क्यालिफोर्निया फर्म चलाउने नेपाली भिसा फ्रडको अभियोगमा फन्दामा, अदालती सुनुवाई मे १३ मा
प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

दुईजना भारतीयसँग मिलेर कामदार भिसा फ्रड गरेको अभियोगमा क्यालिफोर्नियामा कन्सल्टिङ फर्म चलाउने एकजना नेपाली फन्दामा परेका छन् । सान्ता क्लारामा नानोसेमान्टिक्स इन्क संचालन गर्ने ४२ बर्षीय सन्तोष गिरीलाई गतसाता पक्राउ गरेर अदालतमा पेश गरिएको थियो ।
गिरीसँगै दुईजना भारतीयलाई पनि पक्राउ गरेको छ । बे एरियामा सफ्टवेयर र टेक्नोलोजी कम्पनीमा कामदारहरु उपलब्ध गराउने नाममा उनीहरुले नक्कली कागजातका साथ एचवानबी भिसा फाइल गर्दै आएको सरकारी अभियोग रहेको छ ।
अदालतमा पेश गरिएका उनीहरुले आफूहरु निर्दोष रहेको दावी गरेका छन् । तीनजनालाई नै जमानतमा रिहा गरिएको जनाइएको छ । गिरीलाई सान होजेको अदालतमा पेश गरिएको थियो ।
उनलाई मे १३ मा पुन अदालतमा पेश गरिने भएको छ । उनीबिरुद्धको अभियोग प्रमाणित भएमा १५ बर्षसम्म जेल सजाय र ५ लाख डलरसम्म जरिवाना हुनसक्ने जनाइएको छ । युएससीआईएस र एचएसआईको विशेष अनुसन्धानपछि उनीहरुबिरुद्ध अभियोग लगाइएको हो ।