इथियोपियन विमान दुर्घटना : मृतकका परिवारलाई अन्तिम संस्कारका लागि एक–एक किलो डढेको माटो दिइने
प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

गत आईतबार इथियोपियामा विमान दुर्घटनामा मारिएका व्यक्तिका आफन्तलाई दुर्घटनास्थलको माटो दीने भएको छ । इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान दुर्घटनामा मारिएका १५७ जनाका आफन्तलाई अन्तिम संस्कारका लागि दुर्घटनाग्रस्त क्षेत्रबाट संकलन गरिएको डढेको माटो दीने भएको हो ।
राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको सो विमान उडेको केही मिनेटमा नै दुर्घटनाग्रस्त भएको थियो । सो विमानको इन्जिनमा प्राविधिक समस्या भएको हुन सक्ने विज्ञहरूले बताउँदै आएका छन् । विमान दुर्घटनामा नेपाललगायत ३५ देशका नागरिक मारिएका थिए । सो दुर्घटनापछि बोइङ ७३७ म्याक्स मोडलका विमान उड्न संसारभर प्रतिबन्ध लगाइेको छ ।
यसअघि गत अक्टोबरमा लायन एयरलाइन्सको सोही मोडलको विमान इन्डोनेसियाको जाभा प्रान्तमा खस्दा विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनाग्रस्त विमानमा एउटै प्राविधिक समस्या भएको हुन सक्ने विज्ञहरूले बताएका छन् ।
आफन्तलाई किन दीयो माटो ?
शारीरिक अवशेषको परीक्षण गरेर विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न ६ महिनासम्म लाग्ने भएकाले उनीहरूका आफन्तजनलाई माटो दीने निर्णय भएको रोयटर्सले जनाएको छ ।
विमान दुर्घटनामा सम्पूर्ण यात्रुहरूको शव जलेर नष्ट भएको बताइेको छ । ‘शव पहिचान र अवशेष परिवारलाई बुझाउन असम्भव भएकाले माटो दीएको हो, ‘एक अधिकारीको भनाइ उद्धृत गर्दै समाचारमा भनिएको छ । तर, आफ्ना प्रियजनको अंग प्राप्त नभएसम्म आफूहरूले शान्तिको सास फेर्न नसक्ने पीडतहरूले बताएको समाचार विवरणमा जनाइेको छ ।
‘हामीलाई आफ्ना प्रियजनको शव वा अंश नदीएसम्म हामी आराम गर्दैनौँ,’ पीडितका एक आफन्तले भने । पीडितका आफन्तलाई दुर्घटनाग्रस्त क्षेत्रको डढेको एक–एक किलो माटो राखिएको झोला दिन सुरु गरिएको छ ।