अमेरिकामा संक्रमणकालिन कामदार कार्यक्रमको आवेदन अप्रिल ४ देखि


प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार

अमेरिकी सरकारको युएससीआईएसले कमन वेल्थ अफ नर्दन मारियाना आइल्याण्ड अन्तरगत संक्रमणकालिन कामदार कार्यक्रमका कामदार भिसा आवेदनहरु अप्रिल ४ देखि स्वीकार्न सुरु गर्ने भएको छ । आर्थिक बर्ष २०२० अर्थात् आगामी अक्टोबरबाट काम सुरु गर्ने कामदारहरुका आवेदनहरु अप्रिल ४ देखि स्वीकारिने भएको हो ।

सीडब्लु वान अन्तरगत फाइल गर्ने त्यस्ता आवेदनका साथमा स्वीकृत टेम्पोरेरी लेबर सर्टिफिकेशन अर्थात् टीएलसी भने अनिवार्य पेश गर्नुपर्ने युएससीआईएसले जनाएको छ । डिपार्टमेन्ट अफ लेबरका तर्फबाट स्वीकृत गरिने टीएलसीविना नै पठाइएका आवेदन भने सिधै अस्वीकृत गरिने युएससीआईएसले जनाएको छ ।

यसबारे फेडरल रजिस्टरमा अन्तरिम अन्तिम नियम छिट्टै नै प्रकाशित गरिने जनाइएको छ । अप्रिल ४ देखि लागु हुनेगरी प्रकाशित गरिने उक्त नियममा यो कार्यक्रम अन्तरगतका कामदारले पाउने तलब सुविधा लगायतका कैयन विषयहरु समेटिने जनाइएको छ ।

लेबर डिपार्टमेन्टले जारी गर्ने प्रमाणपत्रले उक्त कामका लागि अमेरिकामा कामदार उपलब्ध नभएको पुष्टी गर्नेछ । उक्त कामका लागि अमेरिकामा कामदार नभएको पुष्टी भइसकेपछिमात्र विदेशीहरुले उक्त कामका लागि कामदार भिसा प्राप्त गर्नेछन् ।

सी डब्लुवान भिसा विदेशी कामदारहरुलाई नर्दन मारियाना आइल्याण्डमा काम गर्नका लागि अमेरिका आउन अनुमति प्रदान गर्ने भिसा हो । सामान्यतया यो भिसाको अवधि एकबर्षकोमात्र हुनेगर्छ । यो भिसा अन्तरगत बर्षमा झण्डै १३ हजार विदेशी कामदारहरु अमेरिका आउनसक्ने प्रावधान रहेको छ ।

नर्दन मारियाना आइल्याण्डहरु प्यासेफिस ओसनमा रहेका अमेरिकी कमनवेल्थ अन्तरगतका आइल्याण्डहरु हुन् । जसमध्ये साइपन सबैभन्दा ठूलो आइल्याण्ड हो । साइपनमा काम गर्नका लागि उल्लेख्य संख्यामा नेपालीहरु पनि आउने गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com