यी १० गुणयुक्त हुनुपर्छ अवको नेपालको प्रहरी प्रमुख


प्रकाशित मिति : माघ १३, २०७३ बिहीबार

– राधाकृष्ण देउजा

प्रहरीको ऐन नियमवालीको सम्वन्धमा कुनै नयाँ निर्णय नभएमा अवको केही सातामा नेपाल प्रहरीले नया आइजीपी पाउने छ । शान्ती सुरक्षाको विश्वसनीयता कस्तो छ भन्ने आधारमा मुलुकका सवै क्षेत्रको सफलता वा असफलता निर्धारण हुने हुनाले प्रहरी संगठनको नेतृत्व छनोटको विषय सार्वजनिक चासोको विषय हुने गरेको छ ।

विद्यमान प्रहरी ऐन र नियामावलीको आधारमा हाल प्रहरी सेवामा सेवारत रहेका प्रहरीका जुनसुकै एआइजीपीहरु वा डीआइजीपीहरु मध्येबाट सरकारले प्रहरी प्रमुखको छनोट गर्न सक्छ । यद्यपी त्यसो गर्दा विद्यमान वरिष्ठता, शैक्षिक योग्यता , व्यवसायिक रुपमा आर्जित तालिमहरुलाइ पनि ध्यानमा राख्ने गरिन्छ । विद्यमान प्रहरी नियमवालीमा प्रहरीको सेवा अवधि तीस बर्ष तोकिएको र अहिले भएका आइजीपीदेखि एआइजीपीहरुसम्मको सेवा अवधि एकै दिन तीस बर्ष पुग्ने हुनाले अहिलेकै नियमवाली अनुसार छनौट हुँदा अहिले भएका डीआइजीपीहरु मध्यबाट आइजीपी छनौट हुनेछ ।

नेपालमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने व्यक्तिको छनौट हुँदा कतिपयबेलामा योग्यता , क्षमताकै भरमा नगरिने ,अनि त्यसका निम्ती दृश्य अदृश्य चलखेलहरु हुने , आर्थिक चलखेल हुने , जायज नाजायज वोलकवोलहरु हुने गरेको छ । अझै पछिल्लो दिनहरुमा त राजनीतिक भागवण्डालाइ संस्थागत गर्दै लगिएको छ । न्यायाधिशको नियुक्तिमा त चलखेल र भागवण्डा हुन्छ भने प्रहरीको बढुवा अत्यन्त स्वच्छ ढंगले हुन्छ भन्नेमा विश्वस्त भैहाल्न सक्ने अवस्था छैन ।

त्यसमाथि वर्तमान अवस्थामा नेपालको शासन सत्तामा हालीमुहाली गरिरहेका पुष्पकमल दाहाल अनि विमलेन्द्र निधीहरुले देश , जनता र प्रहरी संगठनको हितलाइ नै मुख्य आधार बनाउदै आइजीपी छनोट गर्छन् भनेर विश्वास गरिहाल्नु पनि अलिक गार्है छ । प्रतिस्पर्धामा हुने सवैलाइ आफैं उत्कृष्ट र अव्वल लाग्नु र त्यस अनुसार दावी प्रस्तुत गर्दै हिड्ने काम हुनुलाई स्वाभाविक नै मान्नुपर्छ । सोही स्वाभाविकतामै टेकेर होला सायद अहिले प्रतिस्पर्धा गर्न योग्यता पुगेकाहरु आफ्नो दावी प्रस्तुत गरेर निर्णयमा प्रभाव पार्न सक्नेहरुलाई प्रभाव पार्नमा व्यस्त रहेको सुनिन्छ भने कतिपयले त कपोलकल्पित समाचारहरु बनाएर आफ्ना प्रतिस्पर्धीलाई बद्नाम बनाउने र आफ्नो सपना पुरा गर्ने धोको राखेको पनि देखिन्छ ।

