एचआईभी सङ्क्रमितको पीडा : खालीपेटमा औषधि


प्रकाशित मिति : माघ ७, २०७३ शुक्रबार

पौष्टिक आहारको कमीले एचआईभी सङ्क्रमित महिला झन्झन् कमजोर हुँदै गएका छन् । गरिबीका कारण सङ्क्रमितले प्रयोग गर्ने औषधि एआरभी खानसमेत उनीहरूलाई मुस्किल पर्न थालेको छ ।

प्रकाश सिंह
बाह्रबिस– ७ सिगाडा बस्ने लालीदेवी साउदले पेटभरि खान नपाएको महिनौँ भयो । उनले दैनिक ज्याला–मजदुरी गरेर बिहान–बेलुकीको छाक टार्दै आएकी छिन् । साउद भन्छिन्, ‘एचआईभी/ एड्सले श्रीमान्को मृत्यु भएको सात वर्ष भयो । भएको सम्पत्ति उपचारमा खर्च भयो । आखिर श्रीमान् पनि बाँच्न सकेनन्, भएको सम्पत्ति पनि सकियो ।’ उनले रुँदै भनिन्, ‘पेटमा धित मर्ने गरी खान नपाएको महिनौँ भयो ।’ उनी एचआईभी सङ्क्रमित हुन् । सङ्क्रमित भएको सात वर्ष भइसकेको छ । श्रीमान्को मृत्युपछि अहिलेसम्म पेटभरि कहिल्यै राम्रोसँग खान पाएकी छैनन् ।

अर्की सङ्क्रमित महिला हीरा नेपालीको पीडा पनि उस्तै छ । ‘एआरभी औषधि खाने गरेका छौँ, तर पेटभरि खाना खान पाउँदैनौँ, अनि कमजोरी भएर झन् बिरामी हुने हो नि,’ हीराले भनिन् । आफूमा बाँच्ने आस पनि घट्दै गएको उनको भनाइ छ । उनी भन्छिन्, ‘बच्चाहरूले पनि राम्ररो खान–लाउन पाएका छैनन् । सामान्य छाक टार्न धौधौ छ । बच्चाहरू कसरी
पढाउनु ?’

बाह्रबिस– ७ बस्ने जला रावलले एआरभी सेवन गर्न लागेको ६ वर्ष भयो । परिवार पाल्न समस्या भएकी रावलको एआरभी औषधिसँग पौष्टिक आहार नपाउँदा स्वास्थ्य अवस्था निकै नाजुक भइसकेको छ । ४ वर्ष पहिलासम्म उनी एआरभी औषधिसँगै पौष्टिक आहार (लिटो पीठो) समेत पाउँथिन् । त्यसैले स्वास्थ्य अवस्था राम्रै थियो । सरकारले ०६९ माघदेखि पौष्टिक आहार दिन छाडेपछि जलाले खालीपेटमा एआरभी खान थालेकी हुन् । खालीपेटमा औषधि खानाले उनमा कमजोरीपन देखिन थालेको छ । रगतमा हेमोग्लोबिनको मात्रासमेत कम हुँदै गएपछि उनमा बाँच्ने आस पनि घट्दै गएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी केही पात्र मात्र हुन् । बाजुरा र आसपासका जिल्लामा धेरै एचआईभी सङ्क्रमित महिला खालीपेटमा औषधि खान बाध्य छन् । अछाम दर्नाकी एचआइभी सङ्क्रमित गंगा थापाले भनिन्, ‘के गर्ने, भएको सम्पत्तिले श्रीमान्को औषधि ग¥यौँ, श्रीमान् पनि बचेनन्, अब आफूलाई औषधि खानसमेत सम्पत्ति छैन ।’ घरमा पोषिलो खानेकुरा खान नपाएर खालीपेटमा एआरभी खानाले कमजोर भएको र बेलाबखत रिँगटा लाग्ने गरेको थापाले बताइन् ।

खालीपेटमा एआरभी सेवनले सङ्क्रमितलाई निकै समस्या भएको अहेब दीपक शाह पनि स्वीकार गर्छन् । उनले भने, ‘०६९ माघसम्म नेपाल सरकारअन्तर्गत बाल स्वास्थ्य महाशाखाले एआरभीसँगै पौष्टिक आहार पनि दिने गरेको थियो । त्यसयता भने एकाएक यो सुविधा रोकिएको छ । पौष्टिक आहार बन्द भएपछि एआरभी सेवन गर्नेको स्वास्थ्य अवस्था साँच्चिकै कमजोर हुँदै आएको उनको भनाइ थियो ।

सुदूरपश्चिमका एचआईभी सङ्क्रमित महिलाका धेरै पीडा छन् । ‘पौष्टिक आहारको कुरा छोडौँ, पेटभरि खान पुग्दैन । त्यसमा पनि एआरभी औषधिले झन् कमजोर पार्दै लगेको छ,’ प्रभावित मीना विकले भनिन् । उनकी छोरीले एसएलसी पास गरेको दुई वर्ष भयो, उनको इच्छा प्राविधिक शिक्षा पढ्ने थियो, तर आर्थिक अभावमा गाउँमै रहेको उमाविमा पढिरहेकी छिन् । आफ्नोजस्तै धेरै सङ्क्रमित महिलाका बच्चाले उच्च शिक्षा आर्जनमा समस्या भोग्दै आएको विक बताउँछिन् ।

पौष्टिक आहार नपाउँदा एचआईभी सङ्क्रमितहरूमा रगतको कमी देखापर्ने समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । शरीरमा रगतको कमी भएमा एआरभी सेवन गर्नसमेत समस्या हुने गर्छ । अधिकांश एचआईभी सङ्क्रमित व्यक्ति गरिब र न्यून आर्थिक अवस्थाका छन् । ‘सामान्य छाक टार्न त धौ–धौ छ, कसरी पौष्टिक आहार किनेर खाने ?’ पीडामा बाँच्न बाध्य सङ्क्रमित मीना विकले बताइन् । बिहान–बेलुका छाक टार्न त दैनिक ज्याला–मजदुरी गर्नुपर्ने बाध्यता रहेको छ । कमजोरी हुँदै गएपछि अन्य सङ्क्रमणसमेत बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

एचआईभी सङ्क्रमित पीडैपीडामा बाँच्न बाध्य भए पनि सरकारले कुनै वास्ता नगरेको अधिकारकर्मीले बताएका छन् । औषधिसँग कुनै पोषणयुक्त खानेकुरा नहुँदा उनीहरूमा पोषणको समस्या देखिएको बाह्रबिस स्वास्थ्यचौकीका इन्चार्ज कुलबहादुर रावलले बताए । स्वास्थ्य अवस्था कमजोर हुँदा सङ्क्रमितहरूमा विभिन्नखाले रोगको सङ्क्रमण देखिन थालेको रावलको भनाइ छ ।

पौष्टिक आहार खान नपाउँदा एचआईभी सङ्क्रमितमा रगतको कमी देखापर्ने स्वास्थ्यकर्मीको भनाइ छ । शरीरमा रगतको कमी भएमा एआरभी सेवन गर्नसमेत समस्या हुने गरेको छ । नेपाल सरकारले दिँदै आएको पौष्टिक आहार बजेट अभाव भएको भन्दै रोकिदिएपछि बिरामीले खालीपेटमा औषधि खाने गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितलाई सरकारले एकाएक पौष्टिक आहार दिन रोक लगाएपछि उनीहरू जोखिममा रहेको निर्देशनालयको भनाइ छ ।(सञ्चारिका फिचर सेवा)(प्रकाश, बाजुराका पत्रकार हुन् ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com