जब दुबईमा यिनको १२ सयको तलब बढेर एक वर्षभित्रै ५५ सय दिराम पुग्यो


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु । मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ । काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ । पढाईतिर ब्यस्त भएकाले मैले चासो पनि दिइन उताबाट पनि कुनै प्रतिक्रिया आएन ।

एक वर्षपछि एक्कासी फोन आयो, दुबईको सेको कम्पनीबाट होटल वेट्रेसको डिमान्ड आएको रहेछ । जानका लागि कत्ति पनि खर्च नलाग्ने र खान बस्न पनि पाइने रहेछ । मैले वेट्रेसमा जान्न भनें । म्यानपावरका मोहित थापाले अफिसमा नै बोलाउनुभयो । उहाँले मलाई सबै कुरा बताउनुभयो । त्यहाँको पुरै भिजुअल पनि देखाउनुभयो । त्यहाँ रक्सी खान नपाइने रहेछ, केटी मान्छेलाई सुरक्षित पनि रहेछ । मेरो आर्थिक अवस्था पनि निकै कमजोर भइसकेको थियो । यसो सोच्दा ठिकै जस्तो लाग्यो । मैले खर्च कति लाग्छ भनेर सोधें ।

उहाँले पैसा लिँदैनौं भन्नुभयो । म त्यतिबेला बिबिएस तेस्रो वर्षको परीक्षा दिएर बसेकी थिएँ ।आर्थिक अवस्था कमजोर भएकाले मैले विदेश नै जाने निर्णय गरिसकेको थिएँ । बरु त्यहाँ गइसकेपछि कसरी सुरक्षित हुन सक्छु भन्ने मात्रै सोचें । मेरो सुरक्षाका लागि म्यानपावर र काम दिने कम्पनीले के के गर्छ भन्ने पनि बुँझे । हामी ८ जना सँगै गएका थियौं । मैले कम्पनीलाई जम्मा १० हजार दिएको थिएँ । मसँगै जाने अरु साथीहरुसँग भने कम्पनीले ८०/९० हजारसम्म लिएको रहेछ ।

मैले धेरै कुरा बुझ्न खोजेको शैक्षिक योग्यता पनि राम्रो भएकाले मसँग पैसा नलिएको थाहा पाएँ ।त्यहाँ गइसकेपछि हाम्रो काम र तलबमा फरक भने परेन । ८ घण्टा काम र १२ सय दिराम तलब दिने भनिएको थियो । गएको तीन दिनमा मलाई सुपरभाइजरले बैंकेट हलमा लिएर जानुभयो । त्यहाँ सर्भिस गर्ने क्रममा गेस्टहरु निस्किसक्नुभएको थियो, दुई/तीनजना मात्रै हुनुहुन्थ्यो । त्यो समय रमादानको थियो । दुबईको पे्रसिडेन्टले रमादानको शुभकामना दिएको दृश्यहरु टेलिभिजनमा देखाइएको थियो । मैले त्यतिबेला झलक्क आफ्नो देश सम्झिएँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टिभी हेर्न पाउँदिन भन्ने मलाई थाहा थिएन । त्यतिबेला एक जना महिलाले मलाई हातले इसारा गर्नुभयो । तर मैले उहाँको इसारा बुझिन र बाहिर निस्किएँ । तर उहाँले सेक्युरिटी मेनेजर समक्ष मेरो बारेमा कम्प्लेन गर्नुभएछ । उहाँले त्यो टिभी अघिको केटा मान्छे आफ्नो श्रीमान भएकाले त्यता नहेर भन्नुभएको रहेछ । त्यो थाहा पाएर मलाई दुख लाग्यो । सेक्युरिटी म्यानेजरले ड्युटीमा हुँदा टिभी हेर्न हुँदैनथ्यो, अब सरी भन भन्यो र म सरी भनेँ । त्यहाँको नियम पनि नराम्रो होइन ।

टिभी हेर्दा मैले जुन आरोप खेपेँ त्यहाँबाट मैले शिक्षा पनि पाएँ । कतिपय अवस्थामा घर मालिक र हाउसमेडबीच द्वन्द्व पनि यही कारणले हुँदो रहेछ ।मीलाई ड्युटी आवरमा पत्रपत्रिमा पढ्ने, टिभी हेर्ने छुट थिएन । ड्युटी सकिएपछि भने टिभी हेर्न पाउँथ्यौं । बस्ने ठाउँमा नै टिभी थियो । हामी विभिन्न देशका मानिसहरु सँगै बस्थ्यौं । म समाचारमा अलि अपडेट हुन चाहन्थें । मलाई चाँही नेपालमा समाचारमा पढेको जस्तो महिलाहरु खाडी देशमा कसरी असुरक्षित हुँदा रहेछन् भन्ने कुरा जान्न मन लाग्यो ।

काम गर्दागर्दै पढेर एमबिए पास गरेँ मैले त्यहाँ पत्रिका लुकाएर राति सुत्ने बेलामा पढ्थेँ । त्यहाँ एउटा विज्ञापन देखेँ । जागिर खाइरहेकाहरुले पनि पढ्न पाउने व्यवस्था थियो । मैले त्यहाँ गएर एमबिए भर्ना भएँ । पहिल्यै काम गरिरहेकाहरुले मलाई पागल भने । मैले त्यहीको अर्को इन्ष्टिच्यूटमार्फत एमएस विश्वविद्यालय एमबिए पास गरेकी हुँ ।

बिहीबार राति ३ बजेसम्म ड्युटी गरेर शुक्रबार विहान क्लास लिन जान्थें । शुक्रबार एक दिनमात्रै क्लास हुन्थ्यो । कलेज जान २ वटा बस फेरेर जानुपर्थ्यो । शुक्रबार सबै नमाज पढ्न जान्थे । पसलहरु पनि बन्द हुन्थ्यो । ट्याक्सी चढ्न क्षमता थिएन । म त्यो गर्मीमा आधा घण्टा हिँडेर जान्थें ।