प्रतिस्पर्धीहरुलाई उछिनेर बढुवामा अग्रता पाउन खोज्नुलाई त गलत मान्न मिल्दैन तर कसैको मानमर्दन गरेर अगाडि बढ्ने विषयलाई किमार्थ गतिलो मान्न मिल्दैन । र अर्काको बदनामी र असफलतामा आफ्नो सफलता खोज्ने सोंच भएकाले प्रहरी संगठनलाई अग्रगति दिन नसक्नेमा पनि दुइमत हुन सक्दैन । प्रहरी प्रमुख हुनको निम्ती यो वा त्यो ढंगले आफु योग्य रहेको भन्दै प्रतिस्पर्धामा रहेका अधिकृतहरु सक्रिय रहेको वर्तमानमा को आइजीपी हुनुपर्छ भन्ने ढंगले चर्चा गर्नु उपयुक्त नहुन सक्छ । तर मुलुकको प्रहरी प्रमुख कस्तो गुण सहितको अधिकृत हुनुपर्छ भन्ने चर्चा चाहिं गर्दा अन्यथा हुदैन । त्यसैले सर्वसाधारणको सामान्य बुद्धीले पनि प्रहरी प्रमुख हुन ऐन नियममा उल्लेख भएका योग्यताहरुको अलावा निम्न गुण भएको आधिकृत प्रहरी प्रमुख हुँदा निजबाट आशावादी हुन सकिने देख्दछ ।

१. प्रहरी प्रमुख हुनको निम्ती सवै भन्दा पहिला प्रहरी संगठनमा व्यापक स्वीकार्यता कमाएको हुनुपर्छ । त्यस्तो हुनको निम्ती सम्वन्धित अधिकृतले आफ्नो पेशागत जीवनमा सेवारत रहेका स्थानहरुमा काम गर्दा लोभ, लालचले प्रेरित नभएर प्रहरीको घोषित नीति र कार्यक्रम अनुसार कार्यसम्पादन गर्ने गरेको व्यवहारमा देखिएको हुनुपर्छ ।

२. प्रहरी प्रमुख हुनेले संगठनका सवै सदस्यहरुलाइ उनीहरुको गुण दोषको आधारमा मात्रै मुल्यांकन गर्ने दृढता राख्न सक्नुपर्छ । आग्रह पुर्वाग्रह पालेर , आफुसँगको व्यक्तिगत निकटतालाई नै मुल्यांकनको आधार बनाएर अगाडी बढ्ने चिन्तन बोकेका र विगतमा सोहि अनुरुप काम गर्दै आएकाबाट प्रहरी संगठनको कुशल नेतृत्वको आशा गर्नु निरर्थक हुनेछ ।

३. कुनै पनि संगठनको नेतृत्व गर्छु भन्नेले आफुले बोलेका कुरालाई व्यवहारमा लागु गर्न सक्नुपर्छ । झन् प्रहरी संगठनको नेतृत्व गर्छु भन्नेले त त्यस मान्यतालाई सम्झौताहीन ढंगले लागु गर्नुपर्छ किनकी बोल्ने तर नगर्ने भएको खण्डमा निजको विश्वसनीयतामा कमी आउँछ र त्यसले सिङ्गो संगठनमा निराशा छाउने खतरा रहन्छ जुन प्रहरी जस्तो संगठनका निम्ती घातक सावित हुन्छ ।

४. समस्याहरुको पहिचान मात्रै गर्नु ठुलो कुरा हैन तर नेतृत्व गर्छु भन्नेले देखिएका समस्याहरुको समाधानको उपाय पनि खोज्न सक्नुपर्छ । सवैलाइ थाहा छ शान्तिसुरक्षा कायम राख्न क्रियाशील हुनुपर्ने प्रहरी संगठनका निम्ती समस्या र चुनौती कुनै पनि समय आउन सक्छन् । त्यस्तो अवस्थामा नेतृत्वले समस्या समाधानको उपाय खोज्ने क्षमता राख्दैन भने नेतृत्वसंगै संगठननै असफल हुन पुग्छ , र दुर्भाग्यवस त्यस्तो भएमा देशले त्यसको मुल्य चुकाउनु पर्छ भन्ने विगतका कतिपय घटनाहरु समेत साक्षी छन् ।

