Follow @khasokhasmag

दाइजोमा जाँचिने बुहारीको योग्यता


प्रकाशित मिति : माघ ४, २०७३ मंगलबार

मंसिर पहिलो साता धुमधामसँग छिमेकी दिदीको बिहे भयो । दिदीले भर्खर स्नातक सकेकी थिइन् भने भिनाजु गैरसरकारी संस्थाका जागिरे । दुवैको जन्मथलो उपत्यकाबाहिर भए पनि बिहे काठमाडौंको कुनै एक पार्टी प्यालेसबाट धुमधामसँग भयो । बोलाउनै पर्ने र बोलाउन मिल्नेसम्मका साथीभाइ भिनाजुका तर्फबाट जन्ती लिएर आएका थिए, दिदीका आफन्त पनि कम देखिएनन् ।

पार्टी प्यालेसमा खचाखच थिए बिहेका सहभागी । बेहुलाले बेहुलीका लागि सुनका गहना मात्रै पाँच लाखको हाराहारीमा ल्याएका थिए । गहनामा यति धेरै खर्च गरेका दुलहा पक्षले लुगाफाटोमा पनि झण्डै एक लाखको हाराहारीमा खर्च गरेको अनुमान लगाउन गाह्रो थिएन । बेहुलाले मुखले दाइजो केही चाहिँदैन भने पनि कडा प्रतिवाद नगरेका कारण अघिल्लो दिन नै उनको कोठा माइती पक्षले सजाइसकेका थिए । भिनाजुको कोठा पूरै सजाउनका लागि करिब दुई लाख खर्च भएको दुलहीका कान्छा भाइले बताए ।

माइतीपक्षले मन खोलेर क्षमताले भ्याउनेसम्मको खर्च गरेर कुरा काट्ने ठाउँ नदिन प्रयास गरेका थिए । दाइजो पनि मनग्यै दिए भन्दा हुन्छ । बेहुली भएर भित्रिएकी दिदी अर्काको घरमा नौलो हुनु परेन । उनलाई परिवारका सबै सदस्यले राम्रो व्यवहार गरिरहेका छन् । उनकी जेठानीले दाइजो नल्याएका कारण सासूसँग खासै राम्रो सम्बन्ध छैन रे तर पनि देउरानी बनेर भित्रिएकी दिदीको चर्चा र प्रशंसा सन्तोष गर्न लायक नै छ दिदीको परिवारमा  ।

‘जेठानीलाई जेठाजुले भगाएर ल्याएका रहेछन्, दाइजो ल्याउने त कुरै भएन । मलाई भने खुब मान्छन् घरमा,’ माइती आएका बेला खुशी हुँदै दिदीले सुनाएकी थिइन् । पढाइ र जागिर हुनुभन्दा पनि टन्न दाइजो लगेपछि सासू–ससूरा रिझाउन गाह्रो नहुने उनको अनुभव छ । उनकी जेठानीले स्नातकोत्तर गरेकी छन्, सरकारी जागिर खान्छिन् तर पनि घरमा उनले सम्मान पाउँदिनन् तर स्नातक पास गरेकी नवविवाहिता देउरानीको जागिर छैन ।

तैपनि, उनलाई सम्मान र वाहवाही गरेको देख्दा जेठानी जिल्ल परेकी छन् । जतिसुकै आदर्शका कुरा गरे पनि गाउँमा त यो रोग अझैसम्म छ नै, शहरमा समेत त्यसभन्दा चर्को रोग देख्दा दिदीकी जेठानी अचम्म परेकी छन् । तराईमा तोकेरै दाइजो माग्ने प्रथा विद्यमान छ । तर, पहाडमा पनि यो समस्या रहेछ भन्ने यही उदाहरणले देखाउँछ । ती दिदीले घरमा केही गर्नै पर्दैन, जतिबेला पनि सासूले उनकै गुणगान गाउँछिन् ।

‘यो कान्छी बुहारीका माइतीले दिएको त्यो पनि उसैका माइतीले दिएको, जेठी बुहारीको एक धर्सो केही पाएको छैन,’ छिमेकी र आफन्तलाई यस्तै कुरा सुनाउँदी रहिछन् दिदीकी सासू । उता दिदीका माइती पनि ज्वाइँको गुणगान गाएर थाक्दैनन् । ‘फलानाका ज्वाइँले यति गहना यस्ता कपडा ल्याए तर आफ्ना ज्वाइँले त पाँच लाखका गहना मात्रै ल्याए, खान्दानी भनेको खान्दानी नै हो’ भन्ने खालका कुरा दिदीका माइतमा पनि हुन्छन् ।

बुहारीको योग्यता क्षमता र दक्षता उसको माइतीसँग दाँजिने रहेछ । जति धेरै दाइजो ल्याउन सक्यो, उति बुहारी प्यारी हुने, उसले माया पाउने चलन अझैसम्म पनि कायमै छ । बुहारीको पढाइ, लेखाइ, जागिर, आनीबानी, संस्कार सबै कुरा विस्तारै फिक्का हुन थाल्छन् दाइजो र सम्पत्तिका सामु । अर्कातिर, टन्न गहना र कपडा ल्याउने ज्वाइँ निकै राम्रो, असल, ससुरालीको प्रिय हुने परम्परा अझै कायम रहेको देखिन्छ  ।

केटाको आनीबानी, बिहेमा खर्च गरेअनुसार उसको आर्थिक हैसियत छ कि छैन, काम कस्तो गर्छ जस्ता कुराहरूमा कम ध्यान दिइन्छ । केटापक्ष इमानदार भएरै यत्रो खर्च गर्‍यो कि गरेन, आयस्रोत कति छ भनेर सोधखोज गर्ने भन्दा पनि बिहेमा कत्तिको तडकभडक भयो, त्यसअनुसार मूल्यांकन गरिन्छ ।

भर्खर बिहे भएकी दिदी पढाइमा औसत हुन् । बिहे नहुँदासम्म जागिर खानुपर्छ, थप अध्ययन गर्नुपर्छ भन्ने दिदी भन्थिन् । अहिले बदलिएकी छन् । जागिर खाएकी र डिग्री गरेकी जेठानीलाई परिवारले नरुचाएका र दाइजो ल्याएको कारण परिवारले रुचाएको देखेर उनले थप अध्ययन गर्न र जागिर खाने तदारुकता देखाएकी छैनन् । आखिर बुहारीको योग्यता दाइजोमा कहिलेसम्म मापन गरिरहने ?

नमुना अर्याल/ अन्नपूर्ण पाेष्ट

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com