टीपीएसवाहकले ग्रिनकार्ड पाउने बिल सिनेटमा, पारित भए ९ हजार नेपाली लाभान्वित
प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

बाल्यकालमा अमेरिका आएर कागजपत्रविहिन भएकाहरु र टीपीएसले समेटेकाहरुलाई अमेरिकामा ग्रिनकार्ड आवेदन दिन पाउने व्यवस्था सहितको बिल अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा समेत पेश भएको छ । चारजना डेमोक्रेटिक सिनेटरहरुले मंगलबार सेक्युएर एक्ट नामको उक्त बिल सिनेटमा पेश गरेका हुन् ।
क्यालिफोर्नियाका डेमोक्रेटिक सिनेटर डायन फेन्स्टेन, मेरिल्याण्डका डेमोक्रेटिक सिनेटर क्रिस भ्यान होलेन र बेन कार्डिन, भर्जिनियाका डेमोक्रेटिक सिनेटर टिम कैनले उक्त बिल सिनेटमा पेश गरेका हुन् । यो बिल पारित भएमा झण्डै ४ लाख ३७ हजार टीपीएस वाहकहरुलाई ग्रिनकार्डको बाटोमा जान मार्गप्रसस्त हुनेछ । हाल अमेरिकामा झण्डै ९ हजार नेपालीहरु टीपीएसबाट संरक्षित छन् ।
१७ पृष्ठ लामो उक्त बिलको पूरा नाम सेफ इन्भायरोमेन्ट फ्रम कन्ट्रीज अण्डर रिप्रेशन एण्ड इमर्जेन्सी एक्ट हो भने यसलाई छोटकरीमा सेक्युअर एक्ट भनिएको छ । उक्त बिलको पूर्ण पाठ यहाँ उपलब्ध छ ।