नेपालमै गाडी उत्पादन प्लान्ट खोलिँदै, १० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत
प्रकाशित मिति : चैत्र २, २०७५ शनिबार

नेपालमै गाडी उत्पादन तथा त्यसका पार्टपुर्जा निर्माण प्लान्ट स्थापनाका लागि सरकारले कोरियाली लगानी स्वीकृत गरेको छ । शुक्रबार बसेको लगानी बोर्डको बैठकले ‘भेइकल म्यानिफ्याक्चरिङ एण्ड एसेम्बली प्लान्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।
नेपालमै प्लान्ट स्थापना गरेर गाडीका पार्टपुर्जा उत्पादन र सवारी साधनहरु निर्माण गर्ने सम्बन्धी सो परियोजनामा लगानीको प्रस्ताव दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको थियो । सरकारले सो कम्पनीकाे लगानी स्वीकृत गरेको हो ।
प्रधानमन्त्रिले एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ३५ औं बैठकले गाडी उत्पादन परियोजनाका लागि उक्त कोरियाली लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ ।
यस परियाेजना अनुसार काम हुने हाे भने अब नेपालमै गाडीका पार्टपुर्जा निर्माण थालिनेछ । कोरियाली गाडी निर्माता कम्पनी मोट्रेक्सले नेपालमा सो परियोजना कार्यान्वयनका लागि काम अघि बढाइसकेको जनाइेको छ ।