अर्घाखाँचीमा तीनघण्टा हिडेर स्कुल पुग्ने बाला अमेरिकामा मेयरको सल्लाहकार समितिसम्म


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

‘विद्यालय जान र आउनमात्र ६ घण्टाजति लाग्थ्यो । विहान सातै बजेर खानाखाएर विद्यालयका लागि दौडनुपथ्र्यो भने बेलुका घर आइपुग्दा राती भइसक्थ्यो ।’ स्कुले जीवनका संघर्षपूर्ण दिनहरु यसरी सम्झिन्छन् अमेरिकाको शिकागोमा सफल व्यवसायीका रुपमा दरिइसकेका बाला घिमिरे । अर्घाखाँचीको खनमा जन्मिएका घिमिरेले कक्षा ७ देखि १० सम्म घरदेखि पैदल हिडेर तीनघण्टा टाढा रहेको हंशपुरको विद्यालयमा अध्ययन गरे ।

गर्मीको समयमा त रातीघरमा आइपुग्दा उज्यालो नै हुन्थ्यो तर जाडोको समयमा भने अँध्यारो र जाडोका कारण घरमा आइपुग्न सम्भव थिएन । त्यसैले कहिले छात्रावासमा बस्दै त र कहिले घरबाट आउने जाने गर्दै उनले एसएलसीसम्मको अध्ययन अर्घाखाँचीबाटै सकाएका थिए ।

२०२४ सालमा अर्घाखाँचीको खनमा बुबा रविलाल घिमिरे र आमा सुमित्रा घिमिरेको राईलो सन्तानका रुपमा जन्मिएका थिए बाला । सामान्य आर्थिक हैसियत भएको परिवारमा सातभाई छोरामध्येका पाँचौं सन्तानका रुपमा जन्मे हुर्केका घिमिरेको बाल्यकाल पनि संघर्षमै बितेको थियो । कक्षा सातसम्म भने खनदहको स्कुलमा पढेका उनलाई त्यहाँ पुग्न पनि हिडेर झण्डै एकघण्टा नै लाग्थ्यो ।

बर्षामा जुका र हिउँदमा सिरेटोको सामना गर्दै कक्षा १० सम्मको अध्ययन सकाएका घिमिरे एसएलसीपछि भने दिल्ली गए । दिल्लीमा दाजुहरु भएका कारण उनले अध्ययनपनि त्यही नै गरे । दिल्ली विश्वविद्यालबाट स्नातकोत्तर सम्मको अध्ययन गर्ने क्रममा उनी बामपन्थी राजनीतिमा सकृय बने । भारतमा छँदा प्रवासी नेपाली संघमा काम गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सघाउने क्रममा उनले त्यहाँ कैयन पटक भारतीय प्रहरीका डण्डा समेत खानुपरेको थियो । झण्डै तीनपटक त उनी थुनामा समेत परे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिल्लीबाट फर्केपछि उनी काठमाडौंमा बापन्थी राजनीतिमा सकृय भए । मनमोहन अधिकारीको निर्वाचन क्षेत्रमा सकृय भएका उनका झण्डै तीनबर्ष काठमाडौंमा राजनीतिक गतिविधिमा लाग्दैमा बिते ।

त्यसपछि सन् १९९७ मा अमेरिकन ड्रिम बोकेर बाला घिमिरे पनि विश्वकै आर्थिक राजधानीका रुपमा परिचित अमेरिकाको न्युयोर्क शहरमा पाइला टेके । मनभरी कैयन सपना बोकेर विश्वका सातै महादेशका आप्रवासीहरु खचिखचाउ न्युयोर्कमा आइपुगेका घिमिरे त्यहाँ भने धेरै टिक्न सकेनन् । झण्डै एकमहिनाको न्युयोर्क बसाईपछि उनी शिकागोतिर लागे ।

अमेरिकाको सुरुको बसाई सहज थिएन । कागजपत्र नभएका कारण सुरुमा लुकेर काम गर्नुपर्ने बाध्यता थियो । अमेरिकामा सुरुवाती दिनहरु सम्झदै उनी भन्छन् –‘सुरुमा लुकी लुकी र डराई डराई रेष्टुरेण्टमा काम गरें । झण्डै तीनबर्ष कागजपत्रविहिन भएर अरुको रेष्टुरेण्टमा काम गर्ने दौरानमा मैले जीवनमा संघर्ष के हो भन्ने कुरालाई थप बुझें ।’

