एसईई प्रकरणमा संलग्न ६ जना सार्वजनिक


प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार

प्रदेश २ मा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने प्रहरी जवानहरु सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् थिए ।

पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् । प्रहरीका अनुसार १४ गतेको सामाजिक र १५ गतेको विज्ञान विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची दाइ विष्णदेव यादवलाई पठाएका थिए । यादवले पहिले मनोजलाई पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । प्रश्नपत्र लेनदेनका क्रममा हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लेनदेन भएको देखिएको प्रहरीको भनाइ छ ।

त्यसक्रममा एक जनाले परीक्षा हुनु अगावै सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो । प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को एसईईका सम्पूर्ण परीक्षा रद्द गर्नुपरेको थियो । उनीहरुबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com