५. फौजी संगठन भएको हुनाले आफ्नो निर्णय प्रतिको अडान प्रहरी प्रमुखले राख्नुपर्छ तर आफ्नो निर्णय वा सोच गलत छ भन्ने प्रष्ट हुँदाहुँदै पनि मैले मात्रै सवै जानेको छु , मैले भनेपछि भनें भनें भन्ने खालको चिन्तनले कतिपय अवस्थामा नेतृत्वलाई असफलता तिर लैजान्छ । त्यसैले प्रहरी प्रमुख लचकता सहितको अडान भएको व्यक्ती हुनुपर्छ ।

६. अहिलेको विश्व्यापिकरणको यथार्थमा प्रहरी प्रमुख हुने व्यक्तीमा केहि हदसम्म कुटनितिक गुण पनि आवश्यक हुन्छ । इन्टरपोलको सदस्य राष्ट्र , संयुक्त राष्ट्रसंघको शान्ती मिशनहरुमा व्यापक जनशक्ती उपलव्ध गराउने राष्ट्रको प्रहरी हुनुका साथै बिभिन्न तालिम र स्रोत साधनको निम्ती विदेशीको मुख ताक्नु पर्ने अवस्थाको प्रहरी संगठनको प्रमुख हुनेसँग कुटनीतिक क्षमताको अभाव हुने हो भने त्यसले आगामी दिनमा संगठनलाइ अप्रत्यक्ष रुपमा असर गर्ने सत्य इन्कार गर्नु हुदैन ।

७. प्रहरी प्रमुख छनोट गर्दा उक्त पदको नजिक नजिकै पुग्दा मात्रै गरिएका कामहरुलाइ मात्रै छनोटको आधार बनाइनु हुदैन , हाल कार्यरत रहेको पदमा रहेर देखाउनकै निम्ती भएपनि निर्वाह गरिएको सकारात्मक भूमिकाको कदर त गर्नुपर्छ तर विगतमा बिभिन्न स्थानमा रहेर काम गर्दा देखाइएका लालची व्यवाहार, प्रदर्शित गरिएका घृणित व्यवहारहरु , अनि स्थापित आपराधिक कनेक्सनलाइ चाहिं भुल्नु हुदैन किनकि कुनै पद प्राप्तीको निम्ती मात्रै प्रदर्शन गरिएको नक्कली सादगी पद प्राप्त भैसकेपश्चात एकादेशको कथा भैहाल्छ ।

८ . प्रहरी प्रमुख हुने व्यक्तीसंग गलत गर्नेलाइ नछोड्ने दृढता त चाहिन्छ तर त्यसका साथै मान्छेबाट गल्ती हुन्छ अनि आफ्नो गल्तीबाट पाठ सिकेर अगाडी बढने अवसर सवैले पाउनु पर्छ भन्ने प्रष्टता पनि हुन जरुरी हुन्छ । संगठनमा रहेर काम गर्ने दौरानमा कसैले जानी नजानी गल्ति गरेछ भने उसलाइ गल्ती अनुसारको सजायँ दिने तर यदी त्यसपछि उसमा सुधार आयो भने उसलाइ थप जिम्मेवारी दिन कन्जुस्याई नगर्ने र जिम्मेवारी वाहन उत्कृष्ट ढंगले गर्दा पुरष्कृत गर्न पनि तयार हुने दृढता पनि प्रहरी वा कुनै पनि संगठन प्रमुखमा अत्यावश्यक गुण हो ।

९ . प्रहरीको आइजीपी हुनेले राजनीतिक वा प्रशासनिक शक्ती केन्द्रसंग पनि प्रष्टसंग आफ्नो अडान राख्न सक्नुपर्छ, अगाडी पर्दा हुन्छहुन्छ ,हस्हस् भन्ने अनि पछाडी यो वा त्यो ढङ्गले राजनीतिक नेताहरु वा प्रशासकहरुको तजावोध गर्ने कामले इज्जत बढाउने हैन घटाउने काम गर्छ । छोटोमा भन्दा प्रहरी प्रमुखको वहुचेहेरा हुनु राम्रो हुदैन, उनि जे सुनिन्छन त्यही देखिनु पर्छ ।