पानी समेत नपिइ बस स्टेशनसम्म जान्थें । म अचेत अवस्थामा बसमा पुग्दा ड्राइभरहरुले पानी किनेर समेत खुृवाएका छन् । त्यो अवस्थामा पनि मैले पढ्न छोडिन । तर कलेज पढ्न थालेको तीन/चार महिनामै मेरो प्रमोशन भयो । १२ सयको तलब बढेर एक वर्षभित्रै ५५ सय दिराम पुग्यो । अहिले म गैर आवासीय नेपाली संघ (एनआरएन) महिला सब कोअर्डिनेटर पनि हुँ । मैले कुवेत र ओमनको भ्रमण गरेको छु ।

दुबईमा हामी हरेक शुक्रबार हाउसमेड महिलाहरुसँग कुरा पनि गर्थ्यौं । उहाँहरुको समस्या बुझेर समाधानको पहल पनि गरेका छौं । विदेश गएका नारीलाई नेपालमा राम्रो दृष्टिकोणले हेरिदैन । यसले महिलाहरुलाई धेरै नै अवसरबाट बञ्चित गरेको छ । मैले पनि धेरै कुरा सोचें कि समाजले मलाई यो भन्छ, त्यो भन्छ भनेर । मलाई पछाडि हटाउन खोज्ने मेरै समाज हो । तर अहिले म मेरो समाज भन्दा धेरै अघि बढिसकेको छु । त्यसैले तपाईंलाई समाजले अघि बढ्नबाट रोक्न खोज्छ भने त्यसको बेवास्ता गर्नुस् ।

आफै सचेत भए दुख पाइदैन विदेशमा काम गर्न जाँदा कतिपय कुराहरु नेपालबाट जाँदैमा दिदी बहिनीले सुधार्नुपर्ने हुन्छ भने कतिपय कुरा चाँही आफ्नो काबु बाहिरको हुन्छ । हामी जसरी प्रस्तुत हुन्छौं, हामीले पाउने व्यवहार पनि त्यस्तै हुन्छ । उहाँहरुले लगाउने पोशाकले पनि कहिलेकाँही समस्या ल्याउँछ । साउदी, कतारमा त बुर्का अनिवार्य छ । अभद्र ड्रेस लगाउँदा केटाहरु आकर्षण हुने जस्तो देखिन्छ । कतिपय दिदी बहिनीहरुले घरबेटीलाई खुशी पार्न पाए मेरो प्रमोशन हुन्थ्यो भनेर पनि त्यस्तो गरेको देखिन्छ ।

घरमा काम गर्ने र मालिक एउटै बन्द कोठाभित्र हुँदा सानो कुरामा पनि छिटो रिसाइदिन्छौं । हामीले केही सहनुपर्छ । त्यसरी घरबाट निस्किँदा बाहिरी व्यक्तिबाट आक्रमणमा पर्ने समस्या देखिन्छ भने घर छोड्दा मालिक अझै बढी शक्तिशाली हुनसक्छ । त्यसैले सकेसम्म काम गर्ने घरबाट बाहिर नभागौं । अन्य खाडी मुलुकको तुलनामा दुबई धेरै नै सुरक्षित मुलुक हो । हामी नेपालबाट सबै प्रक्रिया पुरा गरेर गयौं भने समस्या पर्दैन । हामी गैरकानुनी तरिकाबाट पनि जान्छौं ।

नेपालमै त कति जनाले आफ्नै छोराछोरी बेचिदिन्छन् भने विदेशमा त झन् के भर ? आफन्त भन्दैमा सबै कुरामा भरोसा गरेर विदेश जानुहुँदैन । हामीले कानुनी प्रक्रिया पुर्‍याउनैपर्छ । विदेशीको र हाम्रो आचरण नमिल्न सक्छ । नेपालमा नै ओरिएन्टेशन क्लास लिएर जानुपर्छ । दुबईमा विभिन्न सामाजिक संस्था छन् ।

आफुलाई समस्या पर्‍यो भने ती संस्थाबाट पनि सहयोग लिन सकिन्छ । सुरुमा धेरै गाह्रो हुन्छ । गाली सहेरै भएपनि हामी साम्य हुनुपर्छ । हामीले उनीहरुलाई आफ्नो काम देखाउनुपर्छ । दुबईमा काम गर्नेहरु ८० प्रतिशत सन्तुष्ट नै हुनुहुन्छ । यो समाजमा ठुलो भन्ने पुरुषहरुको अगाडि महिलाहरुले अर्काको घरमा भाँडा माझेरै भएपनि कमाएको पैसाले धेरै बच्चाले शिक्षाको अवसर पाएका छन् ।

अफिसियल काममा जानेहरुका लागि त अझ धेरै राम्रो अवसर छ । नेपालमा शिक्षा अनुसारको जागिर पाउन सक्दैनौं तर त्यहाँ तपाईं सक्षम हुनुहुन्छ भने त्यहाँ महिला पुरुष भन्ने हुँदैन । विदेशमा पुरुष दाजुभाइले पनि गएर दुःख गर्नुभएको छ । उहाँहरुले कमाएको जति पैसा घर पठाउनुहुन्न ।

तर महिलाहरुले भने आफ्नो कमाइ नेपाल पठाएका छन् । पुरुषको तुलनामा महिलाहरु घर परिवारप्रति धेरै उत्तरदायी छन् । सरकारले पनि कुनै देश जानबाट बन्देज गर्नुभन्दा पनि समस्या के हो र त्यसको हल कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com