आन्दोलनमा उत्रन युवा-विद्यार्थीलाई सभापति देउवाको आह्वान
प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा–विद्यार्थीहरुलाई आह्वान गर्नु भएको छ ।
सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट पार्नु भयो ।
शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारी समेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएकोमा सभापति देउवाले आपत्ति जनाउनुभएको छ ।
सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।