सजाय भोगेर रिहा भएको बर्षौंपछि पनि अमेरिकाले आप्रवासीलाई पक्राउ गर्नसक्ने सर्बोच्चको फैसला
प्रकाशित मिति : चैत्र ५, २०७५ मंगलबार

हिराशतबाट रिहा भएको बर्षौंपछि पनि आप्रवासीहरुलाई विगतको आपराधिक रेकर्डको आधारमा सरकारले विना बण्ड सुनुवाई नियन्त्रणमा लिनसक्ने फैसला अमेरिकी सर्बोच्च अदालतले गरेको छ । मंगलबार सर्बोच्च अदालतले ट्रम्प प्रशासनका पक्षमा यस्तो फैसला गरेको हो ।
मतदानमा सरकारका पक्षमा पाँचजना न्यायाधिसले मतदान गरेका थिए भने विपक्षमा चारजनाले मतदान गरेका थिए । सर्बोच्च अदालतका ९ जना न्यायाधिसहरुमध्ये ५ जना रुढीवादी र ४ जना प्रगतिशिल न्यायाधिसहरु रहेका छन् ।
यो फैसलापछि अमेरिकी ग्रिनकार्ड होल्डरहरुले विगतको गरेको अपराधका आधारमा सजाय भोगेर थुनाबाट रिहा भएको बर्षौपछि पनि सरकारले नियन्त्रणमा लिएर देशनिकालाको प्रकृया अगाडि बढाउनसक्छ । नयाँ रुलिङपछि सरकारले बर्षौं पहिले सामान्य अपराध गरेका व्यक्तिलाई पनि नियन्त्रणमा लिने र कैयन महिनासम्म जमानतविना नै थुनामा राख्न सक्ने अधिकार प्राप्त गरेको छ ।
यो फैसलाबाट कति प्रभावित हुन्छन् भन्ने यकिन गर्न गाह्रो भएपनि अमेरिकाको संघीय अदालतका अनुशार सरकारले हरेक दिन झण्डै ३० हजार आप्रवासीहरुलाई उनीहरु देशनिकालाका लागि योग्य भए नभएको परिक्षण गर्न नियन्त्रणमा लिने गरेको छ । सन् २०१६ मा नवौं सर्किट कोर्टले यस सन्दर्भमा सरकारकाबिरुद्ध फैसला गरेको थियो ।