हावाहुरीबाट पीडित परिवारलाई तीन लाख राहत दिने प्रदेश सरकारको घोषणा, घाइतेको निःशुल्क उपचार हुने


प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार

बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको भीषण हावाहुरीका कारण ज्यान गुमाउने पीडित परिवारलाई प्रदेश नं २ को सरकारले तीन लाख रुपैयाँको दरले राहत दिने    निर्णय गरेको छ।

सोमवार बिहान बसेको प्रदेश सरकारको बैठक यस्तो निर्यण गरेको हो । मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताएका छन् ।

राहत र पुनर्वासका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन समेत गरिएको छ ।

बारामा २९ जना र पर्सामा एक जना गरी कुल ३० जनाको ज्यान गएको छ। दुवै जिल्लामा गरी छ सय जनाभन्दा बढी घाइते भएको गृहमन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। घाइतेहरूको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय लगायतका अस्पतालमा उपचार भइरहेको  छ ।

प्रदेश नं २ को सरकारले विपत्‌को घडीमा सहयोग गर्न सङ्घीय सरकार, स्थानीय सरकार, विभिन्न दातृनिकाय, नागरिक समाज र व्यावसायीहरूलाई अनुरोध गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com