तर पनि उनले हिम्मत भने हारेनन् । सन् २००० मा ग्रिनकार्ड स्वीकृत भइसकेपछि उनको मनोवल बढ्यो । उनले थप ४ बर्ष अरुकै रेष्टुरेण्टमा काम गरेर केही रकम जम्मा गरे । त्यसपछि सन् २००४ मा साथीहरुसँग मिलेर शिकागोमा करिहट नामको रेष्टुरेण्ट खोले । रेष्टुरेण्ट बिजनेशमा सफल बन्दै गएका उनले २००८ मा डाउनटाउनमा शिकागो करी हाउसस्थापना गरे । त्यसपछि सन् २०१३ मा नेपाल हाउस वान र २०१६ मा नेपाल हाउस २ स्थापना गरे । निरन्तरको मिहिनेतका कारण एकपछि अर्को सफलताको सिंढी चढ्दै गएका उनका अहिले शिकागोमा तीनवटा रेष्टुरेण्ट संचालनमा रहेका छन् ।

श्रीमति कमला घिमिरे र छोराहरु विशाल र कुशलका साथमा शिकागोमा बस्दै आएका घिमिरे व्यवसायमा मात्र सफल भएनन्, चर्चित नेपाली सामाजिक अभियन्ताका रुपमा समेत अमेरिकामा दरिन पुगेका छन् । रेष्टुरेण्ट व्यवसाय सुरु गरेदेखि नै उनी सामाजिक गतिविधिमा पनि समानान्तर रुपमा लागिरहे । २००५ देखि नै शिकागोका स्थानीय सामाजिक संघसंस्थामा सकृय बने उनी ।

२००९ देखि अहिलेसम्म नै सिटी अफ शिकागोका मेयरको एड्भाइजरी काउन्सिल सदस्यका रुपमा रहेका छन् घिमिरे । त्यस्तै २००९ देखि अहिलेम्म नै सेक्रेटरी अफ स्टेटको एड्भाइजरी काउन्सिलमा समेत उनी रहेका छन् । सामाजिक कार्यमा सकृय भएकै कारण उनले तत्कालिन राष्ट्रपति बराक ओबामाबाट हस्ताक्षरित प्रमाणपत्र समेत प्राप्त गरेका थिए । अमेरिकन एड्भाइजरी काउन्सिलको कम्युनिटी सर्भिस अवार्ड र एसियन कोर्निकल अमेरिकाबाट एसियन एक्जामपलरी सर्भिस अवार्ड पाइसकेका घिमिरेले स्थानीय अमेरिकी राजनीतिज्ञहरुसमेत पहुच कायम गर्दै नेपाली समुदायको हितमा विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागी हुँदै आइरहेका छन् ।

२०१० मा अमेरिकाको पुरानो संस्था एएनएमा केन्द्रीय सदस्य समेत भएर काम गरेका घिमिरेले नेपलिज एसोसिएसन इन साउथवेष्ट अमेरिकामा कोषाध्यक्ष भएर काम गरे । त्यस्तै २०१० देखि नै एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिकामा सकृय उनी २०१६ देखि २०१८ सम्म त्यही संस्थाको अध्यक्ष बने । २०१८ मा एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका, नेपलिज एसोसिएसन इन साउथवेष्ट अमेरिका र एसोसिएसन अफ नेपलिज इन अमेरिकाको संयुक्त नेपाली नेशनल कन्भेन्सनको कन्भेनरका रुपमा रहेर उनले सफलताका साथ कार्यक्रम सम्पन्न गरेका थिए ।

सन् २०१६ देखि नेपाल सरकारका पर्यटनदूतका रुपमा समेत सकृय घिमिरेले नेपालको कला, संस्कृति, खाना र पर्यटनको प्रवद्र्धन गर्दै नेपाल चिनाउने अभियानमा समेत सकृय छन् । रोटरी क्लब, लायन्स क्लब जस्ता संस्थामा सहभागी भई काम गरेका उनी एनआरएनए आईसीसीको सिटीजनसिप टास्क फोर्समा सदस्य समेत रहे भने मानवीय समितिको सहसंयोजक बने । अहिले एनआरएएन आईसीसीकोे नीति र प्रकृया समितिको सहसंयोजक घिमिरे सन् २०१७ सम्म तीनबर्ष प्रवासी नेपाली मञ्चको बरिष्ठ उपाध्यक्ष समेत बने ।

शिकागोको ह्युमन रिलेशन कमिटिमा झण्डै ५ बर्ष काम गरेका बाला घिमिरेले अमेरिकामा कुनै नेपालीहरुलाई समस्या पर्दा गरेको सहयोगको फेहरिस्त पनि निकै लामो छ । त्यस्तै नेपालमा कसैलाई समस्या पर्दा वा बिपत्ति आउँदा पनि उनी सहयोगका लागि अगाडि सर्ने गर्छन् । तर उनी भन्छन् –‘अरुलाई गरेको मानवीय सहयोगको हिसाबकिताब र सुची राखेको छैन । हिसाबकिताब र सुची तयार गरेर यति सहयोग गरें भनेर प्रचार गर्न वा कतैबाट कुनै फाइदा लिनका लागि सहयोग गरेको पनि होइन । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छु । भविश्यमा पनि मानवीय र सामाजिक सहयोगमा लागिरहनेछु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com