१०. नेतृत्व गर्नेसंग जोखिम मोल्नसक्ने साहस हुनुपर्छ । र जसले जोखिम मोल्ने साहस राख्छ उसले चल्दै आएका तर ठीक बेठीक के हो भनेर पहिचान नभईसकेका चलनहरुमा परिमार्जन गर्ने हिम्मत राख्दछ । अवको प्रहरी प्रमुखले प्रहरीमा विगत देखि चल्दै आएको कतिपय चलनहरुको उपयोगिता र सान्दर्भिकतामाथि प्रश्न उठाउने हिम्मत गर्न आवश्यक छ ।

जस्तै बढुवा गर्दा वरिष्ठताको राग अलाप्नेलाई अव चुनौती दिने वेला भैसकेको छ । खासगरी माथिल्लो दर्जामा कार्यरतहरुले योग्यता, क्षमतामा चाहिं सुधार नगर्ने अनि उनीहरुलाइ सेवा प्रवेशमा अगाडी भएकै कारणले वरिष्ठ मान्न्दै रहने र सोहि कारणले अयोग्यहरुको मातहतमा योग्यहरु बसिराख्नु पर्ने कुरा अव मान्ने हुनुहुदैन । त्यस्तै सवैले क्षमता प्रदर्शनको मौका पाउनु पर्छ तर मौकाको उपयोग गरेर उत्कृष्टता प्रदर्शन गर्नेहरु र मौका पाउँदा पनि काम देखाउन नसक्ने नालायकहरुलाइ उही नियम लगाउदै गरिने अहिलेको आवधिक सरुवा नीतिमा बदलाव ल्याउन जरुरी छ । पालो पुर्याउने नाममा अयोग्यहरुले अवसर पाउने अनि अयोग्यहरुलाइ पालो पुर्याउन योग्यहरु थन्किएर बस्नु पर्ने संस्कृतिमा सुधार जरुरी छ , र यसमा सुधार हुनुपर्छ । अवको प्रहरी प्रमुख यस्ता कर्मकाण्डी प्रथाहरु विरुद्ध खडा हुने खालको हुनुपर्छ जसले नया परिवेशमा नया ढङ्गले संगठन चलाउन सकोस् ।

माथी उल्लेखित गुणहरु भएको अधिकृत प्रहरी प्रमुख हुँदा चाहिँ प्रहरी संगठन सम्पूर्ण रुपमा राम्रो हुन्छ भन्ने त हैन तर उल्लेखित गुण भएको अधिकृतले प्रहरी संगठनको नेतृत्व गर्ने अवस्था बन्दा स्वाभाविक रुपमा प्रहरी संगठन अझै सवल, सक्षम , विश्वसनीय हुँदै जानेछ भन्दा चाहिं गलत हुनेछैन । आशा गरौँ कुनै बेला मुलुकको आमुल परिवर्तन गर्छु भन्ने दावी ( केवल दावीकै निम्ती दावी ) गर्ने गरेका पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले लोभ , लालच , अदृश्य खेल , वा अनैतिक सम्झौताको आधारमा हैन योग्यता , क्षमता , इमान्दारिता र केहि गर्छु भन्ने प्रतिवद्धताको आधारमा नेपाल प्रहरीको आगामी प्रमुखको छनोट गरुन् । यस्तो अधिकृत आइजीपी बनुन् जसले आफ्नो कार्यकाललाइ नेपाल प्रहरीको इतिहासको स्वर्णीम कार्यकाल बनाउन सक्ने योग्यता , क्षमता र दृढता बोकेको होस् ।

(देउजा अमेरिकामा गृहप्रशासन र सुरक्षा विषयका अध्येता हुनुहुन्छ । नेपालको सुरक्षा विश्लेषण गर्दै आउनुभएका देउजाले यसै सम्बन्धमा कलम चलाउदै आउनुभएको छ । )

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com