भैरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरीक्षण गरेका छन् । उनले बिहीबार बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरेका छन् ।
सम्पदा पुनर्निर्माणको अवलोकन गरेपछि उनले पुनर्निर्माण प्रधाकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिएका छन् ।
सम्पदा पुनर्निर्माणको अवलोकनपछि प्रधानमन्त्री ओलीले काष्टमण्डपमा राखिएको आगन्तुक पुस्तिकामा सम्पदा पुननिर्माणको कामबाट आफू खुशी रहेको बताए । ‘पुनर्निर्माण समिति अर्थात यसको नेतृत्व र समग्र टिमको उत्साह र आत्मविश्वास हेर्दा खुशी लाग्यो’ उनले लेखेका छन् ‘ प्रगति सन्तोषजनक छ, लगभग आगामी १८ महिनाजसोमा निर्माण कार्य सम्पन्न गर्ने अठोट सुन्दा खुशी लाग्यो ।’
पुनर्निर्माणका क्रममा पाँचौं शताब्दीको काठ प्रयोग हुन सक्ने अवस्थामा भेटिएको र उपयोग गरिएको सुन्दा आश्चर्यमिश्रित खुशी लागेको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि सम्पदा पुनर्निर्माणको अवलोकन गरेका थिए । फाेटाे – रासस