नेपालको ५ बर्षे मल्टिपल भिसा कन्सुलेट र विमानस्थालबाट जारी नगरिने, पाउने तरिका यस्तो


प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार

नेपालीहरूले अमेरिकी भ्रमण भिसामा ५ बर्षे बहुप्रवेश भिसा पाएजस्तै अमेरिकी नागरिकहरूले पनि अब नेपालको भिसा लिंदा ५ बर्षे पर्यटक भिसा लिनसक्ने व्यवस्था कार्यान्वयन भएपनि त्यसको प्रकृया भने केही फरक रहेको छ । त्यस्तो ५ बर्षे मल्टिपल भिसा विदेशमा रहेका नेपाली दूतावास, कन्सुलेट वा नेपाल जाने क्रममा विमानस्थलबाट भने नपाइने भएको छ ।

पाँच बर्षे मल्टिपल भिसा जारी गर्ने अधिकार विदेशमा रहेका नेपाली कन्सुलेटहरुलाई नदिइएको र त्यो अधिकार गृहमन्त्रालय अन्तरगत नै राखिएको न्युयोर्कमा रहेको नेपाली कन्सुलेटका महावाणिज्यदूत पुष्प भट्टराईले जानकारी दिनुभयो । नेपाली कन्सुलेटबाट इन्ट्री भिसा लिएर नेपाल गइसकेपछिमात्र अध्यागमन विभागमा आवश्यक कागजात पेश गरेर पाँच बर्षको मल्टिपल भिसा लिन सकिने भट्टराईले जानकारी दिनुभयो ।

तर अमेरिकाको नागरिकता लिएका नेपालीहरुले भने नेपालमा लामो समय बस्नका लागि एनआरएन कार्ड लिएमा सहज हुने भट्टराईले सुझाव दिनुभयो । विदेशमा रहेको नेपाली कन्सुलेट वा नेपालमा परराष्ट्र मन्त्रालयबाट एनआरएन कार्ड लिन सकिन्छ । न्युयोर्कबाट एनआरएन कार्ड लिंदा एनआरएन आईडीका लागि ५ सय डलर र दर्ता शुल्क २० डलर लाग्छ ।

एनआरएन कार्ड भएका नेपालीले १० बर्षसम्मको भिसा पाउने, उपत्यकाभित्र २ रोपनीसम्म जग्गा किन्न पाउने, नेपालमा ब्यापार गर्न पाउने, बैंक खाता खोल्न पाउने लगायतका कैयन सुविधाहरु प्राप्त गर्नसक्छन् ।

अमेरिका र नेपालका भिसासम्बन्धी व्यवस्थामा समरूपताको स्थापनाले नेपाल आउने अमेरिकी पर्यटक तथा व्यावसायिक प्रतिनिधिहरूको सङ्ख्या तथा बारम्बारतामा वृद्धि गर्ने अवसर सिर्जना गर्ने र जसबाट नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने अमेरिकी दूतावासले विश्वास लिएको छ ।

नेपालमा रहेको अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत भनेको छ – ‘नेपालको अर्थतन्तन्त्रको उल्लेखनीय हिस्सा पर्यटन हो। गत वर्ष ९० हजारभन्दा बढी अमेरिकी नागरिकले नेपाल भ्रमण गरे । सन् २०१७ को तुलनामा अमेरिकी आगन्तुकको सङ्ख्यामा १५ प्रतिशतले वृद्धि भएको छ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com