जेलमा रहेका निश्चित एसाइलम आवेदकलाई सातदिनमै बोण्ड हेयरिङ दिनुपर्ने


प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार

अमेरिकामा खासगरी गैरकानुनी रुपमा सिमा पार गरेर आउने एसाइलम आवेदकलाई हप्तौं वा महिनौंसम्म अध्यागमन जेलमा राखिदै आएकोमा अब यस्तो अन्यायको अन्त्य हुने भएको छ । बोण्ड हेयरिङको अनुरोध गरेका आवेदकलाई समेत हप्तौं वा महिनौंसम्म जेलमा राखिदै आएकोमा अब आवदेकले आग्रह गरेको सातदिनभित्र बोण्ड हेयरिङको मिति दिनुपर्ने भएको छ ।

शुक्रबार अमेरिकाका डिस्ट्रिक्ट कोर्टका न्यायाधिसले निश्चित प्रकारका एसाइलम आवेदकले अनुरोध गरेको सातदिनभित्र बोण्ड हेयरिङ पाउनुपर्ने आदेश दिएका छन् । सियाटलका न्यायाधिसले दिएको उक्त आदेश अनुशार अध्यागमन अदालतहरुले आवेदकलाई सुनुवाईका क्रममा कानुनी संरक्षण समेत प्रदान गर्नुपर्नेछ ।

एसाइलम आवेदकलाई दण्डीत गर्ने गरी ट्रम्प प्रशासनले विभिन्न नीति नियम ल्याएर अभियान चलाइरहेको सन्दर्भमा अदालतको पछिल्लो आदेशलाई ट्रम्प प्रशासनको पराजयका रुपमा लिइएको छ । न्यायाधिस मार्सा पेकम्यानले गरेको फैसला अनुशार एसाइलम आवेदकले अनुरोध गरेको सात दिनमा बोण्ड हेयरिङ दिनुपर्ने, निरन्तर जेलमा राख्नुपर्नाको कारण एसाइलम आवेदक हुन नहुने, सुनुवाईको रेकर्ड वा ट्रान्सक्रिप्ट प्रदान गर्नुपर्ने र बोण्ड स्वीकृत वा अस्वीकृत गर्नुपर्नाको कारण लिखित रुपमा जारी गर्नुपर्ने लगायत रहेका छन् ।

यो फैसला क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरिसकेका अर्थात् प्रारम्भिक चेकजाँच पूरा गरिसकेका एसाइलम आवेदकको सन्दर्भमा देशब्यापी रुपमा लागु हुने जनाइएको छ । यो आदेशपछि अमेरिकामा रहेका हजारौं एसाइलम आवेदकको अवस्थामा आमुल परिवर्तन हुने अपेक्षा गरिएको छ ।

अहिलेसम्मको अवस्था अनुशार यदि एसाइलम आवेदकको बोण्ड अस्वीकृत भएमा त्यसको कारण खुलाउने गरिएको थिएन भने यस्तो सुनुवाई रेकर्ड गर्ने चलन थिएन । जसका कारण बोण्ड अस्वीकृत भएकाहरुले अपिल गर्नमा समस्या थियो ।
तर अब बोण्ड अस्वीकृत हुनुको कारण पनि लिखित रुपमा नै खुलाउनुपर्ने भएको छ ।

न्यायाधिसको यो आदेश तीसदिनभित्र लागु हुने जनाइएको छ । यद्यपी अदालतको आदेशबिरुद्ध सरकारले माथिल्लो अदालतमा अपिल भने गर्नसक्नेछ ।

अमेरिकाको अध्यागमन जेलमा सयौं नेपालीहरु रहेका छन् । आइसका एकजना प्रवक्ताले खसोखासलाई दिएको पछिल्लो जानकारी अनुशार अमेरिकाका अध्यागमन हिराशतमा २ सय ९२ जना नेपालीहरु रहेका छन् । न्यायाधिसको आदेश कार्यान्वयनपछि ती नेपालीहरुलाई पनि राहत पुग्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com