शोकमा सिर्दिवास


प्रकाशित मिति : श्रावण २५, २०७३ मंगलबार

घरमुली ६० वर्षीय कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी, बुहारी १९ वर्षीया प्रिती, पाँच दिनको नवजात शिशु बिरामी भएपछि ज्वाइँ सुजन गुरुङले उनीहरुको उपचार राजधानीको अस्पतालमा गर्ने सोचले हेलिकोप्टर झिकाए ।

फिस्टेल एअरको नाइन एनकेए कलसाइन भएको हेलिकोप्टर बिरामी लिन सोमबार गोरखाको सिर्दिवास–२ फिलिमस्थित बुद्ध आवासीय माविको प्राङ्गणमा अवतरण भयो ।

हेलिकोप्टरमा २५ वर्षीय क्याप्टेन रञ्जन लिम्बू र बिरामी लिन आएकी लक्ष्मी गुरुङ थिइन् । उहिया गाविस घर भएकी लक्ष्मीको माइती सिर्दिवास हो । नाताले उनी र कितमान आफन्त पर्छन् । एकै घरका चारजनासहित फेज नेपाल नामक गैरसरकारी संस्थाकी स्वास्थ्यकर्मी सुनसरीको इटहरीकी २२ वर्षीया निशा तामाङ, क्याप्टेन रञ्जन लिम्बू र लक्ष्मी गुरुङ चढेको हेलिकोप्टर करिब ११ः३० बजे सिर्दीबासबाट राजधानीका लागि उडेको थियो ।

सासू, ससुरा, प्रिती र नवजात शिशु (प्रितीको छोरा) लाई हेलिकोप्टर चढाएर कितमानका अर्का ज्वाइँ बहादुर गुरुङ घर फर्किए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिर्दिवासबाट उडेको हेलिकोप्टर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन ४० मिनेट लाग्छ । बिरामी भएका आफन्त लिएर उडेको हेलिकोप्टर एक घन्टासम्म एअरपोर्टमा अवतरण नभएपछि बहादुर र सुजनसहित गाउँले छट्पटाउन थाले । केहीबेरपछि नुवाकोटमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको खबर सुनेपछि गाउँमा रुवाबासी चल्यो ।

प्रितीका श्रीमान् कालु गुरुङ वैदेशिक रोजगारीका लागि गत पुसदेखि मलेसियामा छन् । “उपचार गर्न हेलिकोप्टर चढाएर पठाएका चारजनाको निधन भयो” सिर्दिवासका बहादुर गुरुङले भने, “घरको ढोका खोल्ने मान्छे भएन ।”

घरको रेखदेख गर्ने जिम्मा ज्वाइँ बहादुरलाई दिइएको थियो । हेलिकोप्टर दुर्घटनामा कितमानका परिवारका सदस्यको निधन भएको खबर सुनेपछि गाउँले फिलिमस्थित घरको आँगनमा भेला भएका छन् । गाउँले र आफन्त शोकमा डुबेको बहादुरले टेलिफोन कुराकानीमा बताए ।

मनास्लु पदमार्गमा पर्ने उत्तरी गोरखाको दुर्गम गाउँमध्ये सिर्दिवास पनि एक हो । यहाँका महिला हरेक वर्ष सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुग्छन् । सडक सुविधा नहुँदा ऋण खोजेर हेलिकोप्टरमार्फत बिरामीको उपचार गर्न राजधानीका अस्पताल लैजानुपर्ने बाध्यता छ । गाउँमा स्वास्थ्यचौकी छ, स्वास्थ्यकर्मी भेटिन्छन् तर औषधिको अभाव चुलिँदो छ । सदरमुकाम गोरखा आइपुग्न तीन दिन लाग्छ । बर्खामा ढुङ्गा खस्दा बाटो हिँड्न समस्या छ ।

कितमानको परिवारले रहरले हेलिकोप्टर मगाएका होइनन् । हेलिकोप्टरको भाडा रु एक लाख २० हजार तिर्नसक्ने उनीहरुको आर्थिक क्षमता छैन । ऋण खोजेको पैसाले हेलिकोप्टरको भाडा तिर्न कितमानले रु एक लाख २० हजार साथै राखेका थिए । उनीसहित हेलिकोप्टरमा सवार सातजनाको निधन भएपछि त्यो पैसा भेटिने सम्भावना रहेन । नुवाकोट बेतनीको चुच्चेभिरमा उक्त हेलिकोप्टर सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षणका लागि राजधानीस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

हेलिकोप्टरमा सवार रहेकी सुनसरी इटहरीकी २२ वर्षीया निशा तामाङ उत्तरी क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको फेज नेपालकी स्वास्थ्यकर्मी (स्टार्फनर्स) हुन् । तामाङले चुम्चेत, सिर्दिवास र छेकम्पारलगायत उत्तरी गोरखाका दुर्गम भेगका जनताको स्वास्थ्यको ख्याल राख्दै उपचारमा सहयोग गर्दै आएकी थिइन् । सरकारी कर्मचारी खासै नबस्ने उत्तरी भेगमा फेज नेपालका कर्मचारी भने निरन्तर बसिरहेका हुन्छन्, जनताको सेवामा खट्छन् ।

सिर्दिवासस्थित स्वास्थ्य चौकीका अहेव प्रेम गुरुङका अनुसार फेजका स्वास्थ्यकर्मीले दुर्गम भेगमा स्वास्थ्य सेवा पु¥याउन सहयोग गर्नुका साथै जनचेतना फैलाउने काम पनि गर्दै आएका छन् । फेजले हेलिकोप्टर चढेर भएपनि राजधानी आउन भनेपछि तामाङ सोही हेलिकोप्टर चढेर राजधानी जाँदै थिइन्, दुर्घटनामा परी उनको पनि निधन भयो । टेलिकमको स्काइ फोन सेवाले काम नगर्दा सिर्दिवासबासीले दुःख पाएका छन् ।

बिरामीलाई उपचार गर्न लैजाँदा सिङ्गो परिवारकै खुसी खोसिएपछि गाउँले शोकमा छन् । दुर्घटना भएको खबर सुनेपछि छरछिमेक, आफन्त गुरुङको घरको आँगनमा भेला भएका थिए । “परिवारको याद आइरहन्छ । रातभर सुतेनौँ” कितमानका ज्वाइँ बहादुरले भने ।

दुर्गम गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नपाउँदा ऋण खोजेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता दुर्गमवासीलाई छ । भूकम्प, पहिरोलगायत प्राकृतिक विपद् झेलेका सिर्दिवासवासीले यो अर्को पीडा खेपेका हुन् ।

एकै परिवारका चारजनाको निधन भएपछि घरको ढोका खोल्ने र लेकमा रहेका बस्तुभाउको रेखदेख गर्ने पनि मान्छेको अभाव भएको छ ।


के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com